२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

तेस्रो पटक मेलम्ची सुरुङमा फेरि पानीः बर्खामा उपत्यकावासीले पानी नपाउने सम्भावना

बाढीले मुहानस्थलमा थुपारेको सवा लाख घनमिटरभन्दा धेरै गेग्रान पन्छाइ सकिएपछि मेलम्ची सुरुङमार्गमा पुनः मंगलबार पानी हालिएको छ।

साढे २६ किलोमिटर लामो सुरुङ करिब डेढ सातामा भरिएपछि उपत्यकावासीले वर्षपछि पुनः मेलम्ची पानी थोरै समयका लागि उपभोग गर्न पाउने भएका छन्।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मुहानस्थल हेलम्बुको अम्बाथानमै पुगेर मेलम्ची पानी अस्थायी संरचनामार्फत सुरुङमा हालेर पुनः पथान्तरण गरेका थिए। ‘अहिले अस्थायी रुपमा पानी राजधानी लैजाँदैछौँ। स्थायी रुपमा लैजान भने अझै समय लाग्ने देखिएको छ,’ उनले भने।

गएको असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बिनासकारी बाढीले आयोजनाको मुहानस्थल पुरेको थियो। बाढीले मुहानस्थलमा ठूल्ठुला ढुंगा र बालुवाको लेदोसहित एक लाख ३० हजार घनमिटर गेग्रान थुपारेको थियो। त्यही गेग्रान तीन महिना लगाएर पन्छाएपछि सुरुङमा पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

बाढीले पुरेको अस्थायी संरचनाबाटै पानी पठाइएको हो। अस्थायी संरचना काम लाग्ने भएकैले त्यहीँबाट पानी पथान्तरण गरिएको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्यालले हाल सुरुङमा  प्रतिसेकेण्ड २ सय ६५ लिटरका दरले पानी हालिएको बताए। ‘सुरुङ भरिन ७ देखि १२ दिन लाग्छ। त्यसपछि उपत्यकामा पुनः पानी वितरण हुन्छ,’ उनले भने।

मेलम्ची पानी पथान्तरण गरिएको यो तस्रो पटक हो। यसअघि दोस्रो पटक गत वर्षको फागुन १० गते मेलम्ची पानी सुरुङमा प्रवेश गराइएको थियो। सुरुङ भरिएछ चैत १७ गतेबाट उपत्यकावासीले मेलम्ची पानी उपभोग गर्न थालेका थिए। साढे दुई महिना पानी नपिँउँदै बर्खाको बाढीले आयोजनामा क्षति पुर्‍यायो । त्यसअघि सुरुङमा पानी हालेर परीक्षण भइरहेका बेला मुख्य सुरुङ अडिटको गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा चार कर्मचारीले ज्यान गुमाएका थिए।

बाढीको अघिल्लो दिन मात्र सुरुङ परीक्षण गर्न मुहानस्थलको गेट बन्द गरेर पानी मेलम्चीमै छोडिएको थियो। यसै कारण सुरुङ व्यापक क्षति हुनबाट जोगियो। बर्खाको बाढीपछि सरकारले चैत मसान्तभित्रै उपत्यकामा पानी पुर्‍याउने बाचा गरेको थियो। मुहान हुँदै सुरुङमा गेग्रान छिरेको पाइएपछि सफा गर्दा केही ढिलो भएको कार्यकारी निर्देशक पौड्यालले बताए।

३६ करोड रुपैयाँ खर्चेर बाढीले थुपारेको गेग्रान हटाइएको आयोजनाले जनाएको छ। यो जिम्मेवारी पूरानै चिनियाँ ठेकेदार सिनो हाइड्राेलाई दिइएको थियो। गेग्रान खोतिलएपछि भेटिएको पूरानै अस्थायी संरचनाबाट पानी पठाइएकाले बर्खामा उपत्यकावासीले मेलम्ची पानी नपाउने सम्भावना बढी रहेको औँल्याइएको छ।

अधिकारीहरुका अनुसार बर्खामा बाढीले पुनः मुहानस्थलमा अवरोध पुर्‍याउने खतरा ज्यादा छ। ‘बाढीको सम्भावना रहेकाले बर्खा लाग्नासाथ मुहानको गेट बन्द गर्न सकिन्छ। यस विषयमा छलफल पनि अघि बढेको छ,’ आयोजनाका एक अधिकारीले भने।

मन्त्री चौधरी पनि स्थायी रुपमा उपत्यकामा पानी पुग्ने बातावरण बन्न समय लाग्ने बताउँछन्। उनका अनुसार आयोजनाको मुख्य दाता एशियाली विकास बैँक (एडिबी) ले समग्र बाढी, सम्भावित खतरा र स्थायी मुहानस्थल बनाउने विषयमा अध्ययन गरिरहेको छ। ‘एडिबीले प्रतिवेदन बुझाएपछि स्थायी रुपमा मुहान बाँध बनाउनेबारे कार्ययोजना बन्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने।

प्रकाशित: २९ चैत्र २०७८ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App