४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक मोहर बचत गर्दै आएको विकूको सम्पत्ति नौ अर्ब बढी

त्यतिखेर मानिसहरुमा नियमित बचतको बानी थिएन। बचत तथा ऋणको कार्यक्रम गर्ने वैधानिक संस्था पाउन मुस्किल नै हुन्थ्यो। यही अवस्था देखेर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोटका २६ जना युवाले २०५० सालमा विकू बचत तथा ऋण सहकारी संस्था स्थापना गरे। ‘बचन नै विकासको बीउ हो’ भन्ने उद्देश्यका साथ प्रतिव्यक्ति एक मोहरबाट बचत गर्न थालेको संस्थाको सम्पत्ति नौ अर्ब बढी पुगेको छ।

जिल्ला सहकारी कार्यालय नवलपरासीमा पहिलो पटक दर्ता भएको यसको कुल सम्पत्ति अहिले नौ अर्ब तीन करोड ३४ लाख रुपैयाँ पुगेको हो। २६ जना युवाले बनाएको संस्थामा एक लाख १० हजार सदस्य पुगेका छन्। सदस्यमध्ये ४९ प्रतिशत महिला तथा एक हजार दुई ९३ जना सुकुम्बासी परिवारका छन्। २०४८ साल भदौ ५ गते विजय युवा क्लब क्रेडिट युनियन (विकू) सञ्चालनमा आएको थियो। कालान्तरमा विजय युवा क्लब विजय विकास स्रोत केन्द्रमा परिणत भयो।

क्रेडिट युनियन चाहिँ विकू बचत तथा ऋण सहकारी बन्यो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र चितवनमा कार्यक्षेत्र रहेको विकूमा शेयर सदस्य एक लाखभन्दा बढी पुगेका छन्। विकूका चितवन र नवलपुरमा गरि २३ वटा सेवा केन्द्र समेत छन्। विकूले आफ्ना शेयर सदस्यलाई कम्तीमा पनि १५ प्रतिशत शेयर बोनस प्रदान गर्दै आइरहेको शेयर पूँजी ९० करोड रुपैयाँभन्दा धेरै छ। अहिले सेयर सदस्यलाई २ करोडसम्म ऋण प्रदान गर्ने संस्थाका व्यवस्थापक माधव पौडेलले जानकारी दिए।

उनका अनुसार विकुले उत्पादक क्षेत्रमा ४२, व्यापारमा ३९ र अनुउत्पादक क्षेत्रमा १९ प्रतिशत क्षेत्रमा ऋण लगानी गरेको छ। विकूले एसएमएस बैंकिङ, मोबाइल एप, मिस्कल बैंकिङ, कल सेन्टर, एटिएम सेवासमेत सञ्चालन गरेको उनले बताए। आगामी दिनमा विकूले गर्भदेखि स्वर्गसम्म कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको राखेको छ।

संस्थाका संस्थापक तथा अध्यक्ष ओपप्रसाद सापकोटा समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा त्यसरी संकलन गरिएको बचतलाई सदस्यहरूभित्रै परिचालन गरी सामाजिक उद्यमको प्रवर्द्धन गर्नु संस्थाको मुख्य उद्देश्य बताउँछन्। ‘हामीले संस्था स्थापना गर्दा २०४८ सालमा विजय युवा क्लब युनियन (विकू) भनेर सुरुआत गर्‍यौँ’, विगतका संघर्ष सुनाउँदै उनले भने, ‘ऋणको कार्यक्रम गर्न वैधानिकता दिने निकाय नभएपछि २०५० सालमा सहकारीमा दर्ता गर्‍यौँ।’

विकूले जिल्लाबाट उत्कृष्ट सहकारी पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) बाट पश्चिमाञ्चल क्षेत्रीय उत्कृष्ट सहकारी पुरस्कार तथा नेपालकै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कुनद्वारा सञ्चालित सेवा तथा सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्राण्ड लगातार छपटकसम्म पाउन सफल भएको छ।

विकूलाई लघुवित्त विश्वव्यापी सञ्जाल ‘मिक्स मार्केट’ले पनि उत्कृष्ट रेटिङ (पाँच तारा) प्रदानका साथै लगातार दुई पटक युरोपियन अवार्डमा समेत सूचीकृत गरेको थियो। त्यस्तै नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापनको पहिलो राष्ट्रिय पुरस्कारसमेत विकूले हात पारेको उनले बताए।

संस्थाका संस्थापक सदस्य तथा लेखासमिति संयोजक कमल सुवेदीले विकूलाई टेनिङ सेन्टरको रुपमा विकास गरिएपनि पछि यसलाई विस्तार गरिएको बताए। ‘विकूले चिनाउने छ अक्षर, सबै सदस्य बन्ने छन् साक्षर भन्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै आफ्नै स्रोत र साधनबाट हामीले अनौपचारिक शिक्षा सञ्चालन गर्दै आएका छौँ’ उनले भने।

कमजोर अर्थावस्था भएका संस्थाका शेयर सदस्यका छोराछोरीको पहिचान गरी दलित जनजाति तथा जेहेन्दार ६० जनालाई बर्सेनि एसइईसम्मको सम्पूर्ण लगानी संस्थाले गर्ने गरी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। विभिन्न संघसंस्थासँगको सहकार्यमा विकूले बर्सेनि आफ्ना दुई सय जना सदस्यलाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गर्दै आइरहेको उनले बताए।

निक्षेपमा १३ प्रतिशतसम्म र ऋणमा १६ प्रतिशतसम्म ब्याजदर रहेको छ। ‘हामीले निक्षेपमा सातदेखि १३ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छौँ’, संस्थाका व्यवस्थापक माधव पौडेलले भने, ‘उत्पादनमूलक क्षेत्रमा १३ प्रतिशत र अनुत्पादक क्षेत्रमा लगानी गर्दा १६ प्रतिशत ब्याज लिँदै आएका छौँ।’ संस्थाले तीन सय ६५ दिन नै बैंकिङ तथा सन्ध्याकालीन नियमित सेवा प्रदान गरिरहेको भन्दै विकूलाई अझ उत्कृष्ट संस्था बनाउनका लागि आफूहरु लागिपरेको उनले बताए।

संस्थाले सामाजिक काम समेत गर्दै आएको छ। बढ्दो वातावरणीय विनाश एवं प्रदुषणलाई काम गर्ने उद्देश्यले वैकल्पिक उर्जाको रुपमा गोबर ग्याँससंग सम्बन्धित प्रवर्द्धनात्मक कार्य गर्दै आइरहेको छ। सुत्केरी भेटघाट तथा शिशु दर्शन कार्यक्रम, पोषिलो आहार कार्यक्रमहरु नियमित गर्दै आएको छ। यस्तै सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँसम्म राहत रकम प्रदान गर्दै आएको व्यवस्थापक पौडेलले बताए।

प्रकाशित: २४ श्रावण २०७९ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App