७ वैशाख २०८१ शुक्रबार
अर्थ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत

बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नरेश कँडेल।

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन्। संघको १८औं महाधिवेसनबाट कँडेलको नतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

शनिबारका लागि निर्धारण गरिएको मतदान सुरु हुनु भन्दा केही घण्टा अगाडि कँडेलको नाममा सहमति जुटेको हो। बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान महासचिव समेत रहेका कँडेल र पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ ‘बासु’ अध्यक्षका लागि प्रतिस्पर्धामा थिए। दुवै जना नेपाली काँग्रेस निकट हुन्।

अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गरे पनि राजनकुमार शाक्य र शशिकपुर श्रेष्ठले कँडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। अध्यक्ष र दुई जना उद्योग सदस्य बाहेक खुला १४ सदस्य र २ महिला सदस्यमा पनि यस अगाडि नै सहमति जुटिसकेको थियो। अध्यक्ष र उद्योग सदस्यमा निर्वाचन हुने अन्तिम तयारीमा रहँदा सर्वसम्मतको प्रयासले मूर्त रुप लिएको हो।

अध्यक्षका दुवै आकांक्षी नेपाली काँग्रेस निकट भएका कारण अन्तिम समयमा सर्वसम्मत नेतृत्वको चयनका लागि पार्टीले भूमिका खेलेको बताइएको छ। उम्मेदवारहरुको सहमतिमा बनेको कार्यदलले नरेश कँडेललाई अध्यक्षमा सर्वसम्मत बनाएको थियो। यसपटक सर्वसम्म नेतृत्व चयनका लागि विगतबाटै प्रयास भएको थियो।

बागलुङ उद्योग वाणिज्य संघको ननिर्वाचित कार्यसमिति।  

जसले गर्दा विभिन्न राजनीतिक दलसंग आस्था राख्ने उद्योगी व्यवसायीहरुको संगठनबाट सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए। अधिकांश सदस्यहरु सर्वसम्मत भैसकेको र अन्तिम समयसम्म अध्यक्षमा पनि सर्वसम्मत बनाउने गरी उद्योग वाणिज्य संघबाटै प्रस्ताव आएकाले आफूहरुले सर्वसम्मत र निर्वाचनको तयारीसँगै अगाडि बढाएको र सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता भूमिश्वर गौतमले बताए।

‘सहमति नहुने अवस्थामा तत्कालै निर्वाचनमा जाने गरी हामीले तयारी पनि गरेका थियौं,’ उनले भने, ‘सर्वसम्मत नेतृत्व ल्याउने कुरामा बाधा नहोस् भन्ने कुराले गर्दा हामीले मतदान हुनुभन्दा पाँच मिनेट अगाडिसम्म सहमति जुटे पनि सर्वसम्म बनाउने गरी निर्णय यस अगाडि नै गरेका थियौं। अहिले सर्वसम्मत भयो यो धेरै ठूलो खुसीको कुरा हो।’

उद्योग वाणिज्य संघको १८औं महाधिवेसनबाट अध्यक्षमा नरेश कँडेल, महिला सदस्यमा यमुना रेग्मी, शिवकला थापा, उद्योग सदस्यमा ऋषिराम गौतम, निलेश राजभण्डारी, खुला सदस्यहरुमा श्रीजय श्रेष्ठ, अर्जुन चोखाल, इन्द्रमणि पौडेल, इश्वरजङ राजभण्डारी, उमाकान्त शर्मा ‘बाबु’, गणेशराज लम्साल, दिपक हमाल, नविन कुमार श्रेष्ठ, भूपाल कार्की, महेन्द्र प्रसाद शर्मा, राजु गौतम, सञ्जयकुमार श्रेष्ठ, विष्णुप्रसाद अधिकारी र विष्णुराज पन्त सर्वसम्मत चयन भएका छन्।

कार्यसमिति बैठकले पदाधिकारी चयन गर्नेछ। यस्तै निर्वाचन घोषणा कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्ने बताए। ‘मसँग ठूलो अपेक्षा र योजना छैन, उद्योग वाणिज्य संघलाई संस्थागत रुपमा सञ्चालन गर्ने प्रतिवद्धता छ,’ उनले भने, ‘उद्योगी व्यवसायीको हकहित, बागलुङ जिल्लाको प्रमुख बजार क्षेत्र  पर्यटकीय क्षेत्रको प्रवर्द्धन र यहाँको विकास निर्माणका लागि सरोकारवाला निकायहरुसंग ध्यानाकर्षण पहल र पैरवी गर्नेछौं।’

उनले डिजीटल सचिवालय सञ्चालन गर्ने काम अगाडि बढेको र त्यसलाई व्यवस्थीत गरी सबै सदस्यको व्यक्तिगत फाइल तयार गर्ने प्रतिबद्धता जनाए। सबै उद्योगी व्यवसायीको राय सल्लाह अनुसार काम गर्ने उनले बताए। नवनिर्वाचिन समितिलाई बधाई दिँदै बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुवराज गौतमले कोरोना कारणले आक्रान्त परेका उद्योगी व्यवसायीको पक्षमा काम गर्न सर्वसम्मत नेतृत्व चयनले ठूलो अर्थ राख्ने बताए।

‘कोरोनाका कारण उद्योग व्यवसाय निकै समस्या छन्,’ उनले भने, ‘सरकारले उद्योग व्यवसायको प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउँला भन्दा निचोर्ने काम गरेको छ। सर्वसम्म नेतृत्व चयनले उद्योगी व्यवसायीहरुको हितमा डटेर काम गर्नका लागि मौका सिर्जना गरेको छ।’

बागलुङ उद्योग वाणिज्य संघको इतिहासमा सबै पार्टी, सबै जाति, लिङ्ग अट्नेगरी सर्वसम्मत नेतृत्व चयन भएकाले यो अवसरको सही सदुपयोग गर्न उनले आग्रह गरे। निर्वाचन अधिकृत अधिव्रक्ता रमेशबहादुर खड्काले सञ्चालन गरेको घोषणा कार्यक्रममा स्वागत निर्वाचन अधिकृत अधिवक्ता राजु गौतमले गरेका थिए।

प्रकाशित: ४ असार २०७९ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App