२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली नयाँ वर्षः पर्यटकीय गन्तव्य भरिभराउ

पोखरा फेवातालमा बिहीबार डुंगा सयर गर्नेको भीडभाड। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी नेपाली नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्यमा पाहुनाको घुइँचो लागेको छ। अहिले पोखरा र आसपासका गन्तव्यमा आन्तरिक पाहुनाको घुइँचो छ।

हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक गन्तव्य मुक्तिनाथसम्म पनि आन्तरिक पाहुनाको उत्तिकै भीड लागेको छ। पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा अहिले आन्तरिक पाहुनाको भीडभाड छ। पोखराका मध्यमदेखि तारेसम्मका होटलमा पाहुना भरिएका छन्। 

कोरोना संक्रमणले थलिएको पर्यटन व्यवसायमा राहत दिलाउने गरी आन्तरिक पाहुना पोखरा भित्रिएको व्यवसायीले बताएका छन्। पोखरा आसपासका सबैजसो पर्यटकीय गन्तव्यमा अहिले पाहुनाको भीड लागेको त्यहाँका व्यवसायीले बताएका छन्।  

‘मुक्तिनाथमा समेत आन्तरिक पाहुनाको भीडभाड छ। भारतीय पाहुना पनि यहीबेला भित्रिएका छन्,’ मुक्तिनाथसम्म पर्यटक घुमाउँदै गरेका पर्यटन व्यवसायी विजय केसीले भने, ‘मुक्तिनाथ उक्लिने पाहुना उत्तिकै छन्। हिमाली जिल्ला मुस्ताङ घुम्नका लागि बिहीबार दिनभर उक्लिँदै गरेका पाहुना सवार सवारीको बेनी–जोमसोम सडकखण्डमा भीडभाड छ।’ बिहीबार र शनिबार सार्वजनिक बिदा र बीचमा शुक्रबार परेकोले पनि पाहुना घुम्न निस्केको उनले बताए।  

केसीका अनुसार यो बेला भारतीय पाहुनाको संख्या पनि बढेको छ। त्यही संख्यामा आन्तरिक पाहुना पनि भित्रिँदा पर्यटकीय गन्तव्य भरिभराउ बनेका छन्। ‘कोरोना संक्रमण कम भएको मौका पारेर अहिले घुमघाममा निस्कनेको संख्या अधिक छ,’ केसीले भने, ‘राजमार्ग पनि उत्तिकै व्यस्त छ। साना गाडी रिजर्भ गरेर अहिले पाहुना धमाधम पर्यटकीय गन्तव्यमा घुम्न गएका छन्।’

अन्नपूर्ण आधारशिविर पदमार्ग क्षेत्रको प्रवेशद्वारमा पर्ने घान्द्रुकमा पनि अहिले पाहुनाको भीडभाड रहेको त्यहाँका व्यवसायीले बताएका छन्। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले कोरोना संक्रमण पछि सबैभन्दा बढी पाहुना यतिबेला आएको बताए।

उनका अनुसार अहिले घान्द्रुकमा मात्र नभई अन्नपूर्ण आधारशिविरसम्म पनि उत्तिकै पाहुना पुगेका छन्। घोरेपानी, टाढापानी लगायतका गन्तव्यसम्म पाहुना पुगेको उनले बताए। ‘यो बेला आन्तरिक पाहुनासँगै तेश्रो मुलुकका विदेशी पनि आएका छन्। पाहुना आएपछि यहाँका होटल पनि भरिभराउ भएका छन,’ उनले भने, ‘सबैजसो होटलले अहिले पर्याप्त पाहुना पाएका छन्। यसले व्यवसायीलाई उत्साही बनाएको छ।’

अन्नपूर्ण आधारशिविरसम्म पनि उत्तिकै भीडभाड हुँदा व्यवसायी हौसिएको उनले बताए। ‘कोरोना संक्रमणपछि यति धेरै पाहुना आएको यो पहिलो पटक हो। यसले व्यवसायीलाई आशावादी बनाएको छ। अबका दिन कुनै संक्रमण नबढ्ने हो भने आगामि सिजनमा पक्कै पाहुना अझै धेरै आउनेछन,’ अध्यक्ष गुरुङले भने।  

पोखरा बाहिर बाहेक सहरभित्रै पनि अहिले पाहुनाको भीडभाड रहेको छ। यहीबेला पारेर पर्यटन व्यवसायीले पोखरामा महोत्सव गरेर पाहुना आकर्षण गरिरहेका छन्। पश्चिमाञ्चल होटल संघले अहिले महोत्सव गरिरहेको छ। संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले नयाँ वर्षको छेको पारेर अहिले पोखरामा घुम्न आएका पाहुनाका कारण चहलपहल बढेको बताए।

‘यतिबेला पोखराका होटलको अकुपेन्सी करिब ८० प्रतिशत पुगेको छ। अझै केही दिनका लागि पोखराले पाहुना पाउने अवस्था छ,’ पराजुलीले भने, ‘आन्तरिकसँगै भारतीय र तेश्रो मुलुकका विदेशी पाहुना भित्रिँदा सहज भएको छ।’

पोखरामा यहीबेला महोत्सव आयोजना भएको र सार्वजनिक बिदा पनि परेकोले आन्तरिक पाहुना बढी घुम्न आएको उनले बताए। ‘इभेन्ट र बिदा हुँदा पर्यटक आगमन बढेको छ। तीन दिनसम्म आन्तरिक पाहुनाको बुकिङ राम्रो छ। विदेशीको आगमन पनि यहिबेला भएकोले चहलपहल निकै नै बढेको छ,’ उनले भने, ‘आन्तरिक पर्यटनबाट निकै नै राहत मिलेको छ।’ पोखरा आसपासमा पनि अहिले पाहुना घुम्न पुगेका छन। थप अरु पनि पूर्वाधार थपिँदै जाने हो भने पाहुना आगमन बढाउन सघाउ पुग्ने उनले बताए। 

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराईले पनि पर्यटकीय क्षेत्रमा निकै नै चहलपहल बढेको बताए। ‘आन्तरिकसँगै तेश्रो मुलुकका विदेशी पनि यहीबेला आएका छन। यसले पर्यटन क्षेत्रमा सुधारको संकेत दिलाएको छ,’ भट्टराईले भने, ‘पर्यटन क्षेत्र रिभाइभको बाटोमा लागेको अनुभव गरेका छौँ। पोखरासम्मको पहुँचमा सहजता तुल्याइदिने हो भने कोरोनाले थलिएको पर्यटन क्षेत्र छिटै नै उकालो लाग्नेछ।’

उनले पनि यतिबेला पोखरा क्षेत्रका होटलको अकुपेन्सी कम्तिमा ७० प्रतिशत रहेको बताए। कतिपय ठूला र चल्तीका होटलको अकुपेन्सी त करिव सतप्रतिशत नै रहेको उनले बताए। उनले अहिले आन्तरिक र भारतीय पर्यटक बढी आएकोमा अब तेश्रो मुलुकका विदेशी पर्यटक पाहुना भित्र्याउन अन्तर्राष्ट्रिय बजार खोजी गर्न जरुरी रहेको बताए।

‘अब नयाँ गन्तव्य र बजार खोज्नुको विकल्प छैन। नयाँ बजारमा प्रवर्द्धनका कार्यक्रम लिएर जान सक्ने हो भने पर्यटन क्षेत्र उकासिनेछ,’ उनले भने, ‘चलायमान बन्नुको अब विकल्प छैन। कोरोनाको मार दुई वर्ष धान्नुपर्दा ढाडै सेकिएको छ। व्यवसायी सकसमा छन्। अब भने कोरोना संक्रमण नबढ्ने हो भने आगामी सिजनदेखि पाहुना आउनेमा हामी ढुक्क छौ।’

प्रकाशित: १ वैशाख २०७९ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App