महिला उद्यमी महासंघ नेपालले आगामी भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने भएको छ।
महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीका अनुसार व्यापार मेलालाई व्यवस्थित र प्रभावकारी बनाउने बिषयमा छलफल गर्न महासंघका पदाधिकारी सम्मिलित टोलीले बुधबार (आज) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, बाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेको छ।
‘छलफलका क्रममा मेलाको आयोजनाबारे जानकारी गराइयो। यसको व्यवस्थापनबारे मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने भन्ने बिषयमा छलफल भयो। सरकारको सहयोग र सद्भावको पनि अपेक्षा गरियो,’ वरिष्ठ उपाध्यक्ष तथा महिला व्यापार मेला संयाेजक ज्ञवालीले नागरिकन्यूजसँग भनिन्।
मन्त्री बडूलाई यस मेलाकाे समिक्षाबारे महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष निरु रायमाझी खत्रीले प्रकाश पारेकी थिइन्।
टोलीमा महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महासचिव महालक्ष्मी श्रेष्ठ, सचिव सविता सुवेदी र कार्यकारी निर्देशक सुयशा स्थापित सहभागी थिए।
टोलीले मन्त्री बडूलगायत दुवै सचिवसँग सिंहदरबारस्थित उनीहरुकै कार्यकक्षमा छलफल गरेको थियो।
प्रकाशित: ११ जेष्ठ २०७९ १३:५१ बुधबार