१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भारततर्फ बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न थालेको बताए। ‘प्राधिकरणले बुधबार मध्यरातदेखि भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार आईईएब्समा प्रत्येक १५ मिनेटको ब्लकमा बिजुली बिक्रीको लागी राखेको हो,’ उनले भने‘ हामीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली भारत पठाउँदै आइरहेका छौं ।’ अहिले प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीले साढे १३ सय देखि १४ सय मेगावाट बिजुली उत्पादन गर्दै आइरहेका छन्। प्राधिकरणले २४ औंघण्टा बिजुली बिक्री गर्दै आइरहेको छ।

प्रवक्ता भट्टराईले प्राधिकरणले भारतमा बिजुली निर्यात गर्दा प्रति युनिट भारु ६.२८ रूपैयाँमा बिजुली बिक्री गर्दै आइरहेको छ। प्राधिकरणले कुनै समय अधिकत्तम भारु १२ रूपैयाँ पनि पाउँदै आइराखेको छ। नेपालले ३६४ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न स्वीकृति पाइसकेको छ।

प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो। त्यस्तै गत चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्ने अनुमाति पाएको थियो। प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ।

नेपालले वर्षायाममा ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात गर्नेछ। प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ४२ करोड रूपैयाँ बराबरको बिजुली भारतबाट आयात गरेको थियो। प्राधिकरणले आव २०७७/७८ मा २१ अर्ब ३९ करोड ४४ लाख ८५ हजार रूपैयाँको बिजुली आयात गरेको थियो। प्राधिकरणले चालु आवमा १२ अर्ब ४० करोड रूपैयाँबराबरको बिजुली आयात हुने प्रक्षेपण गरेको थियो। तर पछिल्लो समय भारतको विद्युत् नियमन आयोगले प्रतियुनिट बिजुलीबापत भारु १२ रूपैयाँभन्दा धेरै लिन नपाइने व्यवस्था गरेको छ। प्राधिकरणले चालु आवको अन्त्यसम्म १० अर्ब रूपैयाँ बराबरको बिजुली आयात गर्ने प्रक्षेपण गरिएको छ।

बिजुली आयात आधा घट्यो

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा भारतबा ७ सय ५७ गिगावाट आवर बिजुली भारतबाट आयात गरिएको छ। आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्मको अवधिमा भने भारतबाट १४८८.९४ गिगावाट आवर बिजुली आयात गरिएको थियो। सरकारले ८ महिनाको अवधिमा भारतलाई एक सय ८३ गिगागाट आवर बिजुली निर्यात गरेको छ। जबकी सरकारले गत आवको असार मसान्तसम्मको अवधिमा २८ सय २६ गिगावाट आवर बिजुली आयात गरेको थियो। तर, चालु आवको हिउँदेयाममा भने नेपालमा जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन घटेसँगै औद्योगिक क्षेत्रमा १२ घण्टासम्मको लोडसेडिङ भएको थियो।

सरकारले चालु आर्थिक वर्षको फागुनमसान्त २२ सय ५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जडान भएको जनाएको छ। जबकी गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा भने कुल जडित क्षमता १६ सय ८५ मेगावाट मात्रै थियो। चालु आवको आठ महिनामा ३०.९ प्रतिशतले वृद्धि भएको छ।

सरकारले चालु आवको आठ महिनाको अवधिसम्म प्रतिव्यक्ति विद्युत खपत २७० किलोवाट घण्टा पुगेको जनाएको छ। सरकारले चालु आवको फागुन मसान्तसम्मको अवधिमा २६ जिल्लामा पूर्ण विद्युतीकरण गरेको छ। सरकारले चालु आवको असार मसान्तसम्मको अवधिमा थप ८ जिल्लामा विद्युतीकरण गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २० जेष्ठ २०७९ ००:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App