१६ चैत्र २०८० शुक्रबार
अर्थ

७ वर्षमा ८ किलोमिटर सडक कालोपत्रे नगर्नेलाई म्याद थपिँदै

गोरखा–बारपाक सडकको २२ देखि ३० किलोमिटर खण्ड अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। लोहनी एण्ड ब्रदर्श प्रालिले १३ करोड २० लाखमा आठ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो।

२०७२ असार ३१ गते ठेक्का लागेको यो सडक सम्झौता गरेको सात वर्षमा पनि निर्माण कम्पनीले पूरा गर्न सकेको छैन। उक्त सडक खण्डमा अझै २० प्रतिशत भन्दा बढी काम बाँकी छ। सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने योजना यही गतिमा काम हुने हो भने पूरा गर्न अझै दुई वर्ष लाग्छ।

निर्माण कम्पनीले सम्झौता रकमको ७५ प्रतिशत भुक्तानी लगिसकेको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका इन्जिनियर बिष्णु पाण्डेले बताए। यसअघि पटक–पटक थप भएको म्याद २०७८ चैत ३० गते सकिएको छ। सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनको कारण देखाएर फेरि एक वर्ष म्याद थप्ने तयारी गरिएको छ।

यसअघि भूकम्पको असर, कोरोनाका कारण कामदार अभाव, क्रोनिक ठेक्कालाई एक वर्ष म्याद थप गर्ने सरकारको विभिन्न पटकको निर्णयले काम नगर्ने निर्माण कम्पनीलाई राहत मिलेको थियो। पटक–पटक समय थप हुँदा समेत काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा पुरस्कार दिँदा काम समयमै हुन नसकेको भन्दै स्थानीय आक्रोशित छन्।

३० देखि ४६ किलोमिटरसम्म कालोपत्रेको जिम्मा लिएको रसुवा-ईलाईट-सुर्य जेभीले पनि काम अलपत्र छाडेको छ। २०७३ असार ३० गते ३५ करोड चार लाखमा आयोजना सँग सम्झौता गरेको निर्माण कम्पनीले छ वर्षमा ७० प्रतिशत मात्रै काम गरेको छ। १६ किलोमिटर सडक खण्डमध्ये अहिलेसम्म एक किलोमिटर पनि कालोपत्रे भएको छैन।

‘स्टक्चर’ को काम मात्रै भएको छ। ६५ प्रतिशत भुक्तानी भईसकेको इन्जिनियर पाण्डेले बताए। यो योजना पनि म्याद थपको प्रक्रियामा छ। यस अघि काम गर्दै आएको सुर्य र ईलाईटले काम छाड्यो। अब रसुवाले कामको जिम्मा लिएको छ। यो कम्पनीले पनि छाडेको खण्डमा आयोजना अलपत्र पर्ने देखिन्छ। बाह्रकिलोदेखि बारपाक सडकको यो दुई खण्डमा काम नहुँदा कालोपत्रे हुनुपर्ने सडकमा बुङ्बुङ्ती धुलो र वर्षातमा हिलो हुने गरेको छ।

पक्की सडकामा यात्रा गर्ने बारपाकीको सपना निर्माण ब्यवशायीकै कारण पुरा हुन सकेको छैन। काम नगर्ने निर्माण व्यवसायीलाई कार्यालयले उन्मुक्ती दिँदा चरम लापर्वाही बढेको गुनासो स्थानीयको छ। ‘चार, पाँच वर्ष पहिला सडक कालोपत्रे हुन्छ भन्ने सुनेका थियौँ’ बारपाकका स्थानीय जितबहादुर घलेले भने ‘ठेक्का लागेको सात-आठ वर्ष भयो अहिले पनि सजिलो गरी यात्रा गर्न मिल्ने सडक बनेको छैन।’

जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्न नसक्दा बिकास निर्माणको काम अलपत्र परेको उनले गुनासो गरे। बारपाक सम्म सवारी साधन आउजाउ गर्न मुस्किल छ। वर्षातको सिजनमा अहिले बालुवा भन्दा माथि सवारी साधन सहज रुपमा चल्ने अवस्था छैन। निर्माण व्यवसायीको बाहनामा कार्यालय सहयोगी बन्दै आएको छ।

जति पटक पनि म्याद थप्ने तर कारबाहीको प्रक्रियामा कार्यालय नजाँदा लामो समयदेखि बारपाक रोड अलपत्र छ। सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले कोभिड १९ को असर, खरिद ऐनको संशोधन लगायत विभिन्न बाहनामा राज्यले म्याद थप्ने निणर्य गर्दा कारबाहीमा अघि बढ्न नसकेको बताए।

‘यी पुराना ठेक्का हो, ठेक्का तोडेर फेरी लगाउँदा राज्यलाई ब्याय भार पर्छ, राज्यले म्याद थपको सुविधा दिइरहेकाले हामीले तोड्न सक्दैनौँ’ उनले भने। निर्माण ब्यवशायीलाई कार्यालयले काम लगाउन नसक्दा वर्षौँदेखिको यो समस्या उस्तै छ।

प्रकाशित: २७ श्रावण २०७९ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App