१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बीरगंजको बजेट ३ अर्ब ३३ करोड

निशुल्क विद्युत र सिंचाई, सहुलियमा मल र बिउ

यहाँस्थित नगरसभागृहमा शुक्रवार भएको वीरगन्ज महानगरपालिकाको ११औँ नगरसभा अधिवेशनको उद्घाटन सत्र। तस्विरः रितेश त्रिपाठी

कर नीतिमा हेरफेर र नयाँ खाले बिकास योजनासहित वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाको शुक्रबार भएको ११औँ नगरसभा अधिवेशनमा उपप्रमुख ईम्तियाज आलमले आगामी वर्ष २०७९/०८०का लागि बजेट प्रस्तुत गरेका हुन्।  

नगरप्रमुख राजेशमान सिंहको सभाध्यक्षतामा, ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगन्ज महानगर’ नारासाथ प्रारम्भ भएको नगर सभामा उपप्रमुख ईम्तियाज आलमले चालूतर्फ दुई अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ बिनियोजन गरिएको बजेट प्रस्तुत गरेका हुन्। कुल बजेटमा चालूतर्फ ६२.०४ प्रतिशत र पुँजीगततर्फ ३७. ९ ६ प्रतिशत बजेट विनियोजन गरिएको हो।  

प्रस्तुत भएको बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपूरक, सशर्त र विशेष अनुदानसमेत गरी एक अर्ब ७० करोड ६२ लाख ५८ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जले प्रदेश सरकारबाट कुल अनुदान सात करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाइएको छ। महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ।  

त्यसतै वीरगन्ज महानगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैङ्कबाट बारह करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमानहित बजेट पेस गरेको हो। 

प्रस्तुत बजेटमा अपुग हुने चौवालिस करोड १९ लाख ५९ हजार रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने गरी बजेट सार्वजनिक गरिएको छ।  वीरगन्ज महानगरपालिकाले पूर्वाधार तर्फ एक अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ उन्नानसय करोड ३५ लाख ७९ हजार, शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न छ्यासट्ठी करोड ३८ लाख ३५ हजार, स्वास्थ्यतर्फ एक करोड २० लाख ३० हजार, कृषितर्फ तीन करोड २६ लाख ९० हजार र सूचना प्रविधि र सञ्चारतर्फ एक करोड ५ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ। 

त्यसैगरी सेवा प्रवाह सङ्गठन सुद्दृढीकरणतर्फ तिरान्नबे करोड ५३ लाख २१ हजार, सरसफाइ व्यवस्थापनमा आठ करोड ९१ लाख, वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि पाँच करोड ९९ लाख, आर्थिक विकासका लागि दश करोड ४२ लाख ९० हजार रुपैया राखिएको छ। नगरसभामा नगरप्रमुख सिंहद्वारा प्रस्तुत वर्ष २०७९/०८०को नीति अन्तरगत विभिन्न महत्वकाँक्षी कार्यक्रमहरुलाई राखिएको छ। 

आगामी साउन १ गतेदेखि नगरका ३० युनिटसम्म विद्युत खपत गर्ने गरीब बिपन्नका महशुल महानगरपालिकाबाट बेहोर्ने, कृषी मिटरको सम्पुर्ण विद्युत महशुल महानगरपालिकाले बेहोर्ने, कृषकलाई सहुलियत दरको बिउ र मल उपलब्ध गराउने, कृषी र पसुपन्छी पालनमा बिमामा अनुदान दिने, खेतियोग्य जग्गामा मालपोत बाहेक कर हटाइने, गरिब, जेहेन्दार, अपाङ्ग, असहाय तथा सिमान्तकृत समुदायका विद्यार्थीलाई छात्रबृति, खेलकुद प्रशिक्षण संस्थानको स्थापना, स्थानीय पहिचानको रुपमा भोजपुरी भाषा साहित्य र कलाको प्रबद्र्धन जस्ता अवधारणहरुले ठाउँ पाएका छन्।

महिला, बालबालिका, जेष्ठ नागरिक र युवा केन्द्रित नीतिहरु म्हानगरपालिकाले अघिसारेको छ। सुशासन तथा जनमुखी प्रसाशन, करको दर घटाउदै दायरा बढाउने, सरसफाईमा जोड, संस्कृति तथा पर्यटनका कार्यक्रम, पर्यावरण संरक्षण यातायात ब्यवस्थापन, तथ्याकीकरणजीता आकर्षक विषयवस्तुहरु समेटिएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता, संस्थागत विकास, राजश्व तथा अन्य आय सङ्कलन व्यवस्थापनका लागि बजेटमा पनि व्यवस्था गरिएको छ।  

बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले सहजिकरण गरेको बीरगन्ज महानगरपालिकाको नगरसभा अधिवेशन उद्घाटन गर्दै नगरप्रमुख सिंहले वीरगन्जको बृहत्तर विकास र औद्योगीकरणलाई सँगसँगै अगाडी बढाउने अठोट रहेको बताए। शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार, कृषि सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको उनले जानकारी दिए। महानगरपालिकाका ३२ वडाका अध्यक्षहरू, बोर्ड सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका कर्मचारी सञ्चारकर्मी लगायतको उद्घाटन सत्रमा सहभागिता रहेको थियो। 

प्रकाशित: १० असार २०७९ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App