१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ठेक्का रकम मिलेमतोमा मिनाहा, छानबिन गरी कारबाही गर्न मेयरको माग

अनियमितता छानबिनको माग प्रस्तुत गर्दै लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी। तस्विरः नागरिक

लहान नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लगाएको विभिन्न शीर्षकमा गरेको ठेक्का सम्झौता अनुसारको रकम भुक्तानी लिनुको साटो मिलेमतोमा ठेकेदारलाई सम्झौता रकम मिनाहा गरिदिएको खुलेको छ। गत वर्षको ठेक्का अन्तर्गत नगरपालिकाले १० जना ठेकेदारलाई मिलेमतोमा रकम मिनाहा गरेको खुलेको हो।  

लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीका अनुसार ८० जना ठेकेदार मध्ये १० जनालाई ठेक्काको ६० प्रतिशतसम्म रकम मिनाहा गरिनुले मिलेमतो भएको प्रष्ट हुन्छ। मेयर चौधरीले नागरिकसँग भने, ‘यसलाई ठेक्का रकम मिनाहा मात्रै भन्न मिल्दैन, यो सरासर भ्रष्टाचार हो। सम्बन्धित निकायले छानबिन गरी दोषीउपर कारबााही गर्नुपर्छ,' उनले भने।  

मेयर चौधरीका अनुसार नगर सभाको निर्णय केलाउँदा नीतिगत निर्णय गरेर करोडौँ रूपैयाँ भ्रष्टाचार गरेको पाएको छुँ,' उनले भने, ‘भ्रष्टाचार छानबिन गर्ने निकायलाई तथ्य छानबिन गरी कारबााही अघि बढाउन आग्रह गर्दछु।’ यस नगरमा भएका भ्रष्टाचार छानबिन भए थुप्रै रूपैयाँ राज्यकोषमा जम्मा हुने उनले बताए।

२०७८ पुस ३० गतेको नवौँ नगर सभाबाट १० वटा ठेकेदारलाई १ करोड ३१ लख ५१ हजार ७४२ मिनाहा गरेको पाइएको छ। यस वर्षमा ८० जनाले विभिन्न ठेक्का पाएका थिए।  

लहान नगरपालिका ७ का जयकाली सप्लायर्सले ८३ लाख २१ हजार १११ रुपैयाँमा नगरपालिकासँग वातावरण नदी नियन्त्रणको ठेक्का सम्झौता गरेको थियो। त्यसलाई ५४ लाख ५४ हजार २४७ रुपैयाँ मिनाहा गरेको छ। यसै सप्लायर्सले नदी जन्य पदार्थको उत्खनन तथा निकासीका लागि नगरपालिकासँग १ करोड ३२ लाख ५१ हजार १ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ५१ लख ३९ हजार ४०६ रुपैयाँ मिनाहा पाएको छ।

गुदरी हाटबजार सेवा शुल्क वापत १९ लाख ५५२ रुपैयाँमा लहान १९ का एआर कन्स्ट्रक्सन लहानले नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले कन्स्ट्रक्सनलाई ७ लाख ९६ हजार ९६ रुपैयाँ मिनाहा गरेको छ।

खसीबाख्रा हाटबजार सेवा शुल्क वापत लहान ९ का मोहम्मद इसा मियाँले १५ लाख ५५१ रुपैयाँमा नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई ५ लाख २३ हजार ६० रुपैयाँ मिनाहा गरेको छ।  

बैलहाट पशुबजारको ठेक्का लहान नगरपालिका ७ का जयनाथ प्रसाद रौनियारले ५२ हजार १५५ रुपैयाँमा सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई २६ हजार ७२० रुपैयाँ मिनाहा गरेको छ। खसी बाख्रा हाटबजारको ठेक्का १३ लाख ९ हजार ९० रुपैयाँ मा पाएका उनै रौनियारले यस ठेक्कामा समेत ३ लाख ७५ हजार ४०१ रुपैयाँ मिनाहा पाएका छन्।

लहान नगरपालिका ६ का अरुण कुमार महतोले १३ लाख ५१ हजारमा बस पार्कको ठेक्का सम्झौता गरेकोमा ३ लाख ७६ हजार ४२३ रुपैयाँ मिनाहा पाएको छ।  

लहान नगरपालिका ५ का पशुपति साहले गुदरी हाटबजार सेवा शुल्कको ठेक्का १६ लाख ४५ हजार ३६३ रुपैयाँमा पाएको थियो। उनले नगरपालिकाबाट ४ लाख २९ हजार ४८८ रुपैयाँ मिनाहा पाएको छ। पशुपति साहले नै गुदरी हाटबजार सेवा शुल्कको ठेक्का ५१ सयमा लिएको थियो। नगरपालिकाले उनलाई यो ठेक्काको सम्पूर्ण रकम मिनाहा गदिदिएको पाइएको छ।  

लहान नगरपालिका ५ का विमलादेवी रायले गुदरी हाटबजार सेवा शुल्कको ठेक्का ५० हजार १०० रुपैयाँमा सम्झौता गरेको थियो। उनलाई नगरपालिकाले २५ हजार ८०१ रुपैयाँ मिनाहा गरिदिएको पाइएको छ।

मेयर चौधरीका अनुसार सम्झौताअनुसारको ठेक्का रकम मिनाहा गर्नुको यथेष्ठ कारण नै उल्लेख नगरी पूर्व मेयरले आफ्ना नजीकका मान्छेलाई रकम मिनाहाको नाममा अनियमितता गरेको स्पष्ट हुन्छ। 'कोरोनाको आडमा रकम मिनाहाको लाभ सम्पूर्ण ठेक्केदारलाई दिइएको भए नियमित भन्ने आधार थियो,' उनले भने, ‘आफ्ना नजदिकीसँग मिलेमतो गरी रकम मिनाहा दिनु अनियमित हो, छानबिन हुनुपर्छ।’

प्रकाशित: १६ असार २०७९ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App