१६ चैत्र २०८० शुक्रबार
अर्थ

उदयपुरका ४ पालिकाको नीति कार्यक्रम र बजेट पारित

रौतामाईको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष वीरेन्द्र मगर। तस्विरः महेश्वर/ नागरिक

उदयपुरका ४ गाउँपालिकाको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट तथा नीति कार्यक्रम पारित भएको छ। स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेभित्र नीति कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने प्रावधान अनुसार तोकिएकै मितिमा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकोमा ४ गाउँपालिकाको पारित भएको हो।  

प्रस्तुत नीति कार्यक्रम कतिपय स्थानीयतहले सोही दिन पारित गरेका हुन् भने कुनैले भोलिपल्ट र केहीको भने पारित हुन बाँकी छ। पारित हुन बाँकी पालिकाको बजेट तथा नीति कार्यक्रममाथि छलफल चलिरहेको छ। रौतामाई गाउँपालिकाले प्रस्तुत गरेकै दिन नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ भने ताप्ली र उदयपुृरगढी तथा लिमचुङबुङले प्रस्तुत गरेको भोलिपल्ट पास गरेका छन्।  

रौतामाईले आगामी वर्षका लागि प्रस्तुत ५७ करोड ३४ लाख १६ हजार ३ सय ३० रुपैंयाको बजेटसहित नीति कार्यक्रम सर्बसम्मत पारित गरेको जनाएको छ। गाउँपालिकाका ८ वडालाई ४ करोड ८० लाख बजेट बिनियोजन गर्दा रौतामाईले आर्थिक विकासतर्फ १ करोड ७ लाख ९९ हजार बिनियोजन गरेको छ। त्यस्तै, सामाजिक विकासतर्फ १ करोड, भौतिक पुर्वाधार निर्माण ४ करोड ३० लाख बिनियोजन गरेको गाउँसभामा वाताबरण तथा विपद व्यवस्थापनतर्फ ५० लाख बिनियोजन गरेको छ।  

त्यसैगरी सुशासन तथा संस्थागत विकासतर्फ गाउँपालिकाले ११ लाख बिनियोजन गरेको छ भने अन्य अत्यावश्यक शीर्षकलाई पनि प्राथमिक्ता दिएर बजेट बाँडफाँड गरेको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताएका छन्। अध्यक्ष गमरले नीति तथा कार्यक्रमतर्फ पहिलेदेखि सञ्चालनमा रहेका राम्रा कार्यक्रमहरुलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति लिएको बताए। जस अनुसार बिगतमा सुरु भएका राम्रा र जनपक्षीय कामहरुलाई निरन्तरता दिदै अघि बढाउने निर्णय गाउँसभाले गरेको अध्यक्ष मगरले बताए।  

बिगत दुईववर्षयता सञ्चालन हुँदै आएको ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम’लाई यसवर्ष पनि निरन्तरता दिइने भएको छ। यसलाई अझ थप प्रभावकारी बनाउने नीति पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए। उनका अनुसार गाउँपालिकाले प्रभु र मेगा बैंकसँग समन्वय गर्दै वडाको पायक पर्ने ठाउँमा केन्द्र राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति लिएको छ। रौतामाईलाई सुशासन र प्रविधिमैत्री गाउँपालिका बनाउने नीति पास गरेको गाउँसभाले पिछडिएका बर्ग, समुदाय, क्षेत्र र लिङ्गको उत्थानमा विशेष ध्यान दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ।  

पछि परेका÷पारिएका बर्ग, समुदाय र क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउनका लागि सभाले यस्तो नीति पास गर्दै गाउँपालिकालाई सम्बृद्र र विकसित गर्ने उदेशयले कृषि, पशु, पर्यटन, सहकारीका साथै पूर्वाधार विकासमा गाउँपालिकाले जोड दिने भएको छ। सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै प्रभावकारी जनताको सेवा प्रवाह गर्न गराउन राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्ड सजायको व्यबस्था गर्ने नीति पनि गाउँसभाले पास गरेको गुरुङले बताए।  

गाउँसभाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिक्तामा राख्ने नीति पनि अघि सारेको छ। उपाध्यक्ष भुपिन्द्र थापाका अनु्सार गाउँपालिकालाई आगामी दिनमा प्रविधिमैत्री र गुणस्तरीय बनाउँदै लाने नीति पास भएको छ। रौतामाईले तोकिएको समयमै नीति कार्यक्रम तथा बजेट पेश गरेर सौहाद्र्रपूर्ण छलफल गरी सर्वसम्मत पारित गरेको पनि उपाध्यक्ष थापाले बताए।  

यता उदयपुरगढी गाउँपालिकाको पनि नीति कार्यक्रम र बजेट पारित गरेको छ। गाउँपालिका अध्यक्ष मानबकादुर केप्छाकी मगरका अनुसार आर्थिक वर्ष ०७९÷८० का लागि ७५ करोड ५० लाख ११ हजार रुपैंया बजेटसहितको नीति कार्यक्रम १० गते प्रस्तुत गरेकै दिन पारित गरेको हो। बजेट प्रस्तुत गरेर छलफल गरेपछि सोही दिन सर्वसम्मत पारित भएको अध्यक्ष मगरले बताए।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईका अनुसार आगामी वर्षका लागि पारित बजेट पुँजीगततर्फ २६ करोड ३८ लाख ८८ हजार रहेको छ भने चालुतर्फ ४८ करोड ७१ लाख २३ हजार रहेको छ। कुल बजेटको ३५.१४ प्रतिशत हिस्सा पुँजीगततर्फ र ६४.८६ प्रतिशत हिस्सा चालुतर्फ बिनियोजन भएको अधिकृत राईले बताए। उदयपुरगढीले पनि बिगतका राम्रा कामको निरन्तरता र नयाँ तथा सिर्जनसिल कार्यहरुलाई प्राथमिक्ता दिएर बजेट तथा नीति कार्यक्रम पारित गरेको अधिकृत राईले बताएका छन्।  

उता ताप्ली र लिमचुङबुङ गाउँपालिकाले पनि बजेट तथा नीति कार्यक्रम पारित गरेको जनाएका छन्। ४ नगरपालिकाको बजेट तथा नीति कार्यक्रममाथि भने छलफल चलिरहेको छ। त्रियुगा नगरपालिका, चौदण्डीगढी, ताप्ली र बेलका नगरपालिकाको बजेट तथा नीति कार्यक्रम तोकिएकै मिति गत १० गते प्रस्तुत भएको तर, पारित हुन बाँकी रहेको छ। ती स्थानीयतहको बजेट पनि आईतबार साँझसम्ममा पारित हुने गरी छलफल अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर बिकले बताएका छन्।

प्रकाशित: १२ असार २०७९ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App