संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुसी व्यक्त गरे।
सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ। यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ। ‘वल्र्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको छ। मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताए।
एभरेष्ट इन प्राइभेट लिमिटेड होटल ५ हजार १ सय ८० मिटरको उचाईमा बनाइएको छ। यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो। यो होटल सन् १९७१ मा खोलिएको थियो। यो होटल ३ हजार ८८० मिटरको उचाईमा अवस्थित थियो।
प्रकाशित: २८ असार २०७९ ०८:४९ मंगलबार