२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे

विकासको पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गरेको छ। विभागले चालु आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर चालु आव सकिन एक महिना मात्रै बाँकी छ। यो अवधिमा ६ सय किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ।  

यो धेरै वर्षपछिको सबैभन्दा कम प्रगति हो। सडक बनाउने र पुल निर्माण गर्ने विभागको मुख्य काम हो। सरकारले चालु आवमा विभाग मातहत बन्ने आयोजनाका लागि एक खर्ब २९अर्ब रूपैयाँ बजेट दिएको थियो तर आर्थिक वर्ष सकिन तीन साता बाँकी हुँदा विभागले ४१ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गर्न सकेको बताए । ‘निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि र निर्माण व्यवसायीको कन्स्ट्रक्सन होलिडेको कारणले चालु आवमा सोचेअनुसारको कालोपत्रे गर्ने काम हुन सकेन,’ उनले भने, ‘अहिले मध्यपहाडी र हुलाकी राजमार्गमा फाटफुट रूपमा मात्रै काम भएकाले लक्ष्य अनुसारको काम नहुने लगभग निश्चित जस्तै छ।’  

सडक विभागले चालु आवमा सबै खालका सडक गरेर १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सरकारले चालु आवमा तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेकोमा हालसम्म एक सय १ पुल मात्रै तयार पारेका छन्। चालु आवको अन्त्यसम्म दुई सय पुल निर्माण सम्पन्न हुने अनुमान गरेको छ। महानिर्देशक थापाले चालु आवमा करिब एक सय वटा पुलको सुपर स्ट्रक्चर र रेलिङ लगायतका संरचना निर्माण गर्नुपर्ने भएकाले पनि थप एक सय वटा पुल निर्माण सम्पन्न हुने दाबी गरे।

विभागले चालु आवको अन्त्यसम्म ६० देखि ६५ प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरेको छ। ‘चालु आर्थिक वर्षमा अपेक्षित गतिमा पूर्वाधार निर्माण नहुनुमा मुख्य गरी सरकारले तीन महिनापछि प्रतिस्थापन विधेयक ल्याउँदा बजेट खर्च गर्न समस्या भयो,’ उनले भने, ‘अर्कातर्फ कोभिड १९ को असर कायमै रहनु, रुस र युक्रेनको युद्धका कारणले निर्माण सामग्रीको मूल्य अचाकली वृद्धि र निर्माण व्यवसायीले गत वैशाखदेखि गरेको आन्दोलनकै कारणले गति लिन नसकेको हो।’  

आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्मको अवधिमा भने संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको थियो। सोही अवधिमा पाँच सय ४ किलोमिटर ग्राभेल र दुई सय ८४ किलोमिटर सडक कच्ची सडक निर्माण भएको छ। आथिक सर्वेक्षण प्रतिवेदन अनुसार हालसम्म संघीय सरकार मातहत फागुन मसान्तसम्म कुल १६ हजार ९ सय ३९ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यसैगरी ८ हजार एक सय ११ किलोमिटर सडक ग्राभेल र ८ हजार ८ सय २१ किलोमिटर सडक कच्ची सडक रहेको छ। गत आर्थिक वर्षमा १८२ वटा पुल निर्माण भएका थिए।  

चालु आवको ८ महिनाको अवधिमा भने ८० वटा पुल निर्माण सम्पन्न भएका छन्। चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा प्रादेशिक र स्थानीय स्तरमा सबैखालका गरेर ९ सय २१ किलोमिटर सडक विस्तार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा प्रदेशिक र स्थानीय तहमा ६३ हजार ६ सय ९६ किलोमिटर सडक पुगेको थियो । कोभिड १९ को महामारी बावजुद पनि गत आर्थिक वर्षमा लक्ष्यको ८५ प्रतिशत सडक कालोपत्रे भएको थियो। विभागले आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर विभागले सो अवधिमा ११ सय ९० किलोमिटर सडक कालोपत्रे गरेको थियो।  

विभागले गत आवमा लक्ष्यको ८५ प्रतिशत सडक कालोपत्रे गरेको थियो। विभागले गत आवमा पुँजीगत वार्षिक बजेट (संशोधित) सहित एक खर्ब १८ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। विभागले सो अवधिमा संशोधित बजेटको आधारमा ६६.२७ प्रतिशत मात्रै खर्च गरेको थियो। विभागले वार्षिक लक्ष्यको भौतिकतर्फ ७२.४७ प्रतिशत उपलब्धि हात पारेको थियो।

प्रकाशित: ७ असार २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App