coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कर्णालीमा हवाइ उडानको पहल

कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा नेपालगञ्जबाट हवाई उडान नभएकोबारे कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले पहल थालेका छन्। मन्त्री लामा नेपालगञ्ज आएर कर्णालीमा उडान नहुँदा नागरिकलाई समस्या भएकोबारे चासो लिएका हुन्।  

मन्त्री लामाले नेपाल एयरलाइन्सको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पुगेर कार्यालय प्रमुख किरणमान श्रेष्ठसँग कर्णालीमा पर्याप्त उडान नगरिएकोबारे सोधपुछ गरेका थिए। उनले अन्य जिल्लाभन्दा बढी हवाई उडानको जरुरत भएको, सडक मार्ग सञ्चालनमा नआएको एकमात्र हिमाली जिल्ला हुम्लामा उडानहरू बढाउन निर्देशन दिएका थिए। मन्त्री लामाले भने– ‘विगतमा हुम्लामा हप्तामा चारवटा फ्लाइट थियो। ती चारवटाबाट दुईवटा घटाएको रैछ। त्यो कटौती गरेकोलाई पनि फेरि अब चार फ्लाइट उडाउने भनेर पत्र लेखें। त्यही ढंगबाट माथि हेडक्वार्टरमा पनि पठाएँ। उहाँ (किरणमान श्रेष्ठ)लाई पनि सुझाव सल्लाहसहितको निर्देशन दिने कामहरू भए।’

यसअघि यात्रुहरूले हुम्लाका लागि २१ हजारसम्म भाडा तिर्नुपरेको गुनासो गरेका थिए। निजी एयरलाइन्ससँग पनि कुरा गरेको बताउँदै मन्त्री लामाले ती कम्पनीहरूले पनि चाँडै सेवाका लागि नेपालगञ्ज फर्किने आश्वासन दिएको जानकारी दिए। ‘म आफैं सरकारकै व्यक्ति भएकाले मैले सरकारी एयरलाइन्सलाई नै बढी फोकस गरेको छु’ उनले भने– ‘एनएको समस्याहरूलाई छिटोभन्दा छिटो मेन्टेन गरेर सेवा थप्नेबारे सहमति भएको छ। माथिसम्म पनि कुरा भएको छ, हेडक्वार्टरमा।’ मन्त्री लामाले नेपाल एयरलाइन्सको सेवा प्रवाहका क्रममा पनि अनियमितता भएको भन्नेबारे अनौपचारिकरूपमा धेरै गुनासा सुनिएको समेत बताए।

त्यसबारे लिखितरूपमा भने गुनासो प्राप्त नभएको भए पनि यसबारे ध्यानाकर्षण गराएको बताए। मन्त्री लामा सडकमार्ग सञ्चालनमा नआएको देशको एकमात्र जिल्ला हुम्लामा हवाइ उडान पनि नियमित नहुँदा नागरिकले धेरै सास्ती भोगेको आफूले जानकारी पाएपछि त्यो समस्याको समाधान गर्न गम्भीरताका साथ लागेको बताउँछन्। नागरिकहरूले पनि नेपाल एयरलाइन्सले पहुँचका भरमा टिकट दिने गरेको, टिकटमा कालोबजारी गरिएको, नियमित उडान रोकेर चार्टर उडान गरिएकोबारे गुनासो गरिरहेका छन्।

प्रकाशित: ३० चैत्र २०७८ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App