१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

वन मन्त्रालय र जाइकाबीच जलवायु अनुकुलन सम्बन्धि पाँच वर्षे परियोजना सम्झौता

जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) नेपाल र वन तथा वातावरण मन्त्रालय बीच नेपालमा दिगो वन व्यवस्थापन मार्फत जलवायु परिवर्तन अनुकूलनसम्बन्धी प्राविधिक सहयोग परियोजना सम्बन्धी सम्झौता भएको छ।  

वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र जाइकाका नेपालस्थित प्रतिनिधी ओकुबो अकिमित्सुले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।  पाँच वर्षे परियोजनाले राष्ट्रिय र स्थानीय तहमा दिगो वन व्यवस्थापन मार्फत जलवायु परिवर्तन अनुकूलनलाई तीव्रता दिन जिम्मेवार सरकारी निकायहरूको संस्थागत क्षमतालाई सुदृढ पार्ने उद्देश्य राखेको छ।  

संघीय स्तरमा, परियोजनाले जलवायु परिवर्तन अनुकुलन सम्बन्धी नीति र प्राथमिकताहरू रोल आउट गर्न वन तथा वातावरण मन्त्रालयको क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ। प्रदेश स्तरमा गण्डकी प्रदेशको वन वातावरण तथा भूसंरक्षण मन्त्रालयले डिभिजन वन कार्यालय र माटो तथा जलाधार व्यवस्थापन कार्यालयको नेतृत्वमा दिगो वन व्यवस्थापन मार्फत जलवायु परिवर्तन सम्बन्धि कार्यहरूको पर्यवेक्षण गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।  

परियोजना मार्फत दिगो वन व्यवस्थापन मार्फत जलवायु परिवर्तन अनुकुलन सम्बन्धी नीति कार्यान्वयन र समुदायको वनमा आधारित अनुकुलन गतिविधिहरू बाहिर ल्याउन मद्दत पुग्ने बताइएको छ।  

जाइकाले सन् १९९० देखि नेपालको वन क्षेत्रमा वन विस्तार कार्यक्रम, सामुदायिक विकास र वन तथा जलाधार व्यवस्थापन संरक्षण कार्यक्रम, सहभागितामूलक जलाधार व्यवस्थापन र स्थानीय शासन कार्यक्रम मार्फत सहयोग गर्दै आएको भए पनि जलवायु परिवर्तन अनुकूलन अभ्यास अन्तर्गत लागू भएको यो प्रत्यक्ष रुपमा हुने पहिलो परियोजना हो।

प्रकाशित: १ असार २०७९ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App