नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ जमुनाह–सुर्खेत राजमार्ग (सुर्खेत रोड) कर्णाली विकास बैंकको सामुन्ने रहेको कल्भर्ट भासिएको छ। कालोपत्रे गरिएको केही महिनामै फेरि सोही ठाउँमा भासिएको हो।
कल्भर्ट भासिएर मुनि रहेको पानीको पाइप पनि फुटेर पानी जमेको छ। उक्त भासिएको ठाउँमा सुधार गरिएन भने दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको जोखिम उच्च छ। सुर्खेत रोड विस्तार हुनुअघि उक्त ठाउँमा एउटा कल्भर्ट थियो। सडक विस्तारका क्रममा उक्त कल्भर्ट भत्काएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्नेमा त्यसो नगरी पुरानो कल्भर्टको संरचनालाई जस्ताको तस्तै राखेर त्यसैमाथि ढलान गरिएको थियो। पप्पु कन्ट्रक्सनले निर्माण गरेको उक्त सडक खण्ड गुणस्तरीय नबनेको भन्दै आलोचना हुँदै आएको छ। पुराना कल्भर्टहरु जस्ताको तस्तै राखेर त्यसैमाथि ढलान गरेर बनाइएकोमा अहिले भासिने समस्या देखिन थालेको छ।
सडक डिभिजनले गत मंसिरमा उक्त ठाउँमा माथिबाट कालोपत्रेको टालो हालेको थियो। तर टालो हालेको ६ महिनामै पुनः भासिइसकेको छ। अहिले भासिएर पानीको पाइप पनि फुटेको छ। त्यहाँ परेको खाल्डोले सवारी दुर्घटनाको जोखिम बढाएको छ। नेपालगन्जको सुर्खेतरोड सानादेखि भारी सवारी साधन आवतजावत हुने एकमात्र सडक हो। सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले भासिएको ठाउँलाई तत्काल सुधार गरिने बताएका छन्। तर नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधि र स्थानीयहरु उक्त कल्भर्ट पूरै भत्काएर नयाँ बनाउनुपर्ने माग गरिरहेका छन्। पुरानै साँघुरो कल्भर्टका कारण सो ठाउँमा बागेश्वरी मन्दिर छेउ हुँदै बग्ने नालाको निकास पनि थुनिने गरेको छ। जस कारण नेपालगन्जको वडा नम्बर २, ४, ५, १८ र २० का अधिकांश भागमा डुबान सिर्जना हुने गरेको छ।
प्रकाशित: ५ असार २०७९ १४:२८ आइतबार