७ वैशाख २०८१ शुक्रबार
अर्थ

फेवातालमाथिबाट जहाजलाई ‘लेफ्ट टर्न’ गर्न सके प्याराग्लाइडिङ जोगिन सक्ने

फ्लाइट प्रोस्युडर डिजाइन’ फेरेर प्याराग्लाइडिङ जोगाउने प्रयास

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ। तस्बिरः उमेश पुन÷नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालनमा ल्याउने घोषणा नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले गरिसकेको छ। त्यही योजना अनुसार पोखराको आकाशमा करिब अढाई दशकदेखि उडान भईरहेको प्याराग्लाइडिङलाई अन्यत्र सर्न प्राधिकरणले निर्देशन दिएको थियो।  

प्राधिकरणको निर्देशनपछि यहाँको आकाशमा साहसिक हवाई खेलकुदको नाममा ख्याती कमाएको प्याराग्लाइडिङ करिब बिस्थापितको चरणमा पुगेको भन्दै व्यवसायीले आपत्ति जनाईरहेका थिए। प्याराग्लाइडिङलाई बिस्थापित नभई व्यवस्थित गर्न व्यवसायीले माग गरिरहेका थिए। अहिलेकै अवस्थामा कुनैपनि हालतमा सराङकोटको आकाशमा भईरहेको प्याराग्लाइडिङलाई पोखराकै आकाशमा उडान गर्न दिन सकिने अवस्था नरहेको बताईरहेको प्राधिकरण पछिल्लो समय केही लचक बनेर विकल्प खोज्ने अन्तिम प्रयासमा जुटेको छ।

प्राधिकरणका अनुसार अहिलेको विकल्प अन्तिम हो, जुन प्राविधिक रुपमा सम्भव नभए पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान अन्यत्र जानैपर्ने हुन्छ। प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिनेगरि डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नैपर्ने बाध्यकारी हुन्थ्यो।  

तर, पोखरेली व्यवसायीको ब्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भईरहेको छ। यदी पछिल्लो फ्लाइट प्रोस्युडर डिजाइन पास भएमा ‘मिसएप्रोच’ भएको जहाज फेवातालमाथिबाट बायाँ (पुम्दिभुम्दी)तर्फ मोडिनेछ। त्यस्तो अवस्थामा सराङकोटको आकाशमाा हुने प्याराग्लाइडिङ उडान सुरक्षित रहनसक्ने प्राधिकरणको भनाई छ।  

‘पोखराको आकाशमा करिब अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङलाई सुरक्षित र व्यवस्थित गर्न सकिन्छ की भनेर अन्तिम गृहकार्य भईरहेको छ,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘मिसएप्रोच भएर फेवातालमाथि पुगेको जहाजलाई बायाँ मोड्न सक्ने अवस्थामा दायाँतर्फ (सराङकोट क्षेत्र) मा हुने प्याराग्लाइडिङ उडान बचाउन सकिन्छ भन्नेमा आशावादी छौ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोस्युडर डिजाइन विमानस्थल बनाईरहेको चिनियाँ कम्पनि सिएएमसीइले बनाएको हो। फ्लाइट प्रोस्युडरमा आकाशमा जहाज उडने बाटो तय हुन्छ। यसअघिको फ्लाइट प्रोस्युडरमा फेवातालमाथिबाट जहाज दायाँ मोडिने बाटो तय भएको र त्यसलाई बायाँ मोड्न सके प्याराग्लाग्लाइडिङ जोगाउन सकिने अवस्था आउने निरौलाले बताए। ‘तोकिएको एयरस्पेसलाई आधार मानेर डिजाइन बनेको हुन्छ। सिएएमसीइले बनाएको पुरानो फ्लाइट प्रोस्युडर डिजाइनमा जहाज दायाँ मोड्नेबारे उल्लेख छ। अब बायाँ मोड्न सकिनेबारे अध्ययन भईरहेको छ,’उनले भने, ‘त्यसका लागि चिनियाँ कम्पनिलाई अनुरोध गरिएको भने प्राधिकरणका प्राविधिकहरु पनि त्यसविषयमा अध्ययनमा लागेका छन।’

‘सम्भव भएसम्म हामी सुधारको पक्षमा छौ  अबको केहीदिनभि नयाँ फ्लाइट प्रोस्युडर डिजाइनबारे थाहा हुन्छ। त्यसपछि बल्ल प्याराग्लाइडिङ उडानबारे भन्न सकिन्छ,’ निरौलाले भने,‘हामीले सिएएमसीइलाई यसबारेमा एकपटक पुर्नबिचार गर्न सकिन्छ की भनेर सोधेका छौ। उनीहरु अध्ययनको क्रममा छन्।’ 

अहिलेसम्मको अवस्थामा मिसएप्रोच भएको जहाजलाई बायाँ मोड भन्न मिल्ने अवस्था नरहेको र अबको अध्ययनले सम्भावना देखाएमा त्यही अनुसार हुने उनले बताए। ‘प्याराग्लाइडिङ हावामा उड्ने हो। इन्जिन र संचारबिना हावाको गतिको भरमा उडान गर्ने भएकोले पनि केही कठिनाई परेको हो,’ उनले भने, ‘तर, हामी ‘लेफ्ट टर्न’ विकल्प हुनसक्छ की भनेर अध्ययनमा छौ।’

प्राधिकरणका अर्का एकजना प्राविधिकले पनि चिनियाँ कम्पननिलाई विकल्पबारे सोच्न भनिएको बताए। ‘सबैभन्दा सम्भावित तरिका अपनाउन खोजिएको हो,’ ती प्राविधिकले भने, ‘अध्ययन भईरहेको छ। हाम्रो उद्देश्य पोखराको आकाशमा भईरहेको प्याराग्लाईडिङलाई बिस्थापित नभई व्यवस्थित गर्नु हो। व्यवसायीको व्यापक गुनासो आएपछि सुधार्न सकिन्छ की भनेर प्रयास भईरहेको छ।’

प्राधिकरणले यसअघि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि अहिलेकै ठाउँमा प्याग्लाइडिङ उडान प्राविधिक रुपमा सम्भव नहुने बताएको थियो। प्राधिकरणको भनाईपछि प्याराग्लाइडिङ व्यवसायीलाई अहिले उडान भईरहेको ठाउँबाट अन्यत्र सर्नुपर्ने दवाव थियो। अर्बाै रुपैयाँ लगानी भएको विमानस्थल बचाउने वा मनोरञ्जनात्मक गतिविधिको रुपमा रहेको प्याराग्लाइडिङ उडान गर्ने भन्नेमा स्पष्ट हुन प्राधिकरणले पोखरेली व्यवसायीलाई समेत अनुरोध गरेको थियो।

हाल विमानस्थल बनाईरहेको चिनियाँ कम्पनि सिएएमसीइले फ्लाइट प्रोस्युडर डिजाइन बनाएको हो। फ्लाइट प्रोस्युडरमा आकाशमा जहाज उडने बाटो तय हुन्छ। प्राधिकरणका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाई र २६ किलोमिटर लम्बाईको एयरस्पेस रहेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्।

पूर्वबाट अवतरण गर्ने जहाजले एप्रोच गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा जहाज फेवातालमाथिको आकाशमा पुग्छन। डिपार्चर र मिस एप्रोचमा समस्या आउन सक्ने भन्दै प्याराग्लाइडिङलाई अन्यत्र सार्न भनिएकोमा उत्तम विकल्प खोज्न आफुहरुको अनुरोध रहेको व्यवसायीले बताए। नेपाल प्याराग्लाइडिङ उण्ड ह्याङग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले व्यवसायीको अनुरोधपछि प्राधिकरणले पुर्नबिचार गर्न थालेको बताए।

‘फेवातालमाथिबाट जहाज बायाँतिर मोड्दिा प्याराग्लाइडिङ जोगिन सक्ने भए अध्ययन गरौ भन्ने हाम्रो अनुरोध थियो। प्राधिकरण पनि यसबारेमा सकारात्मक छ,’ रावतले भने, ‘पछिल्लो विकल्प सम्भव भएमा पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ जोगिन सक्छ।’ केहीगरि बायाँतर्फ मोडिँदा हवाई उडान सम्भव भएको अवस्थामा पनि सराङकोटबाट हुने प्याराग्लाइडिङलाई भने कम सम्भावना रहेको उनले बताए। सराङकोट र केही दूरीपरको तोरीपानीको उडान सम्भव नहुने बरु नजिकैको मान्द्रेढुंगाबाट हुने उडान भने सम्भव हुनसक्ने उनले बताए। ‘सराङकोट र तोरीपानीबाट सम्भावना कम छ, बरु मान्द्रेढुंगाबाट भने उडान हुनसक्ने सम्भावना रहन्छ, त्यो भएमा पनि व्यवसायीलाई राहत हुन्छ,’ उनले भने।  

प्रकाशित: १ भाद्र २०७९ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App