४ वैशाख २०८१ मंगलबार
अर्थ

१९ लाख बढीको चिनी र दाल बरामद

प्रहरीले बरामद गरेको चिनी।

प्रहरीले नेपालगन्जबाट भन्सार छली गरिएको ठूलो परिमाणको चिनी र दाल बरामद गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ नन्दनी मिलको प्रांगणबाट प्रतिबोरा ५० किलोग्रामका पाँच सय २० बोरा चिनी र प्रतिबोरा ३० किलोग्रामका ५१ बोरा बोडीको दाल बरामद गरेको हो। पाँच सय २० बोरा चिनीको अन्दाजी मूल्य १८ लाख २० हजार र ५१ बोरा दालको अन्दाजी मूल्य एक लाख सात हजार गरी जम्मा १९ लाख २७ हजार हुन आउने प्रहरीले जनाएको छ।

नन्दनी मिलको प्रांगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा शुक्रबार साँझ ७ बजेको समयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोली तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त समान बरामद गरेको हो। उक्त सामान भन्सार छली चोरी पैठारी गरी भण्डारण गरिराखेको र खरिद बिक्रीको कुनै कागजात नभएको प्रहरीले जनाएको छ।

बरामद समान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ। नेपालगन्ज भन्सारदेखि धम्बोझीसम्म सात ठाउँमा प्रहरी चेकिङ हुने गरेको छ। त्यतिका प्रहरी चेकिङका बीच पनि यति ठूलो परिमाणको समान बरामद हुनुले प्रहरीको भूमिकामा प्रश्न उठाएको छ।

नन्दनी मिलका सञ्चालकले अर्कै व्यक्तिले भाडामा उक्त समान राखेको प्रहरीलाई बताएका छन्। यो समाचार तयार पार्दासम्म समान दाबी गर्ने व्यक्ति सम्पर्कमा नआएकोले प्रहरीले सामानलाई बेवारिसे भनेको छ।

प्रकाशित: ११ असार २०७९ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App