१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयात प्रतिबन्धको साटो कर परिवर्तन गर्न माग

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर परिवर्तन गर्न सुझाव दिएका छन्।

अर्थमन्त्री जनार्दन शर्मासँग सोमबार भेट गर्दै अध्यक्ष अग्रवालले आयातका लागि लिइने ऋणको व्याजदर हेरफेर गर्नुपर्ने र उत्पादन एंव आयातमा जाने कर्जाको व्याजदर फरक फरक बनाउनु पर्ने सुझाव दिए। आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए। उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत व्याज दिन, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिए।

परिसंघको टोलीमा आवद्ध उद्योगी अनुज अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चाप कम गर्न र तरलता संकट न्यून गर्न मुख्य दुई विषयमा केन्द्रित रही कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताउँदै त्यसअनुसारका तथ्यांक प्रस्तुत गरेका थिए।

उनको कार्यपत्रमा नेपालको कूल गार्हस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कुल गार्हस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको उल्लेख छ। यस्तै नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत, कूल वैदेशिक मुद्रा सञ्चितिमा नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको उल्लेख छ। यस्तै नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको जानकारी दिइएको थियो।

अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने आफूले बारम्बार भन्दै आएको बताए। ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन्। चुनावी मुद्दा पनि बनाएका छन्’, मन्त्री शर्माले भने– ‘यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्थामा सुधारको काम गरिरहेका छौं।’ उनले आगामी आव ०७९–८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नतिजा देखिने गरी सुधार गर्ने जानकारी पनि दिए।

प्रकाशित: ६ वैशाख २०७९ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App