coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

परियोजना समापन अवसरमा सहभागी।

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।

सहभागीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को लेभल–१ (४ सय ३० घण्टा) को तालिम प्रदान गरिएको केन्द्रीय चिया सहकारी संघका सूचना प्रविधि अधिकृत चन्द्र लोक्तामले जानकारी दिए।

‘चिया क्षेत्रमा प्राविधिक जनशक्ति नहुँदा किसानलाई सास्ती भइरहेका बेला संघले तालिम प्रदान गरेको छ,’ उनले भने, ‘तालिम लिएको जनशक्तिले अरू किसानलाई पनि प्राविधिक सहयोग गर्नेछ।’ तालिममा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो।

एक सय ८९ पुरुष र १ सय १ महिला तालिममा सहभागी भएको उनले बताए। ‘तालिमप्राप्त जनशक्तिलाई विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी रोजगारीमा आवद्ध गराउँदैछौं,’ लोक्तामले भने, ‘अहिले चिया मुख्य उत्पादन भइरहेको र नयाँ खेती सुरु भएका ठाउँका किसानलाई प्राविधिक तालिममा सहभागी गराइएको थियो।’

सहभागीलाई जीवनोपयोगी, वृत्ति–विकाससम्बन्धी परामर्श र उद्यमशीलता विकास तालिम प्रदान गरिएको उनले जनाए। संघका महासचिव रविन राईले देशमै चियाका लागि यो जनशक्ति पहिलोपटक उत्पादन भएको जनाए। ‘चिया उत्पादन र प्रशोधनकै लागि चाँहि यो खालको तालिम देशमै पहिलो पटक भएको हो,’ उनले भने, ‘सिटिइभिटीको कोर्सअनुसार तालिम सम्पन्न भएको छ।’

तालिममा झापा, इलाम, बाग्लुङ, भोजपुर, धनकुटा, खोटाङ, ललितपुर, मोरङ, नुवाकोट, संखुवासभा, सोलुखुम्बु, स्याङ्जा, सुनसरी र तेह«थुमका किसान सहभागी भए। परियोजना समापन अवसरमा सहभागी चियाका जानकार, उद्योगी, किसान र सरोकारवालालगायतले चिया उत्पादनदेखि उपभोक्तासम्म पुर्‍याउने सबै काममा समस्या झेल्नुपरिरहेको गुनासो गरे।

परियोजना समापन अवसरमा सहभागी चिया किसानले भर्खरै तालिम लिएको जनशक्तिलाई मान्यताप्राप्त सरकारी निकायबाट प्रमाणपत्र दिएर उनीहरूको व्यावसायिक करिअर बढाउनुपर्ने धारणा राखे।

यस्तै किसान नरेन्द्र गुरुङले चिया क्षेत्रमा प्राविधिक नपाएर समस्या भएका बेला तालिम सञ्चालन गरी दक्षता अभिवृद्धि गर्नु राम्रो भएपनि उनीहरूलाई प्राविधिककै रूपमा पहिचान हुनेखालको प्रमाणपत्र दिएर प्रोत्साहन गर्न आग्रह गरे। चिया प्राविधिक सोनाम लामाले पनि चियाका दक्ष प्राविधिकलाई स्थानीय सरकार वा चिया बुझेको नजिकको निकायले मान्यता दिनुपर्ने बताए।

जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले चिया किसानलाई अहिले पनि मल, अनुदानलगायतको अभाव रहेको भन्दै सरकारले किसानलाई सहयोग गर्नुपर्ने बताए। ‘मैले त सहजीकरण र समन्वयमात्रै गर्ने हो, पालिका र माथिल्ला सरकारहरूले किसानलाई प्रत्यक्ष लाभ पुग्नेगरी नीति, कार्यक्रम र बजेट ल्याउनु आवश्यक छ,’ उनले भने, ‘किसानलाई प्रोत्साहन र सहयोग गर्नसकेमात्रै उत्पादन र गुणस्तर वृद्धि गर्न सकिन्छ।’

इलाम नगरपालिकाका प्रवक्ता तथा वडा ४ का अध्यक्ष नुतनदेव दुलालले चिया उत्पादनदेखि गुणस्तर प्रमाणीकरणमा समेत समस्या रहेको बताए। ‘चिया किसानका समस्या धेरै छन्, हामी जनप्रतिनिधि धेरैलाई किसानका समस्या थाहा छ,’ उनले भने, ‘नगरपालिकाले पनि सहकारीमार्फत् नै किसानलाई सहयोग गर्ने नीति बनाएको छ।’

जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष लीला थापाले किसानको नाममा भाषण गर्ने तर उनीहरूका समस्या समाधान नगर्ने सरकारहरूको आलोचना गरे। ‘स्थानीय सरकारले पनि किसानको पक्षमा काम नै गर्न चाहेको हो भने चिया विकास बोर्ड यहीं गठन गर्न, चियाबारे विशेष नीति बनाउन केले छेकेको छ?’ उनले भने, ‘अहिले उत्पादन भएको प्राविधिक जनशक्तिलाई पनि किसानसम्म पुर्‍याउने काम स्थानीय सरकारको हो।’

दक्षताको सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र युरोपियन युनियनको २ करोड ८५ लाख रुपैयाँ आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिएको हो। १ वर्ष ९ महिनाको अवधिमा चलेको परियोजनाका लागि संघले पनि २६ लाख रुपैयाँ लगानी गरेको छ। परियोजना संयोजक सोम आचार्यले परियोजनाको मुख्य उद्देश्य चिया क्षेत्रमा सीपयुक्त जनशक्ति उत्पादन गर्नु नै भएको बताए।

प्रकाशित: ११ असार २०७९ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App