१६ चैत्र २०८० शुक्रबार
अर्थ

भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ।

केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ। भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

भारतले चिनी र गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको जानकारी आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारले २०२२ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। गहुँ निर्यातमा यसअघि नै रोक लगाउने निर्णय भारत सरकारले गरेको थियो।

नेपालमा चिनी, गहुँलगायतका खाद्यवस्तु पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात हुँदै आएको छ। स्वदेशी उत्पादनले नथेग्ने भएकाले अधिकांश कृषिजन्य वस्तु भारतलगायत मुलुकबाट आयात हुँदै आएको छ। ‘चिनी र गहुँ आयात नहुँदा बजारमा असर पर्न सक्छ,’ सहप्रवक्ता केसीले भनिन्, ‘आपूर्तिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल गरेका छौं।’ भारतले आन्तरिक खपतमा नपुग्ने भएपछि निर्यातमा रोक लगाएका खाद्यवस्तु अन्य देशबाट ल्याउने उनले बताइन्। ‘घरेलु प्रयोजनका लागि गहुँमा आत्मनिर्भर छौं भन्ने कुरा आएको छ,’ उनले भनिन्, ‘चिनी पाकिस्तानबाट ल्याउने विषयमा छलफल भएको छ।’

रुस र युक्रेनबाट विभिन्न मुलुकमा ठुलो मात्रामा गहुँ निर्यात हुन्छ। तर अहिले ती दुई देशबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा गहुँ अभाव देखिन थालेको छ। विभिन्न देशले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वभर गहुँ अभाव भएको बताइएको छ। ती देशबाट गहुँ आयात नभएपछि सम्भावित खाद्य अभाव हुन नदिन भारले निर्यातमा रोक लगाएको हो। रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा असर परेको व्यापारी बताउँछन्। भारतले केही दिनअघि स्पन्ज आइरन निर्यातमा कर वृद्धि गरेको थियो।

भारतले निर्यातमा रोक लगाउँदा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा नेपाली बजारमा असर पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। सञ्जेलका अनुसार उपभोक्ताले उपभोग गर्ने गहुँ स्वदेशमै उत्पादन हुने भए पनि पाउरोटी, पास्ता, चाउचाउलगायत वस्तु उत्पादन गर्न गहुँ आयात हुने गरेको छ। ‘औद्योगिक प्रयोजनका लागि आवश्यक गहुँ विदेशबाट आयात हुन्छ,’ प्रवक्ता सञ्जेलले भने, ‘कच्चा पदार्थ नआउँदा मूल्यवृद्धि हुन सक्छ।’ पोहोर करिब १२ अर्ब रुपैयाँको गहुँ आयात भएको थियो। बजार मागअनुसार चिनी उत्पादन नहुने भएकाले त्यसको असर पनि बजारमा पर्ने देखिएको छ। ‘चिनी पर्याप्त उत्पादन हुँदैन,’ सञ्जेलले भने, ‘अन्य मुलुकबाट आयात गर्दा मूल्यवृद्धि हुन सक्छ।’

 

नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा करिब सवा ३ लाख मेट्रिक टन चिनी उत्पादन हुन्छ। स्वदेशी उत्पादनले अपुग भएपछि गत वैशाखसम्म ९४ हजार ८४ मेट्रिक टन चिनी आयात भएको छ। भन्सार विभागका अनुसार ४ अर्ब ८३ करोड रुपैयाँको चिनी आयात भएको छ। गहुँ वस्तुभाउले खाने दानाका रूपमा पनि प्रयोग हुन्छ। आयातलाई निरन्तरता दिन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सरोकारवाला बताउँछन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App