५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

१० महिनामा साढे पन्ध्र सय विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा साढे १५ सय विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन्। भन्सार विभागले हालसालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को वैशाख मसान्तसम्मको अवधिमा चार अर्ब ५२ करोड रूपैयँ खर्चेर १५ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात गरेको जनाएको छ।  

भन्सार विभागका अनुसार चालु आवमा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनमा विशेष गरी एक सय किलोवाट क्षमताका कार, जीप, भ्यान र एक सयदेखि १५० किलोवाट क्षमताका विद्युतीय सवारीसाधन ठूलो संख्यामा आयात भएको देखिन्छ। चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म तीन अर्ब २४ करोड ३३ लाख खर्चेर ११ सय ३ वटा सवारीसाधन आयात गरिएको थियो पछिल्लो चार महिनाको अवधिमा मात्रै ४ सय ४८ वटा विद्युतीय सवारीसाधन आयात भएको छ।  

भन्सार विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म दुई अर्ब १५ करोड रूपैयाँ खर्चेर एक सय किलोवाट क्षमताका आठ सय ५ वटा विद्युतीय सवारीसाधन आयात भएको छ। दुई अर्ब ३० करोड रूपैयाँ खर्चेर सो अवधिमा एक सय किलोवाटदेखि २ सय किलोवाट क्षमताका सात सय २९ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। त्यसैगरी एक सयदेखि १५० किलोवाट क्षमताका १३ वटा विद्युतीय सवारीसाधन आयात भएको छ। सो सवारी आयात गर्दा तीन करोड ६७ लाख रूपैयाँ खर्च भएको छ। सोही अवधिमा ३०० किलोवाट क्षमताको २ वटा मात्रै विद्युतीय सवारीसाधन आयात भएको छ। जसको मूल्य २ करोड ५६ लाख रूपैयाँ बराबर रहेको छ।  

सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनको अन्तःशुल्क तथा भन्सार महसुल घटाएसँगै विद्युतीय सवारीसाधनको आयातमा ह्वातै वृद्धि भएको हो। गत वर्ष भने विद्युतीय सवारीसाधनको आयातमा भारी गिरावाट आएको थियो। चालु आर्थिक वर्षको सुरुदेखि नै विद्युतीय सवारीसाधनको आयात ह्वातै बढ्दै आइरहेको छ। चालु आवको १० महिनाको अवधिमा ५७ करोड ६० लाख रूपैयाँ खर्चेर पाँच हजार ८ सय ८४ वटा विद्युतीय तिनपाङ्ग्रे सवारीसाधन आयात भएको छ।  

आर्थिक वर्ष २०७७/७८ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा अत्यधिक मात्रामा कर लगाइदिएसँगै विद्युतीय सवारीसाधनको आयात निकै कम भएको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात अत्यधिक मात्रामा वृद्धि हुँदै आइरहेको छ।

मन्त्री पौडेलले ल्याएको बजेटमा एक सय किलोवाट क्षमताको विद्युतीय सवारीसाधन आयात गर्दा १० प्रतिशत भन्सार दर कायम गरेका थिए। त्यसैगरी दुई सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत र दुई सयदेखि तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन आयात गर्दा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको भए पनि चालु आवमा विद्युतीय सवारीसाधनतर्फ सर्वसाधारणको आकर्षण ह्वातै बढेको हो।  

चालु आर्थिक वर्षको बजेटमा सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आउने करमा व्यापक मात्रामा सुधार गरेसँगै विद्युतीय सवारीसाधनको आयातमा ह्वातै वृद्धि भएको हो।

प्रकाशित: १३ जेष्ठ २०७९ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App