१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

उपेक्षामा ‘गेम चेञ्जर प्रोजेक्ट’

कोहलपुरमा घण्टाघर निर्माण गर्ने निवर्तमान नगरप्रमुख लुटबहादुर रावतको प्रमुख प्राथमिकता थियो। सोहीअनुसार उनले बजेट विनियोजन गर्दै गए।

अहिले घण्टाघरको भौतिक प्रगति ८० प्रतिशत भएको दाबी गरिएको छ तर विडम्बना घण्टाघरले पूर्ण आकार पाउन आर्थिक वर्ष २०७९/८० का लागि बजेट पाउन सकेन। स्रोत अभावको नाममा गौरवको योजना बजेटमा समेटिएन। यति मात्र होइन, यसभन्दा अघिका जनप्रतिनिधिले अघि सारेका गौरवका योजनालाई आउँदो वर्षमा निरन्तरता दिइएको छैन।

भौतिक पूर्वाधार निर्माण भइरहेका कतिपय ठूला योजनाले रकम नपाउँदा अलपत्र पर्ने निश्चित भएको छ। हालका नगरप्रमुख पूर्णप्रसाद आचार्य लगायतका जनप्रतिनिधिले ती योजनालाई उपेक्षा गर्दा बजेटमा नसमेटिएको गुनासो सर्वत्र छ। कोहलपुर नगरपालिका क्षेत्रको समग्र विकासका लागि रूपान्तरणकारी भूमिका निर्वाह गर्ने ‘गेम चेञ्जर प्रोजेक्ट’को नाम दिइएका ती योजना वर्तमान सरकारका प्राथमिकतामा परेनन्।

चप्पर गौडी-घुइँयाबारी अन्तर प्रदेश सडक, कभर्ड हल, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, भ्यू-टावर, घण्टाघर, सिटी-हल, लामो दूरीको बसपार्क, रिङरोड, आधुनिक बधशाला, डुडुवा करिडोर, बाल अस्पताल, १५ शैड्ढयाको आधारभूत अस्पताल, आकासे पुल विद्युतीय शवदाह गृह, ढल तथा फोहोर मैला व्यवस्थापन तथा दिसाजन्य पदार्थको प्रशोधन केन्द्रलाई निवर्तमान नगरप्रमुख रावतको पालामा गौरवको आयोजनाका रूपमा समेटिएको थियो।

तीमध्ये अहिले पनि केही प्रक्रियामा छन् भने अधिकांश अधुरै छन्। अहिले नगरपालिकामा नेतृत्व परिवर्तन भएको छ। अहिलेका जनप्रतिनिधिहरूले टुक्रे तथा साना आयोजनालाई प्राथमिकता दिँदा ठूला लगानी लाग्ने तथा बहुवर्षीय आयोजना अलपत्र पर्ने जोखिम बढेको हो।

नयाँ जनप्रतिनिधिले असार दोस्रो साता ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्ववर्ती सरकारका कुनै पनि गौरवका आयोजना समेटिएका छैनन्। कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा नगरप्रमुख केन्द्रित कार्यक्रमदेखि युट्युब च्यालन सञ्चालन गर्ने कार्यक्रमले प्राथमिकता पाउँदा गौरवका आयोजना उपेक्षामा परे।

१० पेजको एक सय ३० बुँदे नीति तथा कार्यक्रममा कोहलपुरका तीन स्थानमा आकासे पुल निर्माण गर्न संघीय सरकारसँग समन्वय गर्ने, घुइँयाबारी सडकको निर्माणलाई अगाडि बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने र डिपीआर निर्माण कार्य गर्नेबाहेक अन्य आयोजनाका बारेमा मौन छ।

विद्युतीय शवदाह गृह बनाउने विषय भने पनि तोडमोड गरिएको छ। नीति तथा कार्यक्रममा विभिन्न जातजातिका रीतिरिवाजलाई समेट्ने गरी उपयुक्त स्थानमा शवदाह गृह निर्माण गरिने अन्तर पालिका शवदाह गृहका लागि वैकल्पिक व्यवस्थापन गर्ने आश्वासन छ।

चालु र पुँजीगत कार्यक्रममा पनि परेनन्

कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा नगरस्तरीय चालु र पुँजीगत कार्यक्रमका लागि भनेर कार्यक्रम र बजेट विनियोजन गरेको छ। चालु र पुँजीगत दुवैतर्फ नयाँ टुक्रे योजना समावेश गरिँदा गौरवका आयोजनाले स्थानै पाएनन्। नगरपालिकाले कूल ३२ वटा साना तथा टुक्रे र पुँजीगततर्फ ११ वटा कार्यक्रमलाई प्राथमिकता दिएको छ।

चालूतर्फ चार करोड ९४ लाख र पुँजीगततर्फ ११ करोड १० लाख बजेट विनियोजन गरेको छ। तीमध्ये पूर्ववर्ती सरकारले गौरवको आयोजनाका रूपमा उल्लेख गरेको कोहलपुर बालअस्पताल निर्माणका लागि बहुवर्षीय आयोजनाको रूपमा २० लाख रूपैयाँ विनियोजन गरिएको छ।

यस्तै बहुवर्षीय योजनाकै रूपमा राजमार्ग जोड्ने सडकको स्तरोन्नति गर्न चार करोड, कोहलपुर चिल्ड्रेन पार्कका र थारु संग्रहालयका लागि दुई करोड ५० लाख, विद्यालय क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न पूर्वाधार निर्माण गर्न एक करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ।

चालुतर्फ राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालनका लागि ३० लाख, लोकसेवा आयोग तयारी कक्षाका लागि पाँच लाख, कोहलपुर डिजिटाइजेसन कार्यक्रमका लागि एक करोड, नगरप्रमुख छात्रवृत्ति कार्यक्रम १० लाख र समाधिस्थलको सम्भाव्यता अध्ययनको लागि पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ।

शाखामा टुक्रे योजनालाई प्राथमिकता

आर्थिक वर्ष २०७९/०८० मा कोहलपुर नगरपालिकाअन्तर्गत विभिन्न शाखामा टुक्रे योजनालाई प्राथमिकता दिइएको छ। नगरस्तरीय चालु र पुँजीगततर्फको कार्यक्रम र बजेट जस्तै शाखाको कार्यक्रम र बजेटमा समेत साना तथा टुक्रे योजनालाई प्राथमिकता दिइएको हो।

शाखागत कार्यक्रम र बजेटअन्तर्गत स्वास्थ्य शाखातर्फ कुल २७ वटा कार्यक्रम र एक करोड ५७ लाख ११ हजार बजेट छ। वातावरण तथा विपद् व्यवस्थापनका १२ वटा कार्यक्रमका लागि करिब एक करोड, आर्थिक विकास शाखामा २६ वटा कार्यक्रम र सामाजिक विकास शाखाअन्तर्गत पाँच करोड २५ लाख र पशु शाखाको लागि ५० लाख विनियोजन गरिएको छ।

कृषि शाखातर्फ कुल २३ वटा कार्यक्रम छन्। ती कार्यक्रम कार्यान्वयनका लागि आठ लाख ८५ हजार रूपैयाँको बजेट पास गरिएको छ। यस्तै आयुर्वेद शाखाका लागि ११ लाख र  शिक्षा युवा तथा खेलकुद शाखाका लागि कार्यक्रम ३४ वटा छन् भने बजेट ६ करोड ३५ लाख छ।

निवर्तमान नगरप्रमुख लुटबहादुर रावतले पूर्वाग्राही ढंगले गौर वका योजनालाई अगाडि नबढाइएको बताए। ‘पहिलाका योजना मेरो व्यक्तिगत लाभका लागि थिएनन्,’ उनले भने- ‘जनतालाई लाभ पुग्ने र कोहलपुरको विकासमा मदत पुग्ने योजनालाई निरन्तरता नदिनु दुर्भाग्य हो।’ यता नगरप्रमुख पूर्णप्रसाद अचार्यले बजेट अभावमा ठूला योजनालाई निरन्तरता नदिइएको बताए। पूर्वाग्राहीभन्दा बजेट नहुँदा समस्या भएको उनको भनाइ छ।  

प्रकाशित: २६ असार २०७९ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App