२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

सहुलियत दरमा कर्जा प्रवाह गरेर रोजगारी सृजना गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले समयमा कर्जा तिर्ने व्यवसायीलाई करिव एक करोड रुपैयाँ व्याज अनुदान वितरण गरेको छ।  

कोषबाट कर्जा लगेर निर्धारित समयमा तिर्ने व्यवसायीलाई चालु आर्थिक वर्षको जेठसम्म एक करोड चार लाख रुपैयाँ व्याज अनुदान फिर्ता गरेको हो।कोषले मुलुभरका करिव २३ सय वित्तीय संस्थामार्फत करिव ११ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ।

वित्तीय संस्थामार्फत लगेको कर्जा नियमित रुपमा तिर्ने व्यवसायीलाई व्याजको ६० प्रतिशत फिर्ता गरेको युवा तथाा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए। ‘उद्यमशीलता विकास गर्न सस्तो व्याजदरमा कर्जा प्रवाह गर्दै आएका छौं,’ अधिकारीले भने, ‘समय तालिका अनुसार कर्जा तिर्ने व्यवसायीलाई व्याजको ६० प्रतिशत अनुदानको रुपमा फिर्ता गर्छौं।’

कोषले एक कार्यक्रमकाबीच काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २मा रहेका काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेड र युवक कृषि सहकारीका सदस्यलाई कोषले ५ लाख ३ हजार रुपैयाँ व्याज अनुदान वितरण गरेको छ।

कोषले मुलुकभर सहकारी तथा वित्तीय संस्थामार्फत कर्जा प्रवाह गर्दै आएको छ । कोषले करिब ८४ हजार आठ सय रोजगारी सृजना गरेको छ। कोषले अहिलेसम्म रोटेसनमा करिव नौ अर्ब रुपैयाँ लगानी गरेर ९८ हजार रोजगारी सृजना गरेको छ। कोषले लगानी गरेपछि कृषि, घरेलु उद्योग, रिक्सा, अटोरिक्सा, ठेलागाढा व्यवसाय, दूधजन्य व्यवसाय, पलम्बिङ, इलेक्ट्रिसियन, साना तथा घरेलु व्यवसाय गरेर उद्यमी बनेको कोष्को अनुसन्धान तथा कार्यक्रम प्रवद्र्धन शाखाका प्रमुख नारायणदत्त देवकोटाले बताए।

कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमा नै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ।

कोषले वित्तीय संस्थालाई ३.२ प्रतिशत व्याजमा कर्जा दिएर उद्यमशीलता विकास गर्न सघाएको छ। वित्तीय संस्थाले सुरुमा ८ प्रतिशतभन्दा नबढ्ने गरी लगानी गरे पनि कोषले पछि व्याज बापतको ६० प्रतिशत रकम फिर्ता गर्ने गरेको छ। कोषले व्याज सहित इन्स्योरेन्सको प्रिमियममा पनि अनुदान दिन्छ।

स्वरोजगार बन्न चाहानेलाई बिनाधितो ऋण लगानी गर्ने गरेको छ । कोषबाट कर्जा लिएर लगानी गर्दा रोजगारी सृजना गर्न सघाउ पुगेको काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २मा रहेका काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुधन भण्डारीले बताए। समयमा कर्जा तिर्नेलाई व्याजको ६० प्रतिशत अनुदान फिर्ता गरेको भण्डारी बताए।  

स्वरोजगारमूलक उद्यमका लागि प्रस्तावका आधारमा ऋण लगानी गर्दै आएको छ । कोषले बैंक तथा वित्तीय संस्थालाई अधिकतम पाँच करोड रुपैयाँ र सहकारीलाई कम्तिमा २० लाख र बढीमा एक करोड रुपैयाँ कर्जा दिन्छ।  

कोष र वित्तीय संस्था तथा सहकारी संस्थालाई पहिलो किस्तामा ५० प्रतिशत र दोस्रो किस्ता ५० प्रतिशत रकम दिन्छ । सोही रकमलाई आवश्यकता अनुसार बिनाधितो लगानी गर्छन्। यसले एक गाउँ एक उत्पादन र एक परिवार एक रोजगार परियोजना पनि अघि बढाएको छ।

व्यक्तिलाई बढीमा दुई लाख रुपैयाँ लगानी गर्ने व्यवस्था छ। स्वरोजगारमूलक उद्यम गर्न चाहानेले आफूलाई अनुकुल हुने गरी सहकारी तथा बैंकमा प्रस्ताव पेश गरेर स्वीकृत भए पछि रकम पाउँछन्। व्यक्तिगत मात्र नभएर समूहमा पनि लगानी गर्ने गरिएको छ। समूहमा लगानी गर्नका लागि बढीमा १५ जनालाई प्रतिव्यक्ति दुई लाख नबढ्ने गरी ३० लाख रुपैयाँ कर्जा लगानी गर्न सक्ने व्यवस्था छ।

वैंक, वित्तीय संस्था र सहकारी संस्थाले परियोजनाको आधारमा कोषलाई बढीमा पाँच वर्ष भित्र कर्जा भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सहुलियत दरमा कर्जा पाउँदा व्यवसाय गर्न सजिलो भएको तारकेश्वर नगरपालिका वडा नं २की कमला खड्काले बताइन्। खड्काले स्थानीय काभ्रेस्थली कृषि सहकारी संस्थाबाट एक लाख ५० हजार ऋण लिएर व्यवसाय सुरु गरेकी थिइन्।

कोषले सहकारीलाई लगानी गरेको थियो। ‘बिना धितो ऋण पाए पछि व्यवसाय सुरु गरेँ,’ खड्काले भनिन्, ‘अहिले व्यवसाय विस्तार गरेर १२/१३ लाख लगानी पुगेको छ।’ खड्काले एक जनालाई रोजगारी दिएर आँफूले पनि राम्रो आम्दादी गरेकी छिन् । ‘स्वरोजगार कोषको सहयोगले ठूलो सहयोग पुग्यो,’ खड्काले भनिन्, ‘अहिले तिरेको व्याजको ६० प्रतिशत फिर्ता पाउँदा खुशी लागेको छ।’

युवा स्वरोजगार कर्जा लिएका व्यवसायीहरूको जीवन बीमा तथा स्वरोजगार कर्जाबाट सञ्चालित परियोजनाको एकमुष्ठ बीमा गर्ने र प्रिमियम बापतको खर्च कोष मार्फत सरकारले भुक्तानी गर्ने व्यवस्था मिलाएको छ।

युवा व्यवसायीलाई साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वदेशमा नै स्वरोजगारका अवसर सृजना गर्न कार्यक्रम फलदायी बनेको छ। व्यवसायीले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापनमा पनि कोषले सघाएको छ। उत्पादित वस्तु स्थानीय स्तरमा नै खपत गर्न उत्पादन तथा बजारीकरणका लागि पनि प्रोत्साहन गर्दै आएको छ।  

स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यवसायिक परियोजना अघि बढाउन सहयोग पुगेको छ। स्थानीय स्तरमा  सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराउँदा उद्यमशीलताको विकासमार्फत मुलुकमा रोजगार सृजना गर्न टेवा पुग्ने विश्वास गरिएको छ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने उदेश्यले कोषले लगानी गर्दै आएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App