१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

रक्सोल आउने कार्गो समस्याबारे मन्त्रीको ध्यानाकर्षण

‘डस्टि कार्गो’काे बिकल्प सुक्खा बन्दरगाह बन्ला त?

नेपालका लागि सामान आउने रक्सोलस्थित रेल्वेको माल समान यार्ड। तस्विर: रितेश/नागरिक

नेपालका लागि रेलमार्गबाट रक्सोलसम्म आउने ‘डस्टि कार्गो’ आयात सम्बन्धी जटिलता समाधानका लागि नेपाली आयातकर्ता उद्योगीहरु समाधान खोज्दै काठमाडौं पुगेका छन्। अब साबिक नाकाबाट त्यसतो कार्गो ल्याउन नपाउने र एकिकृत जाँच चौकी (आइसिपी)को बाटो भएर ल्याउनु पर्ने अवस्था आएपछि बिरोध जनाएका उनीहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसँग यस विषयमा भेट गरेका हुन्।  

रक्सोलस्थित भारतीय भन्सार कार्यालयले गत मंगलवार एक पत्र जारी गर्दै जुलाई १ अर्थात गत शुक्रवारदेखी रक्सोल रेल यार्डमा आउने कार्गोलाई साबिक नाकाबाट नभई एकिकृत जाँच चौकी (आइसिपी)को बाटो भएर ढुवानीको अनुमति दिएको छ। रक्सोलस्थित भारतीय भन्सार कार्यालय कि प्रमुख रहेकी डिपुटी कमिशनर पिंकी कुमारीद्वारा हस्ताक्षरित पत्रलाई अनुसरण गर्दा रेलबाट हुने ढुवानी नेपाली आयातकर्ताले बन्द गर्नुको बिकल्प नरेहको ठहर गर्दै वीरगन्ज उद्योग वाणिज्य संघले असहमति जनाएको थियो।  

आइतवार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको नेतृत्वमा एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसँग भेटघाट गरेको छ। मन्त्री बडुले उद्योगी ब्यवसायिहरुको विषयलाई आफुले गम्भीरता पुर्वक लिएको र समाधानको लागि आवश्यक पहल गर्ने जनाएको टोलीमा सहभागि संघका उपाध्यक्ष माधव राजपालले बताए। राजपालका अनुसार मन्त्री बडुले सुक्खा बन्दुगाहको पुर्वाधार बिकास गरेर त्यहाँ ‘डस्टि कार्गो’ भित्र्याउन सक्ने बिकल्पका बारेमा समेत टोलीका सहभागि उद्योगी ब्यवसायिहरुसंग छलफल गरेका थिए।  

संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको अगुवाईमा रहेको आयातकर्ता उद्योगीहरुको उक्त टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसमक्ष लिखित पत्र बुझाउदै समस्या राखेको हो। नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङ्गमा ‘डस्टि कार्गो’को स्वरुपमा आउने औद्योगिक कच्चा पदार्थहरु रक्सौल भन्सारबाट मैत्री पुल हुँदै आयात हुँदै आएको थियो। रक्सौलस्थित भारतीय भन्सारले गत शुक्रवारदेखि रुट परिवर्तन गरेपछि रेल्वे यार्डमा आउने समान अब पुनः बजार हुदै लक्ष्मीपुर लगेर त्यहाँबाट बाइपास हुदै पुनः नेपालतर्फ आइसिपी आउने भएको छ। यसो गर्दा समय र लागत कयौं गुणा बढ्ने भएकोले आयातकर्ताहरु मर्कामा परेको वरिष्ठ उपाध्यक्ष अग्रवालले मन्त्री बडुलाई जानकारी गराए।  मैत्री पुलकै बाटोलाई स्तरोन्नति गरी प्रयोग गर्न पाउनको लागि मन्त्री बडुसँग आग्रह गरिएको टोलीमा सहभागि संघका उपाध्यक्ष माधव राजपालले बताए।  

बिकल्प हुनसक्छ सुक्खा बन्दरगाह?

सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले रक्सोलमा आउने सबै किसिमको कार्गो भित्र्याउउन आफुहरु तयार रहेको जनाएको छ। खासगरी रक्सौल रेल यार्डबाट वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योगका लागि मालसमान आयात हुने गरेको छ। त्यहाँबाट सिमेन्ट बनाउनमा लाग्ने जिप्सम तथा स्लेग, इन्धनको रुपमा प्रयोग हुने पत्थर कोइला, फलाम उद्योगको कच्चा पदार्थ आइरन ओरजस्ता औद्योगिक समान आयात हुने गरेको छ। त्यस्तै नुन, चिनी, मल, अन्य औद्योगिक फलामजस्ता बस्तु पनि त्यहाँ भएर आउने गरेको छ। अन्य सामग्री वीरगन्जस्थित सुक्खा बन्दरगाह भएर भित्र्याउन बिकल्प हुन सक्छ। र, डस्टि कार्गो भनिने जिप्सम, स्लेग, आइरन ओर र पत्थर कोइला अयातका लागि रक्सौल रेल्वे यार्डको एक मात्र भर छ भने उद्योगीहरुको दावी छ।  

‘आजको समयमा रक्सोलमा आउने जति पनि कार्गो छन त्यसलाई हामीहरु ह्याण्डिल गर्न सक्छौं केही पुर्वाधार परिमार्जनका कामहरु र केही नीतिगत पहल यसको लागि आवश्यक छ,’ कम्पनीका उच्च अधिकारी बि मोहनले नागरिकलाई भने, ‘पहिला आयातकर्ताहरु यस बिन्दुमा आउनु प¥यो, नेपालमैं सुक्खा बन्दरगाह बिकल्प छ भनेर यसको लाभ लिन सक्नु प¥यो, हामी चाहिँ तयार छौं।’ रक्सोलमा महिनाको ३० देखी ३५ रेकसम्म नेपाली कार्गो आउने गरेको छ। उक्त अनुपातको थप कार्गो सुक्खा बन्दरगाहले ह्याण्डिल गर्न सक्नेमा राजपालले भने सन्देह जनाए।  

प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले भने यसको लागि सक्षम रहेको बताएको छ। रेल्वेबाट तेस्रो मुलुक तथा भारतका समानहरु भित्रिने वीरगन्जमा रहेको सुख्खा बन्दरगाहको भौतिक पूर्वाधार तथा संरचना विकासलाई प्राथमिकतामा राख्न वीरन्जका उद्योगहरुले पनि मन्त्री बडुसमक्ष माग राखे। सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकीको बीचमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको ६२ बिघा जग्गालाई ‘डस्टि कार्गो’ ब्यवस्थापनमा प्रयोग गर्नुपर्ने उनीहरुले सुझाव दिए। उक्त जग्गा आधा दशकदेखि अहिले अधिग्रहण प्रक्रियामो छ। जग्गाधनीहरुको मोअब्जा बितरण सुस्त भएकोले अधिग्रहण अलमलिएको हो।  

 वीरगन्ज उदोग वाणिज्य संघको टोली मन्त्री बडुसंग भेंटघाट गर्दै। तस्विर सौजन्य वी.उ.वा.संघ।  

प्रकाशित: १९ असार २०७९ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App