१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजको परीक्षण उडान सफल

लामो समयको प्रतिक्षापछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। बिहीबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेपछि यो विमानस्थल सञ्चालनमा आएको हो।

बिहीबारको परिक्षण उडान सफल भएकाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अब व्यवसायिक रुपमा अन्तराष्ट्रिय उडानका लागि खुला भएको विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले बताए। देशभित्रै एक स्थानबाट अर्को स्थानमा ठूला जहाजले उडान/अवतरण गरेको यो पहिलो पटक हो।

नेपालको उडडयन क्षेत्रमा यसलाई ऐतिहासिक दिनको रुपमा लिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट विमान बिहीबार दिउँसो तीन बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्ने भनिए पनि अपरान्ह पाँच बजे जहाज काठमाडौंबाट उडेको थियो। २७४ सिटे जहाज ५ः५५ बजे भैरहवा अवतरण गरेको थियो।

अवतरण गरीसकेपछि मोडमा पाइलट झुक्किँदा जहाज सिधै केही मिटर पर पुगेको थियो। करिब २० मिनेट रोकिएपछि जहाजलाई उपकरण (ह्याङ्गर)को सहायताले पछाडी तानेर मोडीएको थियो। त्यसपछि भने पानीको फोहोराले जहाजलाई स्वागत गरीयो।

परीक्षण उडानमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी तथा उच्च सरकारी अधिकारी र पत्रकारहरु सहभागी थिए। मन्त्रीसहितको टोलीले विमानस्थलको अवस्था, सुरक्षा, अध्यागमन, भन्सारलगायतका विषयमा जानकारी लिएको थियो।

वाइडबडीको चालकदलमा क्याप्टेन सुधिर तोमार र श्रवण रिजालसहित कोपाइलट रमन घिमिरेले रहेका थिए। विमान राती सवा ९ बजे काठमाडौँ फर्कीएको हो। परीक्षण उडानपछि अब अन्य मुलुकले चार्टर्ड फ्लाइट गर्न सक्ने विमानस्थलका प्रमुख दाहालले बताए।

यसअघि गत फागुन ६ गते एरो थाईको क्यालीब्रेसन उडान सफल भएको थियो। यही वैशाख ७ गते विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको हो। अगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर विमानस्थलबाट व्यवसायिक अन्तराष्ट्रिय उडान गर्ने तयारी छ। त्यसदिन कुवेतको जजिरा एयरवेजले अन्तराष्ट्रिय उडान भर्न अनुमति लिइसकेको छ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरीसकेको छ। दाहालका अनुसार नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फलाइ दुवइ, थाइ स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत ११ मुलुकका कम्पनीहरुले उडान भर्न चासो देखाइरहेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै क्षमतामा यो विमानस्थल संचालन हुनेछ।

यहाँ न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्नेछन्। यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको नेपालकै दोश्रो अन्तराष्ट्रिय विमानस्थल हो। त्रिभुवन विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत कालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पको रुपमा जहाज अवतरण गर्न सक्नेछन्।

यो विमानस्थल सञ्चालनमा आएपछि आपतकालिन अवस्थामा जहाजहरु भारत या बगंलादेश डाइर्भट गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। २०७१ सालको माघमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेको विमानस्थल ३ वर्ष भित्रै निर्माण गर्ने भनिए पनि ठेक्केदारको लापरबाहीका कारण आयोजना लम्बिएको थियो।

झण्डै ८ बर्ष पछि विमानस्थल निमार्ण भइ सञ्चालनमा आएको छ। पहिलो पटक बिक्रम सम्बत २०२३ सालमा यो विमानस्थल सञ्चालनमा आएको थियो। सुरुमा २८७ बिगाहामा सञ्चालित विमानस्थल ५६ वर्षपछि अहिले ८१० बिगाह क्षत्रेफलमा विस्तार भएको छ। अन्तराष्ट्रिय नागरिक उड्यन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरु सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरुले जनाएका छन्।

विमानस्थलको क्षमताप्रति घण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ। यो विमानस्थल निर्माणको पहिलो चरणमा ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। एसियाली विकास बैंकको सहुलियत ऋणमा विमानस्थल निर्माण भएको हो। यो विमास्थलको मुआब्जामा मात्रै नेपाल सरकारको २२ अर्ब बढी खर्च भएको छ।

पर्यटन विकास र निर्यात व्यापारमा कोषे ढुङ्गा सावित हुने अपेक्षा बुद्धजन्म स्थल लुम्बिनीदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको यो बिमानस्थलले लुम्बिनीलाई अन्तराष्ट्रिय जगतसंग सिधा हवाइ सम्पर्क स्थापित गर्ने छ। जसले लुम्बिनीसहित पश्चिम नेपालको पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ। त्यही अपेक्षाका साथ पछिल्ला केही वर्ष यता यो विमानस्थल लगानी आकर्षणको मुख्य कारण बनिरहेको छ।

बिहीबारदेखि विमानस्थल सञ्चालनमा आएपछि भैरहवा, लुम्बिनी क्षेत्रका स्थानीय सगै ठूला साना लगानीकर्ताहरु उत्साहित भएका छन्। यो विमानस्थल लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा संगै लगानी कर्ताहरु हौसीएका हुन्। पर्यटन क्षेत्रमा ठूला पाँच तारे होटलदेखि साना होटल, रेष्टुँरा, रिर्सोट, टुर एण्ड ट्राभल तथा यातायात, हाउजिङमा अर्बौको लगानी भित्रिएको छ।

भैरहवा, लुम्बिनी या रुपन्देही जिल्लामा मात्रै हैन प्रदेशका अन्य जिल्लामा समेत यो विमास्थलका कारण पर्यटन विस्तार हुने आशमा स्तरीय होटल खुल्ने क्रम तीव्र छ। पाँच तारे होटलकै संख्या दजनौं पुग्न थालिसकेका छन्। व्यवसायिक कृषि तथा निर्यातको सम्भावना बोकेका उत्पादनजन्य उद्योगमा पनि लागनी बढ्दो छ।

लामो समयको प्रतिक्षा पछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा स्थानीयमा उत्साह छाएको भैरहवाका पर्यटन व्यवसायी बिष्णु शर्माले बताए। ‘बाह्य पर्यटक आगमन बृद्धिसँगै आर्थिक, औधोगिक र कृषि क्षेत्रको विकास र निर्यात प्रवर्द्धनमा विमानस्थल कोषे ढुङ्गा सावित हुनेछ भन्ने आशा लिएका छौं’ शर्माले भने। यो विमानस्थलले अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यवसायीको छ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुलप्रसाद न्यौपानेले हिमाली, पहाडी र तराइका कृषिजन्य जडीबुटी जन्य, गारमेन्ट तथा हस्तकलाका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा निर्यातको सम्भावना औल्याए। यो विमानस्थललाई युवा पलाएन हुने एक्जीटको रुपका विकास नहोस भन्नका लागि अन्तराष्ट्रिय व्यापार विस्तार र निर्यात प्रवर्द्धनका योजनाहरु सरकार र निजी क्षेत्रले ल्याउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १६ वैशाख २०७९ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App