१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

निजी क्षेत्रका माग सम्बोधन: परिसंघ

नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटमा आफूले उठाउँदै आएको माग सम्बोधन भएकोमा बजेटको स्वागत गरेको छ। परिसंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर आगामी आवको बजेटको स्वागत गरेको छ।परिसंघले औद्योगिकरण र स्वदेशी उत्पादन अभिवृद्धिका लागि परिसंघले लामो समयका लागि स्वदेशी दशकको कार्यक्रम ल्याउन माग गरेको थियो।

सरकारले आगामी आवको बजेटमा ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–०८९’ सञ्चालन गर्दै नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गर्ने घोषणालाई स्वागत गरेको छ। परिसंघले उत्पादन, निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी औद्योगिकरण र कृषिलाई केन्द्रबिन्दुमा राखी आएको बजेटले उत्साहित बनाएको प्रतिक्रया दिएको छ।

‘बजेट मार्फत् नेपाली अर्थतन्त्रको स्वरूप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको छ।’ परिसंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘यसबाट नेपालमा उत्पादन भएका वस्तु उपभोग अभिवृद्धि भई स्वदेशी उद्योग विस्तारमा योगदान पुग्ने हाम्रो बुझाइ छ।’

परिसंघले बजेटमा उद्योगलाई ५० वर्षसम्म जग्गा लिजमा दिइने र हदबन्दीभन्दा धेरैको जग्गा धितो राख्ने एवं टाट उल्टेमा बिक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न पाउने व्यवस्थाको पनि स्वागत गरेको छ।

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि आगामी आवको बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै बजेटको स्वागत गरेको छ। महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर गत आइतबार सार्वजनिक गरिएको बजेटको स्वागत गरेको हो।

निजी क्षेत्रलाई आर्थिक वृद्धिको इञ्जिनको रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसाय मैत्री वातावरण निर्माण गर्ने विद्यमान कानुन तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासंघले जनाएको छ।

‘कृषि क्षेत्रको रूपान्तरण र रोजगारी वृद्धिः निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि कार्यक्रम अन्तर्गत आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष सञ्चालन गर्ने महासंघले जनाएको छ।

महासंघले किसानको मनोवल बढाउन योगदानमा आधारित किसान पेन्सन योजना शुरु गर्न किसान हित कोष स्थापना गर्ने जस्ता कृषि मैत्रीका र्यक्रमहरू आउनु बजेटका सकारात्मक पक्ष भएको जनाएको छ।

मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–८९ सञ्चालन गरी नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने कुरा पनि बजेटको सबल पक्ष भएको महासंघले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App