१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजनाको इकाई कार्यालय।

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ। आयोजनाको मुआव्जा, वातावरण, पुनर्बास तथा पुनर्स्थापना इकाईले पहिलो चरणको आठ सयभन्दा बढी लाभग्राहीको मुआब्जा रकम बैंकमार्फत खातामा पठाएको इकाई प्रमुख जगतकुमार श्रेष्ठले बताए।  

‘एक अर्ब ७० करोड मुआब्जा रकम पठाइएको छ,’ उनले भने, ‘हामीले अरु पनि पठाउन तयारी गरिरहेका छौँ, एक हप्तामा बाँकीको पनि खातामा रकम जान्छ।’ इकाईलाई चालु वर्ष करिब सात अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो। जग्गा प्राप्ति र घरगोठ मुआब्जामा करिब ६ अर्ब रुपैयाँ थियो। ‘हामीसँग रहेको रकमले घरगोठको सबै मुआब्जा दिन नपुग्न सक्छ,’ इकाई प्रमुख श्रेष्ठले भने, ‘पुगेन भने थप बजेट माग्छौँ।’ अहिले विनियोजन भएको रकमको मुआब्जा असार पहिलो हप्तासम्म वितरण गरिसक्ने उनले बताए।  

आयोजनाले यसअघि जग्गाको मुआब्जा वितरण गरिसकेको छ। जिल्ला मुआब्जा निर्धारण समितिले गत चैत तेस्रो साता घरगोठ बोटबिरुवाको मुआब्जा निर्धारण गरेको थियो। ‘मुआब्जा निर्धारण भएपछि तथ्याङ्क प्रशोधन गर्ने, इन्ट्री गर्नेतर्फ लाग्यौँ,’ इकाई प्रमुख श्रेष्ठले भने, ‘निरन्तर प्रयासपछि वितरण सुरु गर्न सकिएको हो।’

मुआब्जा वितरणमा केही समस्या देखिएको आयोजना कार्यालयले जनाएको छ। घरजग्गा, बोटबिरुवा नापजाँच यस अघि जग्गाको मुआब्जा नलिएका ब्यक्तिको नाममा रहेको खण्डमा वितरणमा समस्या हुन सक्ने भएको छ। जग्गा नै नभएको ब्यक्तिको नाममा घरगोठको मुआब्जा पठाउँदा बेरुजु देखिन सक्ने इकाईले जनाएको छ। त्यस्तो समस्या भएमा जग्गाधनी, लाभग्राहीबीच सहमति हुनुपर्छ। ‘यस्ता समस्या छन्, हामी समाधान पनि खोजिरहेका छौँ,’ इकाई प्रमुख श्रेष्ठले भने। जसको जग्गामा संरचना र बोटबिरुवा छ उसैको नाममा मुआब्जा पठाउन सहज हुने आयोजना कार्यालयले जनाएको छ।

गोरखा र धादिङको सिमानामा बन्ने भनिएको १२ सय मेघावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिकरण भईसकेको छ। जग्गाको मुआब्जा वितरण भएको दुई वर्षपछि घरगोठ बोटबिरुवाको मुआब्जा तोकिएको हो। आयोजना कसरी निर्माण गर्ने भन्ने मोडालिटी टुङ्गिएको छैन। घरजग्गा र बोटबिरुवाको मुआब्जा वितरण भएपनि जिल्ला मुआब्जा निर्धारण समितिले घरगोठको मुआब्जा तोक्दा पुनर्स्थापनाका लागि बनाएको योजना अनुसार कुनैपनि काम सुरु भएको छैन।

प्रकाशित: ९ जेष्ठ २०७९ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App