भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग ‘रन वे’ बिहीबारदेखि संचालनमा आएको छ। लामो सयमको प्रतिक्षापछि बिहीबार विहान यति एयरलाइन्सको विमानले पहिलो पटक धावन मार्गबाट उडान सुरुवात गरेको थियो। त्यसलगत्तै काठमाडाैंबाट आएको बुद्ध एयरको विमान अवतरण गरेको थियो।
बुधबार रातीदेखि पुरानो धावन मार्ग बन्द गरेर नयाँ धावनमार्ग संचालनमा ल्याइएको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले जानकारी दिए। बिहीबार गरिएका उडान अवतरणमा कुनै प्राविधिक समस्या नदेखिएको उनले बताए। पुरानो धावनमार्ग अब ट्याक्सी वेकोरुपमा सञ्चालन हुने दाहालले बताए।यस अघि गत फागुनमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सफलता पूर्वक गरीएको थियो। अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो र ४५ मिटर चौडाइँको छ। यहाँबाट साना ठुला सबै विमानले उडान अवतरण गर्न सक्ने दाहालले जानकारी दिए।
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भएपछि काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पको रुपमा जहाज अवतरण गर्न सक्नेछन्। यो विमानस्थल संचालनमा आएपछि आपतकालिन अवस्थामा जहाजहरु भारत या बगंलादेश डाइर्भट गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा लिइएको अधिकारीहरुले बताएका छन्। विमानस्थल बिहान ६ बजेदेखि राती १२ बजेसम्म खुल्ला रहने छ।
बिहीबारदेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरीएपनि अन्तराष्ट्रिय उडान भने जेठ २ गते गर्ने तयारी छ। जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजीरा एयरलाइन्सले पहिलो पटक यो बिमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका बनाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन्। अन्तर्राष्ट्रियरुपमा व्यवसायिक उडान सुरु भएपछि जजिरा एयलाइन्सले यहाँबाट नियमित रुपमा एउटा उडान भर्ने गरी अनुमती लिने प्रक्रियामा रहेको बताइएको छ। त्यस्तै थाइ स्माइल एयरलाइन्स,श्रीलकाको श्रीलकंन एयरलाइन्स, कतारको कतार एयरलाइन्स र ओमनको सलाम एयरलाइन्सले पनि भैरहवाबाट हवाइ उडान सञ्चालनका लागि चासो देखाइरहेको विमानस्थलका अधिकारीहरुले बताएका छन्।
२०७१ सालको माघमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेको विमानस्थल ३ वर्ष भित्रै निर्माण गर्ने भनिएपनि ८ वर्षपछि अहिले निर्माण सम्पन्न भएको हो। विमानस्थलमा आठ तले कन्ट्रोल टावर, अन्तराष्ट्रिय ट्रमिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ,बिद्युत सवस्टेशन,सुरक्षाकर्मी आवास गृह,चेकिङ काउण्टर, अफीस,अध्यागमन,कार्गो भवन लगायतका संरचना बनेका छन्।
तीन हजार मिटर लामो धावनमार्गसहित ५ वटा विमान पार्किङ क्षमताको एप्रोन तयार छ। १ हजार ९ सय मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक,खानेपानी ट्यांकी,बगैंचाहरु लगायत आवश्यक पूर्वाधार छन्।
सुरुमा २८७ बिगाहामा संचालित बिमानस्थल अहिले ८१० बिगाह क्षत्रेफलमा बिस्तार भएको हो। अन्तराष्ट्रिय नागरिक उड्यन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर वस ३३०, बोइङ ७७७–२०० सिरिज, लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरु सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरुले जनाएका छन्। विमानस्थलको क्षमता प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ। अत्याधुनिक उपकरण जडित बिमानस्थलको रनवे र ट्याक्सी वेको संरचना त्रिभुवन बिमानस्थलको भन्दा उत्कृष्ट रहेको दावी विमानस्थलका अधिकारीहरुको छ। अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो बिमानस्थलको लगानी अहिलेसम्म करिब ३२ अर्ब पुगेको बताइएकाे छ।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको यो बिमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसंग सिधा हवाई सम्पर्क स्थापित गर्ने छ। जसले लुम्बिनीसहित पश्चिम नेपालको पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ।
प्रकाशित: ८ वैशाख २०७९ १२:१९ बिहीबार