१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीद्वारा विश्व बैंकको क्षेत्रीय कार्यालय उद्घाटन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित विश्व बैंकको पुननिर्मित क्षेत्रीय कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रूपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य सञ्चालन हुनेछ। नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रूपमा रहीआएको बताए।

सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनाहरूमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ।

कार्यालयको विस्तार र स्तरोन्नतिसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने विश्वास मन्त्री शर्माले व्यक्त गरे। ‘विश्व बैंकले वित्तीय स्रोत लगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ। विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रूपमा चिनिदै आएको छ’ उनले भने-‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु।’

विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नेपालमा काम शुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माले बताए। नयाँ क्षेत्रीय कार्यालय अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ।

प्रकाशित: ८ असार २०७९ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App