१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई सधैं मलको पिरलो: नेपालमा पाइँदैन भारतबाट ल्याउँदा प्रहरीले कमिसन माग्छ

असार पन्ध्र लागी सक्यो। धान बाली लगाउन पुग्ने गरी पानी परीरहेको छ। किसानका खेतमा धानको व्याड पनि तयार छ। तर धान बालीका लागि आवश्यक पर्ने मलको अहिलेसम्म हाहाकार छ।  

गहुँ र मकैकालागि प्रयाप्त मल नपाएका किसानले धानबालीकालागि समेत नपाएपछि निरास छन्। असारे झरी सुरु भएपछि रोपाइँमा गर्नुपर्ने भन्दै किसानहरु गत जेठदेखि नै मल खोज्न भैरहवा धाइरहेका थिए। तर एक महिनादेखि धाउँदा पनि किसानले मल पाएनन्। लुम्बिनीका ११ जिल्लासहित, गण्डकीको प्युठान, स्याङ्गजा र पूर्वी नवलपरासीमा समेत मल वितरणको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम अहिले पनि रित्तै छ। मल नपाएपछि कम्पनी अन्तरगतका बिभिन्न जिल्लाका डिपो र सहकारी संस्थाका किसानहरु भैरहवाबाट रित्तै फर्कन बाध्य छन्।  

समयमै मलको आपूर्ति नहुँदा त्यसको मारमा किसानहरु परेका छन्। केही किसान अहिले पनि रोपाइँ छोडेर मल खोज्न धाइरहेका छन्। केहीले मल बिनै रोपाइँ गर्नु परेको गुनासो गरेका छन्। रुपन्देहीको तिलोत्तमा १५ सखुवानीका किसान विजय चौधरीले सधैँ खेती लगाउने बेला पानी र मलको अभाव झेल्नु परेको गुनासो गरे। यसअघि मकै र गहुँकालागि पनि मल नपाएपछि भारतीय बजारबाट महंगोमा किनेर छरेको भन्दै उनले धान बालीका लागि पनि भारतबाट तस्करी गरी ल्याइएको मल महंगोमा किन्नु पर्ने बताए। ‘सरकारले किसानलाइ अनुदानको मल दिन्छ भन्छन् तर हामी जस्ता किसानले कहिल्यै पाउँदैनौं। गहुँ, मकै मा पनि मल राख्न पाएनौं अहिले पनि पारी (भारत) नगइ मल नपाइने भयो,’  चौधरीले भने।  

अनुदानको मल नपाएपछि सिमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट महंगोमा कमसल मल ल्याउने गरेका छन्। तर त्यसरी मल ल्याउँदा भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाल प्रहरी र सशस्त्रले उल्टै दुख्ख दिने गरेको गुनासो पनि किसानको छ। ‘कि हामीलाइ समयमै मल मल देउ हैन भने भारतबाट किसानले ल्याउने एक दुइ बोरा मलमा पुलीसले कमिसन माग्ने नदिए साइकल मल खासेर लैजाने काम बन्द गर’ चौधरीले आक्रोश पोखे।  

चौधरीले मलकालागि कृषि सामाग्री कम्पनी भैहरवा र घर नजिकैको कृषि सहकारीमा थुप्रै पटक धाउदा पनि नपाएको बताए। यो समस्या रुपन्देहीका चौधरीको मात्रै होइन।लुम्बिनी प्रदेशका सबै जसो जिल्लाहरुमा अहिले मलको हाहाकार छ। मल वितरणको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडको  ७० प्रतिशत र साल्ट ट्रेडिङको ३० प्रतिशत हो। धान बालीकालागि आवश्यक पर्ने डिएपी,पोटास र युरीया मध्ये कृषि सामाग्री कम्पनी भैरहवासंग अहिले जम्मा ६ सय ३५ टन  पोटास १ हजार टन डिएपी मौज्दात छ।  

युरीया मलको मौज्दात शून्य छ। कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायणप्रसाद शर्माले युरिया मलको मौज्दात शून्य रहेको र डीएपी पनि प्रयाप्त नभएको बताए। शर्माले युरीया यो महिनाको अन्त्य या साउन पहिलो सातासम्म आउने जानकारी दिए। साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवाका प्रमुख हरि चन्द्र श्रेष्ठले पनि माग अनुरुप नभएपनि उपलब्ध मल कोटा अनुसार वितरण गरीएको बताए।  

धान बालीका लागि लुम्बिनी प्रदेशमा युरिया ५० हजार टन र डिएपी ३० हजार टन माग छ। तर प्रदेशका लागि जम्मा  ३० हजार टन युरिया र २० हजार टन डिएपीको कोटा छुटयाइएको छ। तर त्यही कोटा अनुसारको मल पनि समयमा आपूर्ति नहुँदा समस्या भएको कम्पनीले जनाएको छ। मागको झण्डै आधा मात्रै मल आपूर्ति हुँदा वितरणमा समेत समस्या हुने गरेको प्रादेशिक कार्यालय भैरहवाका प्रमुख शर्माले बताए। कृषि सामाग्री कम्पनी भैरहवाबाट लुम्बिनी प्रदेशका बाहेक सुदुर पश्चिम र कर्णाली प्रदेशका डिपोमा पनि मल जान्छ।

यो कार्यालय अन्तर्गत मलको माग बार्षिक १ लाख टन रहेको छ। तर सरकारले भने प्रादेशिक कार्यालयका लागि जम्मा बार्षिक ४४ हजार ३ सय मेट्रिक मलको कोटा छुट्यएको छ। त्यस्तै ६० हजार टन डीएपीको माग रहेको प्रदेशकालािग सरकारले जम्मा ३० हजार ४५० टन आपूर्तिको कोटा छुट्याएको छ। भने ५ हजार टन माग रहेको पोटास जम्मा २ हजार ३९८ टन पोटास मल आपूर्ति हुने गरेको छ।

कृषि मन्त्रालय लुम्बिनी प्रदेशका सचिव यामनारायण देवकोटाले माग अनुरुप प्रयाप्त मन आपूर्ति हुन नसकेपनि उपलब्ध मल माग र आवश्यकताको आधारमा वितरणको व्यवस्था मिलाइने बताए। कृषि सामाग्री कम्पनी लि. प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख शर्माले नेपालमै मल उद्योग स्थापना गरी उत्पादन नथाले सम्म मलको अभावको समस्या दिर्घकालिन रुपमा समाधान नहुने बताए। 

प्रकाशित: १४ असार २०७९ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App