‘अब त गाउँमा कोही पाहुना घुमेको देख्दा पनि पैसा घुमिरहेझैं लाग्छ,’ भारत सिक्किमका अगुवा पर्यटनकर्मी वीरेन्द्र ताम्लिङ भन्दै थिए, ‘गाई दुुहेको, घाँस काटेको, रोपाइँ गरेको, गोबर सोहोरेको देखाएर र त्यही काम गर्न लगाएर पनि पर्यटकबाट पैसा लिनसक्नेमा सिक्किमका गाउँ अहिले निकै अघि बढेका छन्।’
ताम्लिङ भारतको सिक्किमलाई ग्रामीण पर्यटनको उदाहरण बनाउने पर्यटनकर्मीमध्येकै अगुवा हुन्। उनी भन्छन्, ‘पर्यटनको सबैभन्दा ठूलो सम्भावना गाउँमा छ तर त्यसलाई बेच्न जान्नुपर्छ। थोरै खर्चमा पूर्वाधार तयार गरी पर्यटकबाट राम्रो आम्दानी लिन सकिने ग्रामीण पर्यटनले देशको मुहार फेर्न सक्छ, जुन हामी प्रयास गर्दैछौं।’
इलाम सदरमुकाममा चलिरहेको केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आएका सिक्किमका सरकारी निकायका प्रतिनिधि, पर्यटनकर्मी, चलचित्रकर्मी र जिल्लाका समकक्षीले पर्यटन प्रवद्र्धनबारे अनुभव आदान–प्रदान गरे। ताम्लिङले सिक्किममा ग्रामीण पर्यटन फस्टाउनुको अनुभव बताउँदै सहरभन्दा गाउँमा पर्यटक बढी रमाउने गरेको बताए। ‘अचेल सहरभन्दा गाउँ घुम्न चाहने पर्यटक बढी आउँछन्,’ उनले भने, ‘गाउँमा १ रात बस्न आएको पर्यटक उसलाई आनन्द लाग्यो भने ७÷१० दिन बस्छ, हामीले गाउँका सामान्य वस्तु र काम बेचेरै राम्रो आम्दानी लिन सक्नेरहेछौं।’
सिक्किममा लिम्बू समुदायको बसोबास रहेको हिगाउँमा ताम्लिङलगायत व्यवसायीले सन् २००४ तिर ग्रामीण पर्यटनका लागि पूर्वाधार तयार गरेका थिए। उनीहरूले परम्परागत घरहरूमै पाहुनालाई सस्तो दरमा बसोबास गर्ने व्यवस्था मिलाए। सार्वजनिक स्थानमा सामान्य पूर्वाधार तयार गरिदिए। जब पर्यटक आउन थाले–घर–घरमा होमस्टे विस्तार हुँदैगयो। ‘अहिले सिक्किमका सहरभन्दा गाउँमा पर्यटकको घुइँचो लाग्छ,’ उनले सुनाए, ‘हाम्रो सरकारले पनि ग्रामीण पर्यटनलाई नै प्राथमिकता दिएकाले पर्यटन अब गाउँतिर केन्द्रित भएको छ।’
ताम्लिङका अनुसार जुनसुकै देशका गाउँमा पर्यटक भुल्याउने रैथाने गन्तव्य र केन्द्र धेरै हुुन्छन्। त्यसमा पनि सिक्किम र पूर्वी नेपालका पहाडी जिल्ला यसमा निकै धनी छन्। स्थानीय समुदायको संस्कृति, कृषि क्षेत्र, पुराना घर, पाटीपौवा, चराचुरुङ्गी, वनजंगल, जैविक विविधता, हिमाल सौन्दर्य, खोलानाला, ढुंगा–माटो गाउँमै हुने भएकाले पर्यटक अब त्यतैतिर रमाउन थालेको उनको अनुभव छ।
‘सहरमा रोपाइँ, खेतीपाती हुँदैन, गाउँमै हुन्छ, चराचुरुङ्गी, वनजंगल, खोलानाला, ढुंगा–माटो, फलफूलका बोटबिरुवा सहरमा होइन, गाउँमै हुन्छन्,’ उनले भने, ‘फलेको अम्बा बोटबाट पर्यटकलाई नै टिप्न (काम) लगाएर त्यही खान दिएर (बेचेर) पनि पैसा लिन सकिने सजिलो काम हो ग्रामीण पर्यटन।’ उनले गाउँका सबैजसो ठाउँ र परम्परागत काममा सहरका पर्यटक आकर्षित हुनथालेको बताए। र, उनले सहरमा पनि परम्परागत घर, ऐतिहासिक संरचना र महŒवपूर्ण सम्पदा जोगाउनुपर्ने जनाए।
पूर्वी नेपालका इलाम, पाँचथर, झापा र ताप्लेजुङको भौगोलिक सीमा भारतसँग जोडिन्छ। यसरी जोडिएको सिक्किम र यी चार जिल्लाका पर्यटन सरोकारवाला दुवैतर्फको समन्वयमा मात्र पर्यटन प्रवद्र्धनका काम गर्न सकिने बताउँछन्। पछिल्लो समय नेपालपट्टि मेला–महोत्सव हुँदा सिक्किम–पश्चिमबंगालका व्यवसायी तथा सरोकारवाला आउने र ती ठाउँमा भएका मेला–महोत्सवमा यताबाट सहभागी हुनेक्रमसमेत बाक्लिएको छ।
स्टेट बैंक अफ सिक्किमका चेयरम्यान डिबी गुरुङले इलाम नेपालकै सुन्दर जिल्लाका रूपमा रहेको भन्दै सिक्किम र इलामले पर्यटनमा सहकार्य गर्नु आवश्यक रहेको बताए। उनले सीमामा हुने आउ–जाउ सहज बनाउन दुवै देशका सरकारी निकायले पहल गर्नुपर्ने र आफ्नोतर्फबाट आवश्यक काम गर्ने प्रतिबद्धता गरे। ‘हामीले इलाम अत्यन्त सुन्दर देखेका छौं, हाम्रा नागरिकलाई र सिक्किम घुम्न आउने पर्यटकलाई इलाम घुम्न सुझाव दिनेछौं,’ गुरुङले भने, ‘दुवैतर्फको पर्यटन प्रवद्र्धनमा सरकारको तर्फबाट कुनै सहजीकरण गर्नुपर्ने भए त्यसका लागि पनि पहल गर्नेछौं।’ उनले इलामबासीलाई पनि सिक्किम घुम्न निम्तो दिए।
सिक्किम सरकारले ग्रामीण पर्यटन उकास्न गरेको महŒवपूूर्ण काम हो– फिल्म निर्माण क्षेत्रमा आकर्षक अनुदान। सरकारले फिल्म निर्माणमा प्रोत्साहन गरेपछि सिक्किम फिल्मबाट पनि आफ्ना पर्यटकीय क्षेत्रको प्रचारमा अब्बल दरिँदैछ। फिल्ममा गरेका प्रगतिकै कारण सिक्किमस्थित फिल्म प्रोडक्सन बोर्ड केही समयअघि भारतको राष्ट्रियस्तरको अवार्डसमेत हात पार्न सफल भएको थियो। बोर्ड प्रमुख पूजा शर्माले पर्यटन प्रवद्र्धनमा फिल्मको भूमिका महŒवपूूर्ण हुने बताइन्। ‘फिल्मका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सिक्किम सरकारले फिल्म निर्माताका लागि १ करोड रुपैयाँसम्म अनुदान दिइरहेको छ,’ उनले भनिन्, ‘यो अनुदान सिक्किम र भारतबासीलाई मात्र होइन, छायांकनको निश्चित मापदण्ड पु¥याउने संसारभरका निर्माताका लागि हो।’
सिक्किम सरकारले स्थानीय पर्यटकीय गन्तव्यको ७५ प्रतिशत दृश्य समेट्ने फिल्म निर्माणमा अनुदान दिने गरेको छ। फिल्म छायांकनका लागि सय ‘फिल्म सुटिङ डेस्टिनेसन’समेत छानिएका छन्। ‘फिल्मबिना त पर्यटन प्रवद्र्धन सम्भव नै छैन,’ शर्माले भनिन्, ‘सिक्किम सरकारले फिल्मका लागि सन् २०२० मा ‘फिल्म नीति’ ल्याएको छ।’ सरकारले ‘इको हेरिटेज फिल्म भिलेज’को अवधारणामा ग्रामीण पर्यटन प्रवद्र्धनको कार्यक्रम गरिरहेको उनले जनाइन्। सिनेमाले मानिसको सोचमै परिवर्तन ल्याउने भएकाले यसलाई सिक्किम सरकारले प्राथमिकता दिएर अघि बढेको उनको भनाइ छ। सिक्किमबाट आएका पर्यटन व्यवसायीले नेपाल–सिक्किम दुवैतर्फ भौतिक पूर्वाधार र आपसी समन्वयमा पर्यटन विकासका काम अघि बढाउन सुझाव दिए।
इलामका जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले आपसी सहकार्यबाट मात्र पर्यटन विकास हुनसक्ने बताए। ‘पूर्वाधार विकास, सीमाको आउ–जाउ सहजतालगायत व्यवसायी–व्यवसायीबीचमा पनि समन्वय हुनसके दुवैतिरको पर्यटनले गति लिन सक्छ,’ उनले भने, ‘कोरोनाले थलिएको पर्यटन उकास्न दुुवैतर्फका व्यवसायी सक्रिय रहनुुपर्छ।’
इलाम नगरपालिकाका मेयर महेश बस्नेतले सिक्किमबाट इलामले धेरै काम सिक्नेक्रममा रहेको बताए। ‘सिक्किमको काम गराइबाट हामीले धेरै सिक्न सक्छौं,’ उनले भने, ‘अर्गानिक गाउँदेखि ग्रामीण पर्यटनसम्मको सफलता कसरी हासिल हुन्छ भन्ने उदाहरण हामीले सिक्किमबाट सिक्नुपर्छ, आपसी सहयोग आदान–प्रदान गर्नुपर्छ।’
केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सवका संयोजक एवम् केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले पर्यटनमा देश–देश र प्रदेश–प्रदेशको समेत समन्वयको खाँचो औंल्याए। ‘पर्यटन भनेकै आपसी समन्वय हो। त्यसैले सरोकारवाला र व्यवसायीको ध्यान त्यतै जानुपर्छ,’ उनले भने, ‘आवश्यक स्थानमा पूर्वाधार तयार गर्नुपर्छ र निजी क्षेत्रसँग हातेमालो गर्नुपर्छ।’
प्रकाशित: १ वैशाख २०७९ १४:२८ बिहीबार