सिप सिकेर स्वरोजगार बनी सुन्दरहरैंचाका महिलाहरूले फुर्सदको समय सदुपयोग गरेर राम्रो आम्दानी गरिरहेका छन्। तीन वर्ष पहिले सुन्दरहरैचा नगरपालिकाले दिएको सिप विकास तालिममा सहभागी भएकी हरैंचा–३ गछिया चोककी नैनकला भण्डारी यतिबेला कृष्टलको गहना बनाएर राम्रो आम्दानी गर्न थालेकी छिन्। स्थानीय स्तरमै खपत हुने भएकाले उनले बनाएका गहना बेचनका लागि बजारको कुनै खाँचो छैन।
धेरैजसो गहना स्थानीय स्तरमै खपत हुने गरेको उनले बताइन्। पहिलो लकडाउनमा क्रिष्टलको गहना बनाउने १५ दिने कोर्षको सिप सिकेकी उनले लकडाउनको समयमा गहना बनाएर राम्रो आम्दानी गरेको बताइन्। आफूले बनाएको गहना बेच्नका लागि गछिया चोकमै उनले पसल पनि खोलेकी छिन्। पसलमै बसेर पनि फुर्सदको समयमा उनले गहना बनाउने गरेकी छिन्। पहिलो वर्ष गहना बनाउने बेच्ने मात्रै गरेकी उनले दोस्रो वर्षदेखि सिप पनि सिकाउने गरेको बताइन्। क्रिष्टलका गहना बनाउन सिक्न चाहनेलाई उनले पसलमै सिप पनि सिकाउने गरीकी छिन्।
सामान्य गहना बनाउने १५ दिनको तालिमले यतिबेला उनलाई आत्मनिर्भर बनाएको छ। ‘क्रिष्टलका गहना बनाएर घरमै बसेर राम्रो आम्दानी गरिरहेकी छु,’ भण्डारीले भनिन्। उनका अनुसार सबै खर्च कटाएर मासिक कम्तीमा पनि २५ हजार रुपैयाँ आम्दानी भइरहेको छ।
सिप सिकेर सिपको उपयोग नगर्दा केही पनि नहुने तर, सिप अनुसारको काम गरे रोजगारीसँगै आम्दानी पनि हुने उनले बताइन्। धेरै वटा संस्था र सरकारी निकायहरूबाट जे पनि तालिम लिने, तर, काम नगर्ने प्रबृत्तिले सिपविकास तालिमका लागि गरिएको लगानी बालुवामा पानी हुने गरेको उनले बताइन्। सिप सिकेर स्वरोजगार बन्न चाहनेहरूलाई मात्रै तालिम दिनुपर्ने उनको भनाई छ। नैनकलाले भनिन्, ‘सिपको सदुपयोग नगर्नेलाई दोहोर्याएर तालिम नदिने व्यवस्था गरे तालिमको सदुपयोग हुने थियो,’ उनले भनिन्।
गहनाको बजारका लागि उनले प्रविधिको पनि प्रयोग गरेकी छिन्। अनलाईनबाट पनि विभिन्न जिल्लाका ग्राहकलाई अर्डर अनुसार गहना पठाइदिने गरेको उनले बताइन्। आफूले बनाएका गहना मात्रै नभई अरुले बनाएका गहनाको पनि बजारको व्यवस्था गरिरहेको उनले बताइन्। कसैले गहना बनाएर ल्याए किनेर पसलमा राख्ने गरेको भण्डारीले बताइन्। साधारणखालका भन्दा आकर्षक डिजाइनका गहना ग्राहकले धेरै रुचाउने गरेकाले ग्राहकको अर्डर र नयाँ डिजाइनका गहना चाँडै बिक्ने गरेको उनको अनुभव छ।
भण्डारी मात्रै हैन सुन्दरहरैंचा–४ बलियाकी सुस्मा थापाले पनि क्रिष्टलका गहना बनाएर स्वरोजगार बनेकी छिन्। चार वर्ष पहिले वडा कार्यालयले दिएको तालिममा सहभागी भएकी उनले बेसिक तालिम वडामा पाइन्। पछि काठमाण्डौं गएर एड्भान्स तालिम पनि लिएपछि उनले घरमा गहना बनाउने मात्रै नभई विभिन्न संघ संस्थाले आयोजना गर्ने तालिमहरूमा प्रशिक्षक भएर पनि काम गर्दै आएकी छिन्। मासिक २५–३० हजार रुपैयाँ आम्दानी गरिरहेकी उनले नेपालमा मात्रै नभई विदेशमासमेत गहान पठाउने गरेकी छिन्।
घरमा फुर्सदको समयमा थापाले ग्राहकको रोजाई र अर्डर अनुसार गहना बनाउने गरेको बताइन्। उनले भनिन्,‘ग्राहकहरू घरैमा अर्डर दिन आउने भएकाले क्रिष्टलका गहनाको बेच्न बजार चाहर्दै हिड्नु पर्दैन।’ सिप सिक्ने तर, त्यसको प्रयोग नगर्ने प्रबृत्ति बिकृतिका रुपमा रहेको बताउँदै उनले सिपको सदुपयोग गर्नेलाई मात्रै तालिममा सहभागी गराउनुपर्ने बताइन्। थापाले क्रिष्टलका गहना बनाएर आम्दानी गर्न थालेपछि गाउँका अरु महिलाहरू पनि क्रिष्टलका गहना बनाउन सिक्न आफूकहाँ आउने गरेको उनको भनाई छ।
सुन्दरहरैंचा विकासको बगैंचा भन्ने नारा लिएको सुन्दरहरैंचा नगरपालिकाले आयआर्जनका लागि मात्रै नभई संस्कृति र कलाको संरक्षण गर्न चाहने महिलाहरूलाई पनि प्रोत्सहन गर्ने नीति लिएको सुन्दरहरैंचा नगरपालिकाकी समाजिक विकास शाखा प्रमुख शान्ता घिमिरेले बताइन्। उनका अनुसार स्थानीय कला, संस्कृति र परम्परागत पञ्चे बाजाको संरक्षणका लागि अग्रसरता देखाउने महिलाहरूलाई पनि नगरपालिकाले सहयोग गरेको जानकारी दिइन्। नगरपालिकाको सहयोगमा सुन्दरहरैंचाका महिलाहरूले पञ्चेबाजा संरक्षणका लागि समूह बनाएर बाजा बजाउने काम समेत गरिरहेका छन्।
परम्परागत रुपमा पुरुषहरूले मात्रै बजाउने गरेको पञ्चे बाजालाई सुन्दरहरैंचाका महिलाहरूले व्यवसायिक रुपमा समूह बनाएर बजाउन थालेको नौमति बाजा संरक्षण समिति सुन्दरहरैंचाका अध्यक्ष दुर्गा थपलियाले बताए। सुरूमा पुरुषहरूको मात्रै समूहले नौमति बजा बजाउने गरेको भए पनि पछि महिलाहरूसमेतले चासो देखाउन थालेपछि वडा कार्यालय र सुन्दरहरैंचा नगरपालिकाको कार्यालयबाट सहयोग लिएर बाजा र ड्रेसको कपडा किनेको थपलियाले जानकारी दिए।
नौमति बाजा विशेष गरी शुभ कार्यहरूमा प्रयोग हुने गरेका कारण शुभ कार्यमा बाजा बजाउन माग आउने गरेको उनले बताए। हाल एउटा पुरुष र एउटा महिलाको समूहले नौमति बाजा व्यवसायीक रुपमा बजाइ रहेको छ। अब, थप अरु समूहहरू पनि बनाउने योजना आफूहरूको रहेको थपलियाले बताए। एउटा शुभ कार्यमा बाजा बजाएबापत २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म आफूहरूले लिने गरेको उनले बताए। बाजा बजाउने सिपले गाउँमै महिलाहरूलाईसमेत रोजगारी मिलेको थपलियाले बताए। नौमति बाजा बजाउने पेशा अंगाल्दा संधै काम पाइरने नभए पनि सिजनल रुपमा पाएको कामले पनि राम्रो आम्दानी हुने गरेको उनको भनाई छ।
यता सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल सुन्दरहरैंचा नगरपालिकामा गर्न चाहनेहरूलाई नगरपालिकाले सिपको व्यवस्था गरेको बताउँछन्। स्वरोजगार बन्न चाहनेहरूले सिप सिक्नका लागि सहयोग मागे नगरपालिकाले त्यस्ता व्यक्तिहरूलाई सिप सिक्ने व्यवस्था गरेको नगरप्रमुख ढकालले बताए। उनले नगरपालिकाले ५ वर्षको अवधिमा नगरपालिकाका सबैजसो वडामा सिप विकासका कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए।
नगरपालिकाले सञ्चालन गरेका सिप विकास तालिममा सहभागी भएर धेरैले गाउँ घरमै विभिन्न पेशा अपनाएर स्वरोजगार बनेको मेयर ढकालले जानकारी दिए। उनले सिप सिकेर स्वरोजगार बन्न चाहनेहरूलाई संधै सहयोग गर्न नगरपालिका तत्पर रहेको स्पष्ट पारे।
प्रकाशित: १७ वैशाख २०७९ ११:२६ शनिबार