१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अबको समय च्याउ पर्यटनको

नेपालमा उल्लेख्य संख्यामा पर्यटक भित्रिने सिजन वसन्त ऋतु र शरद ऋतु हुन्। जसमध्ये वसन्त ऋतुमा सबैभन्दा बढी पर्यटक भित्रिने गरेका छन्। नेपाल विशेष गरी हिमाली क्षेत्रको पद यात्राका लागी विश्वव्यापी रूपमै आर्कषक गन्तव्य हो। यी दुई सिजनबाहेक अन्य समयमा हिमाली क्षेत्रमा पर्यटक कम हुने गर्दछ।

मनसुन सिजनमा पानी पर्ने भएका कारण पर्यटकहरूको चहलपहल कम हुन्छ। त्यसैले पनि यस सिजनलाई पर्यटन क्षेत्रमा अफ ‘सिजन’ भनिदै आएको छ तर यही मनसुन सिजन भने च्याउ प्रशस्त उम्रिने सिजन हो। हिमाली भेगमा प्रशस्त मात्रामा च्याउ उम्रिन्छन्। २५ सय मिटरदेखि ३५ सय मिटरसम्ममा धेरै च्याउ उम्रिने गर्छन्।

नेपालमा ५१ सय मिटर उचाइमा पनि कुनै कुनै च्याउ भेटिएको र कतिपय च्याउहरू त अझै पत्तो नलागेका प्रजातिको भेटिएको च्याउ पर्यटक टोलीले बताएका छन्। जङ्गली च्याउ पर्यटनलाई प्राथमिकतामा राखेर नेपालमा पहिलो पटक जङ्गली च्याउ पर्यटनको सुरुवात भएको छ। इन्टरनेशनल माउन्टेन ट्रेकिङ अमेरिकाले ग्लोबल इन्स्टिच्युट अफ इन्टरडिसिप्लिनरी स्टडिज काठमाडौंका डा. शिव देवकोटाको नेतृत्वमा खुम्बु क्षेत्रमा च्याउ पर्यटन अभियान सुरु गरेको हो।

खरीखोला (२१३७ मिटर) देखि सगरमाथा आधार शिविर (५३६४ मिटर)को उक्त अभियानमा क्लार्क विश्वविद्यालयका डा. ब्रिट बनयार्ड र थोमस रोहलसहित नेपाल, अमेरिका र मेक्सिकोका वैज्ञानिकहरू, इच्छुक नागरिकहरू र शेर्पा गाइडहरू सहभागी भएका थिए। ग्लोबल इन्स्टिच्युट अफ इन्टरडिसिप्लिनरी स्टडिजका अनुसन्धानकर्ता डा. देवकोटाले अफ-सिजनले च्याउ अन्वेषणका लागि नयाँ र रोमाञ्चक अवसरहरू खोल्न सक्ने बताए।

उनले विश्वका विभिन्न देशहरूले च्याउको महत्वलाई अंगीकार गरी यसको पर्यटकीय सम्भावनालाई व्यवस्थित गरेर विस्तार गरेको बताए। उनले नेपालमा पनि च्याउ पर्यटनको बारेमा अध्ययन गर्नुपर्ने बेला आएको बताए। ‘नेपालमा च्याउ पर्यटनको सम्भावना उल्लेख्य रहेको छ,’ उनले भने-जङ्गली च्याउ पर्यटनलाई सरकारले अब अध्ययन गरी नीतिगत व्यवस्था गर्नुपर्छ।'

डा. देवकोटाले जंगली च्याउ, लाइकन र यार्सागुम्बा वा क्याटरपिलर फङ्गसमा करिब दुई दशकदेखि काम गर्दै आएका छन्। स्विजरल्याण्डको बर्न विश्वविद्यालयबाट इकोलोजी र इभोलुसनमा पीएचडी गरेर एन्थ्रोपोलोजी र बिमा विषयमा स्नातकोत्तर गरेका उनले हिमाली पर्यटनमा ध्यान दिइरहदाँ च्याउ पर्यटनमा पनि चासो राख्नुपर्ने बेला भएको बताए।

उनले भने 'हिमाल मात्र हैन च्याउ पनि हेरून्, च्याउ मात्र हैन हिमाल पनि चढून भन्ने अवस्था सिर्जना गर्नुपर्छ।’ उक्त जङ्गली च्याउ पर्यटन टोलीले गत सोमबार पत्रकार सम्मेलन गरी १ सय ५६ प्रजातिका च्याउ पत्ता लगाएको जानकारी दिए। जसमध्ये केही नयाँ र पहिले कहिल्यै वर्णन नगरिएका च्याउ समावेश हुन सक्ने दाबी गरे।

फेला परेको सबैभन्दा चाख लाग्दो च्याउ मध्ये एक, ट्रिमेला सालमोनेल्ला प्रजाति पनि उक्त टेलीले भेट्टाएको जनाएको छ। जुन पहिलोपटक चीनबाट सन् २०१९ मा मात्र वर्णन गरिएको थियो। यस्तै सन् २०१९ मा भारतमा पहिलो पटक वर्णन गरिएको अमानिता टुल्लोसियाना पनि यस अभियानको क्रममा भेटिएको टोलीले उल्लेख गरेको छ।

नेपालमा हाल १२ सय ९१ प्रजातिका च्याउहरू रहेकोमा करिब १ सय प्रजातिका च्याउहरू भने विषालु रहेका छन्। अन्य राष्ट्रमा ३० दिनमा पनि नदेखिएका च्याउहरू नेपालमा भने हप्ता दिनमै देखिएको अमेरिकाको फंगी म्यागजिनका सम्पादक तथा क्लार्क विश्वविद्यालयका डा. बनयार्डले बताए। यसले पनि नेपाल च्याउ पर्यटनको लागि नयाँ गन्तव्य बन्न सक्ने विश्वास उनले व्यक्त गरे।

चीन, ल्याटिन अमेरीका, फ्रान्स, इटली लगायतका मुलुकहरूमा च्याउ पर्यटनलाई सरकारले नै प्राथमिकतामा राखेर पर्यटन क्षेत्रलाई विस्तार गरेको छ। यस्तै चाइनाको साङघाई चि सहरमा च्याउ संग्रहालय नै रहेको छ भने कतिपय हिमाली गाउँहरू जहाँ च्याउ उल्लेख्य छन् उक्त गाउँहरूलाई च्याउ पाइने विशेष ठाउँका रूपमा सरकारले प्राथमिकतामा राखेर प्रवर्द्धन गरेको छ।

च्याउ पर्यटन एकदमै नयाँ प्रयोग हुन सक्छ नेपालको लागि तर यदि च्याउको विविधता र विशेषताको सूक्ष्म अध्ययन गरेर यसलाई पर्यटकीय क्षेत्र बनाउन सकेको खण्डमा विश्वभरिका पर्यटकहरूका लागि नयाँ र आर्कषक गन्तव्य बन्न सक्छ। पारिस्थितीक प्रणालीमा असर नपर्ने गरी च्याउ पर्यटनको विस्तार गर्न सरकार तथा सरोकारवाला निकायहरूले च्याउ पर्यटनमा गम्भीर तवरले ध्यान दिन सकेको खण्डमा अफ सिजनमा पनि पर्यटकको चहलपहल बढाउन सकिन्छ। यसका साथै पर्यटन क्षेत्रलाई हरेक सिजन चुस्त र दुरुस्त बनाउन सकिन्छ। 

प्रकाशित: २२ असार २०७९ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App