१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशीएका २ सय ५ जनाको लगानीमा कृषि कर्म

रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेका २ सय ५ जना व्यक्तिहरुको साढे ९ करोडको लगानीमा मकवानपुरको हाँडी खोलामा कृषि फर्म सञ्चालनमा आएको छ।

गाई, माछा, लोकल कुखुरा, खसीबाख्रा, हाँस, बुंगुर लगायतका पशुपन्छि पालन गर्ने उद्देश्यसहित मनहरी गाउँपालिका-४ हाँडीखोलास्थित मसिनेमा भिजन अफ मकवानपुर एग्रीकल्चर प्रालि सञ्चालन गरिएको हो। करिव ६ बिगाह क्षेत्रफलमा फैलिएको फर्ममा माछा, लोकल कुखुरा, बुंगुर, खसीबोका र हाँस पालिएको छ। फर्मममा अहिलेसम्म करिव साढे ९ करोड रुपैयाँ लगानी भैसकेको छ।

‘हामी रोजगारीको शिलशिलामा कतारमा थियौं। कति अर्काको देशमा दुःख गर्नु आफ्नै देशमा केही गरौं भनेर सल्लाह गर्‍यौं’, कृषि फर्मका उपाध्यक्ष खेमराज गुरुङले स्थापनाकालको अवस्था सम्झिँदै भने, ‘म्यासेन्जर ग्रुप बनाएर लगानी गर्न इच्छुकहरुलाई जोड्दै गयौँ। २०/२५ लाखको लगानीमा कुखुरा पाल्ने योजना थियो, अहिले साढे ९ करोड जति खर्च गरिसकेका छौं।’

जिल्लाबाट विभिन्न मुलक पुगेका नेपालीहरुले व्यक्तिगत डेढ लाखदेखि ७/८ लाख रुपैयाँसम्म लगानी गरेको उनले बताए। ‘३५/३६ लाख जम्मा भएपछि जग्गा किन्यौं। ३६ कट्ठा जग्गा किनेर काम सुरु गरेका हौँ। अहिले ६बिगाहा जग्गा जोडिसकेका छौं।’, गुरुङले भने, ‘विदेशमा पुगेका दिदीबहिनीले पनि लगानी गरेका छन्। मनहरीकै लामिटार गाउँमा सयवटा गाई पाल्न खोर बनाउँदैछौं।’

भिजन अफ मकवानपुर एग्रीकल्चरको फर्ममा अहिले २ बिगाहा क्षेत्रफलको पोखरीमा करिब डेढ सय क्वीन्टल माछापालन भैरहेको छ। कमनकार्प, रहु नैनी, सिल्भरकार्प लगायतको जातको माछा हालिएको छ। फर्म घुम्न जानेलाई आफैं माछा मार्ने र पकाएर खाने व्यवस्था समेत गरिएको छ।

यस्तै लोकल कुखुरा, खसीबोका, बुंगुर र हाँस पनि पालिएको छ। खोरमा १३५ थान बोयर, जमुनावारी र लोकल जातको खसीबाख्रा रहेको छ। फर्मममा १० जना कर्मचारीले रोजगारी पाएका छन्। फर्ममै बस्ने खाने व्यवस्था गरिएको छ। खसीबाख्राको लागि आफ्नै जग्गामा घाँस लगाइएको छ।

‘हामीले ६ वर्षअघि जग्गा किनेर ३ वर्ष अघिदेखी फर्म सञ्चालन गरेका हौं। अहिले पनि लगानीकै क्रममा रहेका छौं’, फर्मका व्यवस्थापक रमेश जिसी क्षेत्रीले भने। मनहरी गाउँपालिकामै यत्तिको लगानीमा कुनैपनि कृषि कार्य भएको छैन। तर अहिलेसम्म सरकारी निकायबाट अनुदान तथा सहयोग भने नभएको उनीहरुको गुनासो छ।

‘कृषिको क्षेत्रमा धेरै बजेट छुट्टिएको सुन्ने गरेका छौं। तर गाउँपालिकाबाट अहिलेसम्म केही अनुदान पाएका छैनौं’, उनले भने, ‘कृषि क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिदेखि मन्त्री मुख्यमन्त्री सम्म यो फर्ममा घुम्न आइसकेका छन् तर अनुदान, सहुलीयत ऋणको विषयमा केही पनि सहयोग भएको छैन।’ निर्माणाधीन गाई फार्ममा कम्तिमा दुई सय गाई पाल्ने योजना रहेको उनीहरुले सुनाए।

‘नेपालमै कृषिमै केही गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो। अहिलेसम्म लगानी नै गरिरहेका छौं। उत्पादनबाट आएको रकम समेत लगानीमै थप्दै गएका छौं’, भिजन अफ मकवानपुर एग्रीकल्चर प्रालिका उपाध्यक्ष गुरुङ भन्छन्, ‘यस फर्मलाई एकदिन नेपालकै नमूनालायक कृषि फर्म बनाउने र विदेश गएका युवा शक्तिलाई नेपालमै रोजगारीको व्यवस्था गर्ने हाम्रो उद्देश्य हो।’

प्रकाशित: १९ जेष्ठ २०७९ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App