६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँ श्रम स्वीकृति र वैधानिकीकरण सेवा पनि अब अनलाइन मार्फत

वैदेशिक रोजगार कार्यालय ताहाचलले नयाँ श्रम स्वीकृति र वैधानिकीकरण सेवा अनलाइन मार्फत प्रवाह गर्ने भएको छ।

यसअघि श्रम कार्यालयले संस्थागत अन्तर्गत पूर्व र अन्तिम श्रम स्वीकृति लिन अनलाइन प्रणाली लागु गरिसकेको छ। कार्यालयले माघ २ गतेदेखि व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेका लागि आवश्यक पर्ने पुनः श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सुरु गरेको थियो।  कार्यालयले नयाँ र वैधानिकीकरण सेवा लिन आगामी जेठ ६ गतेदेखि अनलाइन सेवा लागु गर्न लागेको हो।

यो व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि गरिएको प्रबन्ध हो। ‘संस्थागत श्रम स्वीकृति अन्तर्गत पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति लिन लागु गरिएको अनलाइन प्रणाली सेवा प्रभावकारी देखिएको छ’, कार्यालयका निर्देशक हरिराम नागिलाले सोमबार नागरिकसँग भने ‘अब यही जेठ ६ गतेबाट नयाँ र वैधानिकीकरण सेवा पनि अनलाइनमार्फत दिन सुरु गरिँदैछ ।’ उनका अनुसार यो सेवा सुरु गरेपछि कार्यालयमा आउने सेवाग्राहीको संख्या लगभग शून्य जस्तै हुनेछ।

निर्देशक नागिलाले अहिले भौतिक रूपमा सेवा लिन दैनिक १ सय ५० जनाको हाराहारीमा मात्र सेवाग्राही आउने गरेको जानकारी दिए। उनका अनुसार जेठ ६ गतेपछि कार्यालयमा व्यक्तिगत वा संस्थागत रूपमा सेवा लिन भौतिक रूपमा आइरहनु पर्ने अवस्थाको पूर्ण अन्त्य हुनेछ।

यो कार्यालयले फेस, क्यास, र पेपर लेसको अवधारणा अनुसार संस्थागत श्रम स्वीकृति दिन पूर्ण रूपमा अनलाइन सेवा सुरु गरेको थियो। कार्यालयले यही वैशाख २ गतेबाट संस्थागत श्रम स्वीकृति दिने काम अनलाइन प्रणालीमार्फत सुरुवात गरेको थियो। वैदेशिक रोजगारमा जाने युवा तथा म्यानपावर कम्पनी अहिले भौतिक रूपमा श्रम कार्यालयमा सेवा लिन आउने गरेका छैनन्। रोजगारीमा जाने युवा र म्यानपावर कम्पनी मात्र होइन अनलाइन सेवा सुरु भए पछि सरकारी कर्मचारीलाई पनि सजिलो भएको छ।

कार्यालयमा अहिले दैनिक १ हजारदेखि १२ सय जनासम्म सेवाग्राहीले देश तथा विदेशबाट संस्थागत अनलाइन प्रणालीबाट सेवा लिइरहेका छन्। यो सेवाबाट व्यक्तिगत तथा मेनपावर व्यवसायीहरूले झन्झटिला फाइल प्रक्रियाहरू लिएर आउने पद्धतिको समेत अन्त्य भएको छ। निर्देशक नागिलाले अनलाईन प्रणाली अत्यन्तै प्रभावकारी, सेवामैत्री, सरल र सहज भएको बताए।

प्रकाशित: २७ वैशाख २०७९ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App