१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

हिमालय एयरलाइन्सको सफल सगरमाथा आरोहण

हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले सगरमाथा आरोहण गरेका छन्। स्थानीय समयअनुसार जेठ २ गते सोमबार बिहान ७ः३० मा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग परिचारिका डंगोलले सगरमाथाको सफल आरोहण गरेका थिए।

हिमालय एयरलाइन्सको ऐतिहासिक परियोजना ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ माफर्त नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको यस एक्सपिडिसनअन्तर्गत परिचारिका डंगोलसहितको टिमले सगरमाथाको सफल आरोहण गरेका हुन्।

डंगोलसहितको टोली जेठ ६ गते नै काठमाडौं फर्किएका छन्। उनलाई एयरलाइन्सद्वारा कार्यक्रम गरी स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा बोल्दै हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्गरले डंगोलको सफलता सम्पूर्ण एयरलाइन्सको गौरवको क्षण भएको बताए। टोलीलाई बधाइ दिँदै उनले भने–‘यो हाम्रा लागि निकै महत्त्वपूर्ण परियोजना हो। हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं।

यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू भएको जनाउँदै आरोहण टोलीको तयारी राम्रो र उनीहरूमा दृढ संकल्प भएकाले परियोजना सफल हुनेछ भन्नेमा विश्वस्त भएको अध्यक्ष एन्योङ्गरले बताए। उनले भने ‘हिमालय एयरलाइन्सका लागि यो वास्तवमै सुखद उपलब्धि हो। यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ।’

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्सको मुख्य उद्देश्यहरू मध्ये नेपाली पर्यटन प्रवर्द्धन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालय एयरलाइन्सका तर्फबाट चालिएको एउटा सानो कदम मात्र भएको बताए।

परियोजना सफल रूपमा सम्पन्न भएपछि डंगोलले सर्वोच्च शिखरमा हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्न पाउनु गर्वको क्षण भएको बताइन्। उनले यात्रामा धेरै चुनौतीहरू भए तापनि शिखर पुग्नुको अर्को विकल्प नसोचेको बताइन्।  

प्रकाशित: ८ जेष्ठ २०७९ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App