४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्र संकटमा पुगेको छैनः परिसंघ

मुलुकको अर्थतन्त्र खराब अवस्थामा पुग्न लागेको भनेर टिकाटिप्पणी भइरहेको अवस्थामा उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसंघ (सिएनआई)ले अर्थतन्त्र संकटमा नपुगेको बताए। परिसंघले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नेपाल गम्भीर आर्थिक संकटमा नपुगेको दाबी गरेको छ।

अर्थतन्त्रमा केही समस्या देखिए पनि समस्याग्रस्त अवस्थामा नपुगेको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए। ‘उच्चदरमा आयात बढेकाले अर्थतन्त्रमा केही समस्या देखिएको छ’, अग्रवालले भने– ‘हामीले उपचार गर्नुपर्छ।’

नेपाल गम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन गर्दै बजारमा त्रासदिपूर्ण अवस्था आउन दिन नहुने जनाएको छ। विदेशी मुद्रा आर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि काम गर्ने उचित अवसर आएकाले ठोस नीति बनाइ काम गर्नुपर्ने परिसंघले जनाएको छ।

नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अर्थतन्त्रसँग तुलना गर्न नहुने परिसंघका उपाध्यक्ष अनुज अग्रवालले बताए। ‘नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुगेको छैन’, उनले भने– ‘धेरै चिन्तित हुनुपर्ने अवस्था छैन।’ बजारमा माग बढिरहेको, समाजिक समस्या नदेखिएकाले अर्थतन्त्रमा संकट नभएको दाबी गरे। ‘नेपालमा मुद्रास्फीति धेरै उच्च दरमा पुगेको छैन’– अग्रवालले भने।

परिसंघले कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान नभएको बताउँदै आयात व्यवस्थित गर्ने सोच राख्नुपर्ने जनाएको छ। स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल गर्न आग्रह गरेको छ।

शिथिल अर्थतन्त्रमा चालु आर्थिक वर्षको सुरुबाटै पुनरोत्थानका संकेतहरू देखिन थाल्दा बजारमा वस्तुको उच्च माग सिर्जना भएको परिसंघको दाबी छ। आर्थिक वर्षको मध्यसम्म अपेक्षाकृत तवरमा पर्यटन र विप्रेषण आय बढ्न नसकेको र अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा भएको अनपेक्षित वृद्धिको असर नेपालमा देखिएको जनाएको छ।

नेपाली बजारमा विगत दुई वर्षदेखि खुम्चिएको माग बढ्ने अवस्था आउँदा विदेशी विनिमय सञ्चितिमा चाप परेको निजी क्षेत्रको निष्कर्ष छ। नियमनकारी निकायबाट विदेशी विनिमय सञ्चिति जोगाउन एक पछि अर्को निर्देशन जारी भएकाले कारणले बजारमा असहज र अत्यास लाग्दो वातावरण सिर्जना भएको दाबी गरेको छ।

सरकारको कमजोर पुँजीगत खर्च र बजारमा लगानीयोग्य रकमको अभाव रहिरहँदा तरलतामा समेत चाप परेको, लगानीको वातावरण बिग्रँदै जाँदा लगानीकर्तामा उत्साह बढ्न नसकेको परिसंघको ठहर छ।

विदेशी विनिमयमा चाप परिरहेको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएकाले आगामी दिनमा विप्रेषण बढ्ने परिसंघको दाबी छ। पर्यटक आगमन उच्च दरले बढ्दै गएकाले पर्यटन आय बढ्ने, कोभिडका कारण न्यून भएको माग आर्थिक अवस्था सामान्य हुँदै जाँदा उच्च दरमा वृद्धि भएकोमा अहिले त्यस्तो माग पूर्ति भइसकेकाले आयात स्थिर हुने संकेत देखिएको जनाएको छ।

विदेशी मुद्राको सञ्चिति बढाउन परिसंघले सरकारलाई सुझाव दिएको छ। गैरनेपालीलाई निश्चित संख्या, निश्चित स्थान र विदेशी मुद्रामा अपार्टमेण्ट खरिद गर्न अनुमति दिनुपर्ने, विदेशी मुद्रामा जुनसुकै समयमा अपार्टमेण्ट बिक्री गर्न पाउने व्यवस्था कायम गर्ने, नेपाली मुद्रामा बिक्री गर्न निश्चित समय सीमा कायम गर्ने, अपार्टमेण्ट खरिद गर्नेलाई दीर्घकालीन भिसा वा स्थायी बसोबासको प्रमाणपत्र उपलब्ध गराउन परिसंघले सुझाव दिएको छ। त्यसैगरी गैरआवासीय नेपालीहरूलाई विदेशी मुद्रामा सेयर खरिद गर्न आईपीओको कुल रकमको १५ प्रतिशत कोटा सुनिश्चित गर्न सुझाव दिएको छ। 

प्रकाशित: ७ वैशाख २०७९ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App