१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ।

विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न गराउन वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा तथा गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारीसाधन धनीलाई निर्देशन दिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आलटाल गरेकाले विभागले सचेत गराएको बताए। ‘सवारीधनीले अपेक्षित रूपमा इम्बोस्ड नम्बर प्लेट जडानमा ढिलासुस्ती गरेका छन्। त्यसैले यो काम अविलम्ब गर्न भनेका हौं,’ उनले भने।

महानिर्देशक घिमिरेले गत असारमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि साढे दुई वर्ष म्याद थप गरेकाले जडानमा तदारुकता ल्याउन अनुरोध गरेको बताए। ‘२५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि अब साढे एक वर्ष मात्रै बाँकी छ,’ उनले भने, ‘त्यसैले इम्बोस्ड नम्बर प्लेट जडानलाई द्रुत गतिमा अघि बढाउन ताकेता गरेका हौं।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ गते राजपत्रमा प्रकाशन गरेको सूचनामा मंसिर १ गतेदेखि नयाँ दर्ता सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले पहिलो चरणमा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सवारीसाधन, पर्यटन सवारीसाधन, निजी सवारीसाधन, सरकारी र संस्थानका नयाँ दर्ता सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ।

पूर्वाधारबिनै ताकेता

सरकारले १ नम्बरबाहेक अन्य प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेको छ। तर विभागले इम्बोस्ड नम्बर प्लेटको नियमन तथा निरीक्षण गर्ने आवश्यक पूर्वाधार तयार नगरीकनै नयाँ सवारीसाधन दर्तामा मंसिर १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेकोमा सवारीधनीले विरोध गर्दै आएका छन्।

सरकारले सवारीसाधन नामसारी गर्नेले भने आगामी फागुन १ गतेदेखि इम्बोस्ड नम्बर जडान गर्नुपर्ने व्यवस्था गरेको छ। सवारीसाधन दर्ता प्रमाणपत्र नवीकरण गर्नेले भने आगामी जेठ १ देखि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने कानुनी बाध्यता बनाइएको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउन आवश्यक प्रविधि र उपकरण एवं सञ्चालनको पूर्वतयारीका लागि आवश्यक पर्ने डाटा सेन्टर, कन्ट्रोल रुम, स्टेलाइट कनेक्सन, आरएफआइडी स्टिकर, रिडेबल डिभाइस, टावरलगायत पूर्वाधार तयार पारेको छैन।

विभागले सवारीसाधन अनुगमन र निरीक्षणका लागि काठमाडौं उपत्यकामा थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा उपत्यकाबाहिर मुख्य पाँच गरी १० स्थानमा ‘आरएफआइडी स्टेसन’ बनाउने योजना घोषणा गरेको थियो। तर अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट जडान कार्यबाहेक अन्य निरीक्षण तथा अनुगमनका पूर्वाधार निर्माण भइसकेको छैन।

महानिर्देशक घिमिरेले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेसँगै आरएफआइडी स्टेसन लगायत पूर्वाधार तयार गर्दै जाने बताए। ‘सबैभन्दा पहिला त सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्‍यो,’ उनले भने, ‘जडान भएसँगै अन्य पूर्वाधारका संरचना बनाउँदै लैजान्छौं।’

सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट चाँडै फुट्ने, कुच्चिनेलगायत समस्या देखिएको गुनासो गरेका छन्। महानिर्देशक घिमिरेले यस्तो समस्या चारपांग्रे सवारीसाधनमा भन्दा पनि दुई पांग्रेमा बढी देखिएको बताए।

२५ लाख सवारीसाधन, १७ हजारमा मात्र जडान

अर्थ मन्त्रालयले हालसालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले इम्बोस्ड नम्बर प्लेट जडान द्रुत गतिमा हुन नसकेको देखाएको छ। आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म मुलुकभर १ लाख ३५ हजार ३ सय ४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको र ८ हजार ३ सय ६७ वटा सवारीसाधनमा जडान भएको देखिन्छ।

गत वर्षको असार मसान्तसम्म ९ हजार ५१ सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएएको थियो। यस आधारमा गत फागुन मसान्तसम्म १७ हजार ४ सय १८ वटा सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयावधि अब डेढ वर्षमात्रै छ। २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्नुपर्नेमा अहिलेसम्म एक लाख ३५ हजार इम्बोस्ड नम्बर प्लेट मात्र उत्पादन भएको छ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले सवारीधनी इम्बोस्ड नम्बर प्लेट जडान गर्न आए सहजै सेवा उपलब्ध गराउने दाबी गरे। ‘अहिले फ्याक्ट्रीमा पर्याप्त मात्रामा इम्बोस्ड नम्बर प्लेट बनेका छन्,’ उनले भने, ‘सेवाग्राहीले डिमान्ड गरेको खण्डमा कार्यालयले तत्कालै उपलब्ध गराउनेछ।’

कति छ जडान शुल्क

विभागले दुई पांग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा २ हजार ५ सय, तीनपांग्रे सवारीसाधनमा जडान गर्दा २९ सय, साना चारपांग्रे सवारीसाधनमा ३२ सय र ठुला सवारीसाधनमा ३६ सय रुपैयाँ शुल्क तोकेको छ। प्रवक्ता पनेरुले सवारीसाधनलाई प्रविधिमैत्री र चोरी हुनबाट जोगाउन इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागेको बताए। ‘सरकारले कर उठाउनकै लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागेको होइन्,’ उनले भने, ‘समयानुकूल प्रविधिमैत्री बनाउनका लागि यो प्रविधि जडान गर्न लागेका हौं।’

के हो इम्बोस्ड नम्बर प्लेट

इम्बोस्ड नम्बर प्लेटमा विशिष्ट प्रकारको सेक्युरिटी नम्बर र जिपिएस जडान गरिएको हुन्छ। इम्बोस्ड नम्बरका माध्यमले सवारीसाधनको स्थितिबारे जानकारी लिन सकिन्छ। रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइसले सवारीसाधनबारे जानकारी लिन सकिन्छ। यो नम्बर प्लेट एकपटकभन्दा बढी प्रयोग गर्न सकिँदैन। इम्बोस्ड नम्बर विश्वमा धेरै मुलुकमा प्रयोगमा आएको छ।

सन् २०१६ मे ३० मा यातायात व्यवस्था विभाग र ठेकेदार कम्पनी डेकाटुर टाइगर आइटीबीच ‘बुट मोडेल’ मा अञ्चलकै आधारमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो। सम्झौतामा सरकारले पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर जडान गरेबापत ठेकेदार कम्पनीलाई ४ अर्ब ४९ करोड ४ लाख ८ हजार अर्थात् चार करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर भुक्तानी गर्नुपर्ने लेखिएको थियो।

तर २०७२ सालमा संविधान जारी भएसँगै मुलुक सात प्रदेशमा गयो। २०७४ सालमा इम्बोस्ड प्लेट नम्बर प्लेट नेपाली देवनागरी भाषामा हुनुपर्ने भन्दै सर्वाेच्च अदालतमा मुद्दा पर्‍यो। सर्वाेच्च अदालतले २०७६ मंसिर २७ मा इम्बोस्ड प्लेट नम्बर अंग्रेजीमा राख्न अनुमति दिएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७९ ००:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App