१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अघोषित लोडसेडिङले उपभोक्तालाई सास्ती

धादिङबेसीस्थित विद्युत फोलमा अव्यवस्थित ढंगबाट टाँगिएको ट्रान्समिटर र तारहरु।

धादिङका अधिकांश स्थानमा अहिले विद्युतमा नियमितता छैन। छिनमै बिजुली बल्छ छिनमै काटिन्छ। दिनको आधा समय त उपभोक्ताले बिजुली प्रयोग गर्न पाएका छैनन्।

अनियमित तरिकाले बिजुली काटिँदा सदरमुकाम र आसपासका व्यवसायीहरु बढी मारमा परेका छन्। कपडा उद्योग, होटल व्यवसाय र पोल्ट्री व्यवसायी समस्यामा छन्। ‘उखरमौलो गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान बिग्रिएर जान्छ’ होटल व्यवसायी मुना गोतामे भन्छिन्–‘विद्युत प्राधिकरणको असावधानीले दैनिक घाटा व्यहोर्नु परेको छ।’

महिनौदेखि प्राय सबै शनिबार सुचना नै जारी गरेर प्राधिकरण दिनभरी विद्युत नआउने जानकारी गराउने गरेको छ। त्यसले पनि उपभोक्ता दिक्क भइसकेका छन्। नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले गत शनिबार विद्युत आपूर्ति बन्द हुने सम्बन्धी जारी गरेको सुचना आफ्नो फेसबुक वालमा पोष्ट गर्दै पत्रकार मनिष दुवाडी व्यङ्ग्यात्मक शैलीमा लेख्छन्–‘धादिङमा अब यसरी पढ्दा सजिलो हुने भो! आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहीबार अनि ‘विद्युत प्राधिकरणबार!’

सोलार, इन्भर्टर, लाइट लगायतका सामान बिक्रेताहरुको सेटिङमा प्राविधकरणले अनेकन बहाना बनाउँदै विद्युत कटौती गरेको टिप्पणीहरु पनि सामाजिक संजालमा छरपस्ट आइरहेका छन्। कमेन्टमा सुदर्शन दुवाडी लेख्छन्–‘रोजिरोटीको पनि त कुरा छ, व्यवसायीले इन्भर्टर र लाइट बेच्नु पर्‍यो अनि कर्मचारीले पनि माथीको निर्देशन मान्नै पर्‍यो।’

हिउँदमा समेत नियमित रहेको विद्युत बर्खा लागेदेखि झनै अनियमित बनेको हो। दिनमा दजनौं पटक बत्ती गइरहने समस्याले गर्दा आमनागरिकले त हैरानी खेपेकै छन्। सरकारी काम पनि अस्तव्यस्त बन्ने गरेको छ। दिनमै दशौं पटकसम्म विद्युत आउने जाने हुँदा व्यवसायीहरु बढी मारमा परेका छन्।

धादिङबेसीमा संचालित सम्राट लेडिज टेलरमा बिजुली नहुँदा थन्किएको सिलाई मेसिन र सानो सोलार बत्ति बालेर खुट्टाको प्रयोगले कपडा सिलाउँदै गरेकी एक महिला।

सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामाग्री प्रयोगका लागि प्रोत्साहन गरिरेको छ। तर पटक पटक भइरहने अघोसित लोडसेडिङले विद्युतीय मेसिन प्रयोग गर्ने व्यवसायी झनै बढी समस्यामा छन्। बत्ती गइरहँदा दैनिक कामकाज पनि प्रभावित बन्ने गरेको धादिङबेसीका युवा व्यवसायी काजी श्रेष्ठ बताउँछन्।

श्रेष्ठले धादिङबेसीमा टेलरिङ व्यवसाय चलाउँछन्। ‘कपडा सिलाउन आउने ग्राहकलाई छिटो सुविधा दिन भनेर विद्युतीय मेसिन जडान गरियो, विद्युत आउने र जाने ठेगान नहुँदा उल्टै काममा ढिलासुस्ती हुने गरेको छ’, टेलर व्यवसायी श्रेष्ठ भन्छन्–‘कि दैनिक समय तोकेरै लोडसेडिङ गराइयोस् नत्र विद्युत आपूर्ति नियमित हुनुपर्छ।’

केही वर्ष अघि १८ घण्टासम्म लोडसेडिङ भएर बिजुली उपभोक्ताहरु हैरान हुन्थे। प्राधिरणले पूर्वसुचना दिएर दैनिक विद्युत् केटौती गरेका कारण उपभोक्ताहरु वैकल्पिक जोहो पनि गरेर बस्थे। अहिले देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन। तर दिनमै दश पटक विद्युत आउने जाने भइरहँदा काममा ठूलो क्षति व्यहोर्नु परेको धादिङबेसीमै गार्मेन्ट चलाइरहेका महिला व्यवसायी कल्पना अधिकारीको भनाइ छ।

‘प्राय सबै विद्युतीय मेसिन छन्, खुट्टाले मात्रै चलाउने मेसिन छैनन्, कालिगढ पनि अध्यारोमा बसेर खुट्टाले चलाउने मेसिन चलाउन मान्दैनन्, विद्युत अनियमित हुँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आउन लाग्यो’ उनले भनिन्। विद्युत प्राधिकरणले पनि लोडसेडिङको समय तालिका जारी गर्नु परेको छैन। बरु बर्खायाममा बढी भएको बिजुली भारत निकासी हुन थालेको छ।

यसले अर्थतन्त्रका थोरै भएपनि टेवा पुगेको छ। देशका लागि खुसीकै कुरा हो। तर झ्याप्प झ्याप्प गइरहने विजुलीका कारण आम उपभोक्ता मर्कामा छन्। नियमनकारी निकाय प्राधिकरणले भने बर्खा समय भएकाले अहिले विजुली गइरहने समस्या भएको हलुका जवाफ दिने गरेको छ। टाढाबाट विजुली आपूर्ती गर्नुपर्ने र बीच बीचमा आउने समस्याले गर्दा विजुली जाने आउने भैरहने विद्यूत प्राधिकरण धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपाले बताए।

ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढि पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने लगायतका समस्या रहेको प्राधिकरण नै स्वीकार छ। न्यौपाने भन्छन्–‘विगत वर्षको तुलनामा हावाहुरी र चट्याङ बढी भएकोले विद्युत आपूर्तिमा समस्या भएको हो।’

इन्धनको मूल्य बढेकाले बिजुलीको प्रयोग बढाउन सुझाव दिँदै आएको सरकार सामु प्राधिकरणले दिने गरेको यस्ता झिनामसिना जवाफ उपभोक्तालाई पाच्य छैनन्। राइस कुकरमा खाना बसाउन नभ्याउँदै काटिएको विजुली कुनबेला आउने हो पत्तो छैन।

‘बत्ति गएपछि प्राधिकरणको फोन प्राय लाग्दैन, ‘लागिहाले पनि त्रिशुलीबाटै गएको हो कुन बेला आउँछ थाहा भएन’ भन्ने जवाफ आउछ’, नीलकण्ठ ८ का श्याम श्रेष्ठ भन्छन्–‘राइस कुकरमा भिजाएको चामल फेरी झिकेर अर्काेमा पकउने की भोकै हिँड्ने?’ बत्ती गइरहँदा खानेकुरा फ्याक्नुपर्ने र राती सुत्नसम्म नसकिएको उपभोक्ताको गुनासो छ। लोडसेडिङ अन्त्य भएपनि अझै पनि उपभोक्ताले भरपर्दो बिजुली प्रयोग गर्न सकेका छैनन्।

प्रकाशित: २१ असार २०७९ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App