गोरखाको पालुङटार नगरपालिका–९ शेराकी आशा तामाङले यो सिजनमा १२ मुरी धान भित्र्याउँथिन। बाह्रैमास पानी लाग्ने तीन रोपनी खेतले उनको चारजनाको परिवारलाई छ महिना खान पुग्ने उब्जनी दिन्थ्यो। त्यो खेत अहिले बगर बनेको छ। झुलेको धानको बालामा बाढी पसेर खेतखेतै खोला हिड्न थालेपछि उनी निराश छिन्।
‘अहिले समेत गर्दा तीनवर्ष भयो, मैले यो खेतबाट एकदानो धान भित्र्याउन पाएकी छैन,’ उनले भनिन् ‘चामल बेसाएर खानुपरेको छ।’ चैतेधान भित्र्याएर फेरी असारे रोप्ने तयारी गरेकी उनको बिउ पनि गतसाताको बाढीले बगाईदियो।
अर्काको जग्गामा अधियाँ गरेर धान रोपेकी सिर्दिका सरिता तामाङले ५० मुरी धान फलाउँथिन। बाढी खेतमा पसेपछि अहिले एक दानो भित्र्याउने अवस्था नरहेको उनले बताईन। स्थानीय हरि अधिकारीको खेत अधियाँमा लिएर आधा–आधा उब्जनी लिने सहमती गरेकी उनको बिउ, मल, परिश्रम र लगानी सबै खेर गएको छ।
सोही ठाउँका किसान भरत कुमाल १३ रोपनी जग्गा बगर बनेको भन्दै दुःखेसो गर्छन् ‘खेतखेतै खोला हिँडेको छ,’ उनले भने ‘अब खोला घटेपछि खेत रोपौं भने वर्षायाममा फेरी बाढी आउला भन्ने डर भो।’ असारे खेत रोप्न राखेको बिउ पनि बाढीले बगाएपछि अब खेत नरोप्ने सोचमा उनी छन्। ‘यस्तै बाढी वर्षेनी आएको छ,’ उनले भने ‘रोपेर के गर्नु, फेरी बाढी आउला भन्ने डर लागिरहन्छ।’ अब खेत तयार गरेर रोप्न त्यहाँ भएको ढुङ्गा माटो पन्छाउन धेरै पैसा खर्च हुने उनले बताए।
केही दिनअघि लहलह धानको बाला झुलेका खोलाछेउका खेत अहिले उराठिलो बगर बनेको छ। बालुवा, माटो, ढुंगामुढाले च्यापिएको धानको बाला हेर्दै निराश हुनु बाहेक किसानसँग विकल्प छैन। ‘हामीलाई दुई चार बोरा चामल राहत चाहिएको छैन,’ सिर्दिका स्थानीय मंगलप्रसाद श्रेष्ठले भने ‘उब्जनी गरेर खाने खेत जोगाईदिए हुन्थ्यो।’ तीनवर्षदेखि बाढीले धानखेत सखाप भएको गुनासो गरेका स्थानीयले खोलाको दुवैतर्फ बलियो तटबन्ध गरेर खेत जोगाईदिन हारगुहार गरेका छन्।
यी एक–दुई जना मात्र होईनन्, गोरखाको पालुङटार नगरापलिका–९ सिर्दिखोला, खारखोला, चुतीखोला, बडहरे खोला आसपासका किसानको खेत गत साताको वर्षातले सोत्तर बनाएको छ। खोला छेउका खेतमा चैतेधान भित्र्याएर असारे लगाउने बेलामा बाढी पसेपछि किसान निरास छन्। यसपटक यो ठाउँको करिब २५ सय रोपनी खेत बगर बनेको पालुङटार–९ का अध्यक्ष भेजराज पाण्डे बताउँछन्। सिर्दि र शेरा बजार खोला कटानले जोखिममा परेको छ।
त्यस्तै एकदर्जन घर उच्च जोखिममा छन्। ‘हामीले तथ्यांक संकलन गर्दैछौं, किसानलाई ठूलो क्षति पुगेको छ, हरेक वर्ष एउटै समस्याले दुःख दियो,’ उनले भने ‘नगरपालिका, प्रदेश र संघ सरकारले तटबन्ध गर्न पहल गर्नुपर्ने हो तर भएको छैन।’ वडा कार्यालयले बन्द भएको सडक खुलाउन, खानेपानीको तत्काल मर्मत गर्न र पोल ढलेर अवरुद्ध भएको बिजुली सुचारु गराएको उनले बताए।
उक्त खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले सर्वेक्षण गरेको थियो। प्राविधिक सर्वेक्षणले करिब १६ करोड लागतमा खोलामा तटबन्ध गर्न सकिने मूल्यांकन गरेको वडाध्यक्ष पाण्डेले बताए। ‘हामीले स्रोत जुटाउन संघिय र प्रदेश मन्त्रीहरुलाई पनि भेट्यौं तर कसैले वास्ता गरेनन्, हरेक वर्ष बाढीले धान खायो।’
पुल र कल्भर्ट बगेपछि विद्यालय पुग्न सकस
पालुङटार ९ सिर्दिमा रहेको मोटरेबल पुल बाढीले बगाएको। खारखोला, चुतीखोला, खहरेखोला, बडहरे खोलाको पुल बगाएको हो। अहिले यी सबै ठाउँमा खोलाबाट जोखिम मोलेर स्थानीय आउजाउ गरिरहेका छन्।
सवारी साधन पनि खोलाबाट ओहोरदोहोर गरिरहेका छन्। पानी बढेका बेला आउजाउ बन्द हुने गरेको स्थानीय हरि अधिकारीले बताए। खारखोलामा पुल भन्दा पानीको बाहव ठुलो हुँदा विद्यार्थी विद्यालय जान पाएका छैनन्। सिर्दिबाट धर्मोदय मावि पढ्न जाने करिब दुई सय जना विद्यार्थी खोलामा पानी बढेपछि जान सक्दैनन्।
चुतीखोला तरेर त्रिवेणी मावि पढ्न जाने विद्यार्थीलाई सकस भएको छ। चुती खोलाको पुलको कल्र्भट, दायाँबायाँ राखिएको पिल्लर नै छैन। बाढीले खोलामा रहेको कल्र्भट बगाएपछि आउजाउमा समस्या भएको हो। ‘शिक्षक विद्यार्थी हिड्नै समस्या छ’ वडा अध्यक्ष भेजराज पाण्डेले भने ‘एम्बुलेन्स हिडाउने ठाउँ पनि छैन।’
तटबन्धनका लागि संघीय सरकारसँग पहल गर्छौः मेयर
पालुङटार–९ को बिभिन्न ठाउँमा बाढीले क्षती पुर्याएपछि खोला तटबन्धन गर्ने प्रक्रिया अघि बढाएको पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनले बताए। ‘संघीय सरकारसँग बजेट मागेर तटबन्ध गर्ने हो, हाम्रो स्रोतले धान्दैन,’ उनले भने ‘अबको बजेटमा यो योजना आउँछ।’
नगरपालिकाले जोखिममा परेको घरको संरक्षण गर्ने, बन्द बाटो खुलाउने, भत्किएको कुलो मर्मत गरेर खेत रोप्ने वातावरण सिर्जना गर्ने गरी काम गरिरहेको मेयर चिन्तनले बताए। ‘दीर्घकालीन योजना केन्द्रबाट गर्ने र अल्पकालीन योजनामा नगरपालिकाले काम गर्ने भन्ने हो’ उनले भन ।
कृषकलाई दिने हामीसँग केही छैनः कृषि ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र गोरखाले बाढीपिडित किसानलाई तत्काल राहत दिने कुनै योजना कार्यालयसँग नरहेको जनाएको छ। ‘किसानलाई तत्काल राहत दिने गरी कार्यालयमा कुनै कार्यक्रम छैन,’ ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने ‘हामीले क्षतीको विवरण संकलन गरेर कृषि बिकास निर्देशनालय पठाउने हो, त्यहाँबाट आएको खण्डमा राहत दिन सक्छौं।’ किसानले क्षतीको विवरण, प्रहरी मुचुल्का, लालपुर्जाको फोटोकपी र निवेदन ज्ञान केन्द्रमा पेश गर्नुपर्छ। सोही निवेदन र प्रमाणका आधारमा निर्देशनालयलाई क्षती यकिन गरेर पठाउने ज्ञान केन्द्रले जनाएको छ।
किसानले भने यस अघि बेमौसमी वर्षातले क्षती पुगेको बालीनालीको अहिलेसम्म राहत नआएकाले आश मरेको बताएका छन्। गत वर्ष भएको क्षतीको राहत तत्काल दिने भनिएपनि अहिले सम्म किसानले पाएका छैनन। बेमौसमी वर्षातले पुर्याएको क्षतीको राहतका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए। तर कहिले स्वीकृत हुन्छ भन्ने यकिन भएको छैन।
प्रकाशित: ३० जेष्ठ २०७९ ०८:२० सोमबार