२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिक्री भएन कृषकको मह

खैरहनी नगरपालिका ४ चैनपुरका देवेन्द्र बस्नेतलाई यतिखेर मह बेच्न भ्याइनभ्याई हुन्थ्यो। काठमाडौँदेखि देशका विभिन्न ठाउँबाट व्यापारीहरू घरसम्मै आइपुग्थे। तर, यसपटक भने मह बिक्री नभएर गोदाममै थुप्रिएको छ। ‘कोरोनाको समयमा मान्छेले मह बढी सेवन गरे। घरको उत्पादनले नपुगेर बाहिरबाट पनि ल्याएर बेचियो,’ उनले भने, ‘अहिले किन्ने मान्छे कोही नआउँदा साढे दुई टन मह स्टक छ।’

न्यु कञ्चन मौरी फर्म दर्ता गरी २०६५ देखि बस्नेतले व्यावसायिक रूपमा मौरी पालन गर्दै आएका हुन्। उनको फार्ममा हाल २५० आधुनिक घार छन्। यी घारबाट वर्षमा करिब चार टन मह उत्पादन हुन्छ। बाहिरबाट पनि खरिद गरेर मह बेच्दै आएका थिए। यस वर्ष पनि उनले किसानबाट १० टन मह खरिद गरेका थिए। तर, बेच्न सकेका छैनन्।

‘गत वर्षको जस्तो हुन्छ किन भनेर सुरुमा किसानबाट प्रतिकेजी ५ सय २५ रूपैयाँमा खरिद गरेँ। डाबर नेपालले दुई टन लग्यो। ८ टन बुटवलमा उधारो पठाइयो,’ उनले भने, ‘अहिले स्टक रहेको साढे दुई टन मह घाटा खाएर पनि बेच्नुपर्ने अवस्था आएको छ।’ उनले मह बेचेरै वार्षिक १५ लाख रूपैयाँसम्म अम्दानी गर्दै आएका थिए। यसअघि उनले नियमित रूपमा डाबर नेपाल र पतञ्जलीलाई मह बेच्ने गर्दथे।

बजारमा हाल प्रतिकिलो ७०० मा मह बिक्री हुने गरेको छ। यहाँ उत्पादित महको मुख्य बजार काठमाडौँ नै हो। नेपालमा ४ सय १३ टन मह बिक्री नभएको नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद पौडेलले बताए। उनका अनुसार, सबैभन्दा धेरै चितवनमा १५० टन मह सञ्चित छ। दाङ, झापा, स्याङ्जा, सुर्खेत, कपिलवस्तु, रूपन्देही, मकवानपुर, पाल्पा, नवलपरासीलगायतका जिल्लाका किसानले मह बिक्री गर्न सकेका छैनन्।

नक्कली महको बिगबिगीका कारण नेपालमा उत्पादित महको बिक्री हुन छाडेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनअन्तर्गत रहेको मौरी जोन सञ्चालक समितिका संयोजक रामप्रसाद पौडेल बताउँछन्। ‘भारत र चाइनाबाट गुणस्तर मह भित्रिएको छ। काठमाडौँमा यसअघि चिनी प्रयोग गरेको मह समातियो। त्यसको असर नेपालको गुस्तरीय महमा परेको छ,’ उनले भने।

कोरोनाका कारण मानिसहरूको क्रय शक्ति कम हुँदा पनि मानिसहरूले मह कम प्रयोग गर्न थालेको उनको भनाइ छ। तोरी, चिउरी, फापर, मसला, जामुन, सिसौँ, चिलाउने, कटुस, मियल, पैयुँ र रुदिलो मह उत्पादनका स्रोत हुन्। व्यापारीले तोरी र  फापरको मह लैजान नमान्ने गरेको उनले बताए। रुदिलो र चिउरीको मह भने बिक्ने गरेको उनले बताए। मौरी जोनमा पाँच सय किसान आबद्ध छन्। उनीहरूको २ करोडभन्दा माथिको मह बिक्री नभएको उनले बताए।

नेपालमा मेलीफेरा मौरी १ लाख ३० हजार, सेरना मौरी १ लाख १७ हजार गरी २ लाख ४७ हजार गोला मौरी छन्। नेपालमा वार्षिक चार हजार मेक्ट्रिक टन मह उत्पादन हुँदै आएको छ। त्यसमध्ये चितवनमा २६८ मेक्ट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ। तोरी र फापरको स्रोतबाट ३० प्रतिशत र अन्य स्रोतबाट ७० प्रतिशत मह उत्पादन हुन्छ। नेपालमा ८ हजार टन मह आवश्यक भए पनि बाहिरी मुलुकबाट भित्रँदा नेपाली मह बिक्री हुन नसकेको किसानको भनाइ छ।

अहिले नक्कली र शुद्ध मह छुट्याउन नसक्दा महको बिक्रीमा अन्यौलता देखिएको छ। कृषकसँग मिलेर गुणस्तरीयताको ब्रान्डिङ गर्नुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा बताउँछन्।

‘अहिले कहाँको मह हो भन्ने विषयमा उपभोक्ताहरूमा अन्योल छ। कृषकहरूले लेबलिङ गरेर बेच्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूलाई क्युआर कोर्डमा सहयोग गरेका छौँ। यसले गुणस्तरीय महको बिक्री हुन सहज हुने अपेक्षा छ।’ महको खपत बढाउनका लागि मेला महोत्सवलगायतका स्थानमा प्रर्वद्धन गर्ने गरेको बताए। उनले खाद्य प्रयोगशालाबाट पनि अनुमति लिएर मह बेच्न सुझाव दिए।

प्रकाशित: ३१ असार २०७९ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App