९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।

नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले धानको बीउ वितरणको सुरुवात गरेका हुन्। यस वर्ष ८० क्विन्टल धानको बीउ वितरण गरिने नगर कृषि शाखाका प्रमुख चन्द्रबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार त्यसमध्ये १० क्विन्टल मुल धानको बीउ अनुदानमा समूहलाई वितरण गरिनेछ। ‘कुल बीउमध्ये ७० क्विन्टल मात्र किसानहरुलाई अनुदानमा दिनेछौं,’ कृषि शाखा प्रमुख बुढाले भने, ‘१० क्विन्टल भने मुल बीउ रहेकोले समूहलाई आगामी वर्षका लागि बीउ उत्पादनको लागि पाउने छन्।’

यस वर्ष धानको बीउ खरिदका लागि कम मात्रै रकम विनियोजन भएकोले एक किसानलाई बढीमा १५ किलो बीउ दिने गरिएको छ। नगर कृषि शाखाले उन्नत राधाचार धानको बीउ ५० प्रतिशत अनुदानमा प्रतिकिलो ३० रुपैयाँका दरले दिइरहेको छ। उन्नत रामधान प्रतिकिलो ३५ र मुल बीउ ३७ रुपैयाँ ५० पैसा प्रतिकिलो किसानलाई दिइरहेको छ।

अनुदानमा धानको बीउ लिन सम्बन्धित वडाबाट सिफारिस ल्याउनुपर्ने नगर कृषि शाखाले जनाएको छ। कोहलपुर नगरभित्र करिब २७ सय हेक्टर जमिनमा धान खेती हुन्छ। धानको बीउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले संघीय सरकारले नै यस वर्ष कम रकम पठाएकाले आवश्यकतानुसार अनुदानमा किसानलाई बीउ दिन नसकिएको बताए।

‘यसपालि तपाईंलाई धानको बीउ धेरै चाहिन्थ्यो। सरकारले नै कम रकम पठाएपछि अनुदान बीउ दिन सकिएन,’ उनले भने, ‘सबैजनाले यसैलाई मिलाएर लिनूहोला। हामी निर्वाचित भएर आउनुभन्दा पहिले नै भएको निर्णय हो।’ कोहलपुरका किसानलाई वर्गीकरण गरेर अनुदानलगायतका सेवा सुविधा दिने आफूहरुको तयारी रहेको नगर प्रमुख आचार्यले बताए।

नगर उपप्रमुख सुवेदीले हुनेखानेले मात्र अनुदान पाउने पद्धतिको अन्त्य गरिने प्रतिबद्धता जनाइन्। ‘किसानको नाममा आएको अनुदान टाठाबाँठाको हातमा मात्रै पर्ने गरेको देखिएको छ,’ उनले भनिन्, ‘अब हामी किसानहरुको हातमा कृषि अनुदान पर्ने वातावरण निर्माण गर्नेछौं।’

प्रमुख प्रशासकीय अधिकृत ढकालले व्यवस्थित तरिकाले सबै किसानले पाउने गरी धानको बीउ वितरण गर्न कर्मचारीलाई निर्देशन दिए। गत वर्ष कोहलपुरमा एक सय ९४ क्विन्टल धानको बीउ अनुदानमा किसानलाई वितरण गरिएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७९ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App