१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रदेश १ मा ४८.६४ प्रतिशत रोपाइँ

बर्सेनि मल र पानीकै पिरलो

धान रोपाइँको सिजनमा वषौंदेखि प्रदेशका किसानले एउटै समस्या झेल्दै आएका छन्। समयमै मल र पर्याप्त सिँचाइको व्यवस्था गर्न वर्षौंदेखि माग गर्दै आएका किसानहरूले गणतन्त्र आइसक्दा पनि आश्वासनबाहेक केही पाउन सकेका छैनन्।  

बर्सेनी बाली लगाउने समयमा किसानहरूको रुवाबासी हुने गरेको छ। उनीहरूको सधैंको कथा–व्यथा एउटै छ, त्यही मल र सिँचाइको अभाव। कृषिमा आत्मनिर्भर हुने घोषणा गरेको सरकारले किसानको समस्या कहिल्यै पनि बुझ्ने प्रयास गरेको देखिँदैन।

प्रदेश १ का किसानले यस सिजनमा मात्रै होइन, कुनै पनि बाली लगाउने सिजनमा पर्याप्त मात्रामा रासायनिक मल र सिँचाइको प्रयोग गर्न सकेका छैनन्। अझै पनि तराई क्षेत्रका किसान आकाशे पानीको भरमा खेती गर्नुपरेको छ। पछिल्ला समय सरकारले विद्युतमा किसानलाई केही सहुलियत दिए पनि सबैजनाले एकैपटक मोटरबाट पानी तान्दा भोल्टेजको समस्या खेप्नुपरेको छ।  

पर्याप्त पानी र रासायनिक मलको कमीसँगै प्रदेश १ मा हालसम्म ४८ दशमलब ६४ प्रतिशत धान रोपाइँ भएको छ भने करिब ५१ दशमलब ३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ गर्न बाँकी रहेको प्रदेश १ खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाले जनाएको छ।  

प्रदेशका १४ जिल्लाको १ लाख ६५ हजार ७ सय ७१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको महाशाखाका प्रसार अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए। प्रदेशमा रोपाइँका लागि कूल ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल रहेको छ। मध्य असारमा पानी परेसँगै कृषक रोपाइँमा व्यस्त भए पनि पछिल्लो समय वर्षा र मलको अभावमा रोपाइँ हुन सकेको छैन।  

‘खै कुन तहको सरकारले हामी किसानको दुःख बुझ्ने, सुन्ने र समस्या हल गर्ने हुन्,’ मोरङको रंगेली नगरपालिका–२ सुवास सिग्देलले भने, ‘तीन तहको सरकार हुँदा किसानले सहज रूपमा खेतीपाती गर्न पाइन्छ भन्ने ठानेका थियौं। कहिले पनि बाली लगाउने समयमा किसानको रुवाबासी अन्त्य हुन सकेन।’ सबै ठाउँमा नहरको सिँचाइ हुँदैन। ‘किसानलाई चाहिएको समयमा न पानी पाइन्छ, न त मल नै,’ सिग्देलले भने, ‘सरकारले भाषणमा कृषिमा आत्मनिर्भर बनाउने कुरामात्रै गर्छ, व्यवहारमा गर्न सकेको छैन। मल अभावको समस्या १/२ वर्षदेखिको होइन।’ उनले मलको समस्या बर्सेनी हुन्छ तर सरकारले यस समस्याको ठोस निकास दिन किन नसकेको होला ? कहिलेसम्म किसानले मल, बीउ र सिँचाइका लागि रुवाबासी गर्नुपर्ने हो।  

नहरको पानी नलाग्ने ठाउँका लागि रंगेली–२ मा रहेको ववियाबिर्ता जल उपभोक्ता समितिमार्फत् स्थानीय किसानलाई पानी तान्ने मोटरपम्प निःशुल्क दिइने गरेको सिग्देलले बताए। २/३ दिन मात्रै रंगेली–१, २ र ३ का १५ जना किसानलाई पानीको समस्या भएका किसानलाई दिइएको छ। बोर्डर नजिक भए पनि भारतको मल राम्रो नहुने हुँदा कमै मात्रामा यहाँका किसानले प्रयोग गर्ने गरेका छन्। सरकारले समयमा मल उपलब्ध नगराउँदा केही किसानले भारतकै कमसल मल प्रयोग गर्न बाध्य छन् भने केहीले बजार मूल्यभन्दा बढी तिरेर सरकारले बिक्री गर्ने मल ‘ब्ल्याक’मा खरिद गरेर ल्याउँछन्। ‘भोजपुर, पथरी, इटहरीलगायतका स्थानबाट आफन्त वा अन्य तरिकाकाबाट मल ल्याउने गरेका छन्,’ सिग्देलले भने, ‘सरकारले तोकेभन्दा बढी करिब १ हजार बढी शुल्कमा खरिद गरेर मल हाल्ने गरेका छन्। सरकारले मलको आवश्यकता कहाँ बढी हो भनेर अध्ययन नगरी मल पठाउने गर्दा झन् समस्या आएको हो।’

रंगेलीका किसानकै जस्तै समस्या झेल्न परेको गुनासो सुनबर्षी नगरपालिका–३ तोर्ण कटुवालको पनि छ। ‘हाम्रो ठाउँमा सिँचाइका लागि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ,’ कटुवालले भने, ‘समयमा वा चाहिएको बेला आकाशबाट पानी परेन भने यहाँका किसानको बिजोक हुन्छ। पछिल्लो समय सरकारले किसानलाई विद्युत्मा केही सहुलियत दिए पनि त्यसको पूर्ण उपभोग गर्न समस्या हुने गरेको छ।’ सबैले मोटरपम्पबाट पानी तान्दा विद्युत् बढी खपत हुने हुँदा भोल्टेज कम हुने गरेको छ। सिँचाइको मात्रै समस्या होइन, मल र बीउको पनि समस्या उस्तै रहेको उनले बताए। समयमा सिँचाइ, मल र बीउ उपलब्ध नहुँदा ठूलो समस्या भोग्नुपरेको गुनासो गर्दै कटुवालले भने, ‘सरकारले बिक्री गर्ने मल पाउन कठिन छ। किसानले मल नपाउने भएपछि पसलमा लुकाइछिपाइ बिक्री गर्ने कहाँबाट महँगो दरमा किन्न बाध्य हुनुपर्छ। यहाँको राम्रो मल नपाउँदा भारतबाट चोरी तस्करी गरेर ल्याइएका कमसल मल प्रयोग गर्न बाध्य हुनुपरेको छ।’  

महाशाखाका अनुसार उच्च पहाडी क्षेत्रमा सोलुमा सर्वाधिक रोपाइँ भएको छ। सोलुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा गरी कूल ६५ दशमलब ८५ प्रतिशत रोपाइँ भएको हो। संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमध्ये ४ हजार १ सय ५५ हेक्टर क्षेत्रफल अर्थात् ३० प्रतिशतमा रोपाइँ भएको छ। मध्यपहाडीतर्फ तेह्रथुममा ७० प्रतिशत धान रोपाइँ भएको महाशाखाले जनाएको छ। जसअनुसार १० हजार १ सय ७५ हेक्टर क्षेत्रफल मध्ये ७ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।  

ओखलढुंगामा ६६ प्रतिशत रोपाइँ कार्य सकिएको छ। ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये २ हजार ९ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ भयो। तराईतर्फ झापामा ६१ प्रतिशत रोपाइँ भएको छ। जसमा ८७ हजार ५ सय हेक्टर क्षेत्रफल रोपाइँ योग्य रहेको र हालसम्म ५३ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ। मोरङमा अपेक्षाअनुसार रोपाइँ हुन सकेको छैन। मोरङमा ८३ हजार ३ सय हेक्टर क्षेत्रफल रोपाइँयुक्त जमिन भए पनि हालसम्म २९ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। सुनसरीमा ४५ प्रतिशत रोपाइँ भएको छ। ५५ हजार हेक्टर क्षेत्रफल रोपाइँयोग्य जमिन भए पनि सुनसरीमा हालसम्म २४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

प्रकाशित: २८ असार २०७९ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App