१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चितवनमा ४५ लाख खर्चेर केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन ८५ प्रतिशत अनुदान र बजार विकास प्रवर्द्धन समितिको १५ प्रतिशत लगानीमा राइपनिङ च्याम्बरको निर्माण गरिएको हो।

पाँच वटा राईपनिङ च्याम्बर निर्माण गर्न साढे ४५ लाख रुपैयाँ लागेको परियोजनाले जानकारी दिएको छ। यसमा परियोजनाको मात्रै ४० लाख रुपैयाँ परेको छ, भने बजार विकाश प्रवर्द्धन समितिको साढे ५ लाख रुपैयाँ हाराहारीमा लगानी छ। च्याम्बर निर्माणका लागि परियोजनाले तीन वर्ष अघिदेखि नै बजेट विनियोजन गर्दै आएको थियो। तर, स्थापना हुन सकेको थिएन।

यस वर्ष बजार विकास प्रवर्द्धन समितिको सहयोगमा क्षेत्रपुरमा स्थापना गरिएको हो। आधुनिक प्रविधिबाट केरा पकाएर स्वस्थकर वस्तु उपभोक्ता माझ पुर्‍याउने उद्देश्यले च्याम्बरको निर्माण गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए। किसानको उत्पादित केराको क्षति न्यूनिकरण गर्ने समेत उनले बताए।

‘केराको पोष्ट हार्भेट लाइफ (बाली उत्पादन उत्प्रान्त हुने क्षती न्यूनिकरण गर्ने) वृद्धिका साथै उपभोक्ताले स्वस्थ केरा खान पाउने अपेक्षा छ,’ उनले भने, ‘यसले केरा बिग्रनबाट जोगाउँछ। जसले किसान, उपभोक्ता र व्यवसायीलाई समेत फाइदा पुग्छ।’ यो प्रविधिबाट १० देखि १५ दिनसम्म स्टोरेज गरेर  राख्न सकिने उनले बताए।

आवश्यक परेको खण्डमा २४ घण्टाभित्र केरा पकाउन सकिन्छ। तर, ३६ घण्टाभित्र पाकेको केरा टिकाऊ र स्वस्थकर हुने ढुंगानाको भनाइ छ। एउटा राईपिनङ च्याम्बरमा पाँच टनसम्म राख्न सकिन्छ। यसअघि चितवनका किसानले क्यालसियम कार्बोड हालेर केरा पकाउने गरेका थिए। यसमा केमिकल हुने भएकाले क्यान्सर समेत हुने खतरा थियो। तर, चिस्यान प्रविधिबाट पकाउँदा केरा स्वस्थकर हुने महानगर बजार विकास प्रवर्द्धन समितिका प्रबन्धक थीरप्रसाद धिताल बताउँछन्।

'केरा कार्बोडबाट पकाउने परम्परा थियो। त्यो त्यति गुणस्तर मानिदैँन। छिटो सड्ने र कालो समेत हुन्थ्यो, उनले भने, ‘यस प्रविधिबाट रंग पनि राम्रो हुन्छ। टिकाउ पनि उत्तिकै हुन्छ। खान राम्रो मनिन्छ।’ महानगर फलफुल तथा तरकारी बजारमा दैनिक एक लाख कोषा खपत हुँदै आएको छ।

त्यहाँका व्यवसायीहरुले बिजुलीको शुल्क तिरेर केरा राईपनिङ च्याम्बरमा राख्न सक्ने व्यवस्था गरिएको धितालले बताए। उनका अनुसार, वैशाख, जेठ, असार, साउनमा जिल्लामा बढी केरा उत्पादन हुँदै आएको छ। चितवनमा  वार्षिक ४४ हजार ८४२ मेक्ट्रिक टन केरा उत्पादन हुँदै आएको छ। त्यसमध्ये ३१ हजार ३ सय ९९ मेक्ट्रिक टन निर्यात हुने गरेको परियोजनाले जनाएको छ।

प्रकाशित: २१ असार २०७९ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App