coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रेमकुमारी बनिन् गलकोट नगरको उत्कृष्ट महिला उद्यमी

उत्कृष्ट महिला उद्यमी बन्न सफल प्रेमकुमारी पुनलाई प्रोत्साहन रकम प्रदान गर्दै गलकोट नगरप्रमुख भरत गैरे र उपप्रमुख रेनुका काउचा। तस्बिरः संगम/नागरिक

जिल्लाको गलकोट नगरपालिकाले गराएको प्रतिस्पर्धाबाट प्रेमकुमारी पुन उत्कृष्ट महिला उद्यमी बनेकी छिन्। व्यवसायिक रुपमा मौरी पालन गर्दै आएकी उनले गलकोट नगर क्षेत्र भित्रका ८५ जना प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट महिला उद्यमी बन्न सफल भएकी हुन्।

गलकोट नगरपालिकाले दायित्व संस्थासंग मिलेर रिप परियोजना अन्तर्गत नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रममा फाइनलमा रहेका उत्कृष्ट १० प्रतिस्पर्धी मध्येबाट उनी प्रथम भएकी हुन्।

प्रथम भएपछि उनले नगद एक लाख प्रोत्साहन रकम पनि पाइन्। गलकोट नगरपालिका-९ मल्म छिसमा मौरी पाल्दै आएकी छिन्। टीका व्यवसायीक माहुरी पालन पालन फर्म स्थापना गरेर उनले मौरी पालनलाई व्यवसायिक बनाएकी हुन्।

उत्कृष्ट उद्यमी बनेसंगै उनले गलकोट नगरपालिकाको तर्फबाट नगद एक लाख रुपैयाँ प्राप्त गरिन्। २०६३ सालमा बुबाले सुरु गरेको माहुरी पालनलाई पछि उनले व्यवसायिक रुपमा दिएकी हुन्।

गलकोट नगरपालिका-११ रिघाको साउने खोलामा बसोबास गर्दा बाढी पहिरोले घरबारी सबै बगाइदिएपछि उनको परिवार विस्थापित भएर गलकोट-९ मल्ल छिसमा आएर बसेको थियो । त्यही प्रेमुमारीले मौरीपालनलाई व्यवसायिक रुप दिएकी हुन्। अहिले उनको फर्ममा १५० घार मौरी रहेका छन्।

उक्त प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र परेका मेलमिलाप एकृकीत कृषक समुह गलकोट-१ की सुमित्रा कार्की, तोरीखोला होमस्टे डाँडागाउँ तोरीखोलाकी सीता पुन मगर, कृषि तथा पशुपंक्षी फर्म गलकोट-२ की कुमारी कार्की, न्यू लुक्स व्युटि पार्लर एण्ड प्रिन्टिङ सप गलकोट-३ की विनिता गलामी खत्री, काउचा एकीकृत कृषि तथा पशुपंक्षी फार्म, सविना फेन्सी तथा कस्मेटिक्स स्टोर्स स्टोर्स गलकोट-५ की सबिना घर्तीमगर उत्कृष्ट १० भित्र परेका थिए।

उत्कृष्ट १० मा गलकोट कृषि तथा पशुपालन फार्म गलकोट-६ की धनमाया श्रीसमगर, टीका व्यवसायिक माहुरी पालन फार्म गलकोट-९ की प्रेमकुमारी पुन, सिजल लघुउद्यम गलकोट १० पाण्डवखानीकी करिना घर्ती पुन, सुनौलो बिहानी कृषि तथा पशुपंक्षी फार्म गलकोट-१० की तेजकुमारी पुन, र सिद्ध फार्म अग्र्यानिक कृषि फार्म गलकोट-१० की थममाया पुन काउचा परेका थिए।

उत्कृष्ट १० परेकाहरुको उद्यम योजना र लगानी प्रस्तुतिपछि उत्कृष्ट छनोट गरिएको हो। पहिलो चरणमा ८५ जना सहभागि भएकोमा दोस्रो चरणमा ४० जना, तेस्रो चरणमा २० जना, चौथो तथा फाइनल चरणमा १० जनाबीच प्रतिस्पर्धा गराइएको थियो।

उत्कृष्ट १० भित्र परेका सबैलाई गलकोट नगरपालिकाले प्रोत्साहन स्वरुप नगद ५० हजारका दरले प्रदान गरेको छ। उत्कृष्ट २० मा परेर बाहिरिएका १० जनालाई पनि नगद २० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो। तीन खण्डमा राखेर उत्कृष्ट महिला उद्यमी छनोट गरिएको रिप परियोजना लुम्बिनीका सिनियर कोअर्डिनेटर सञ्जय पोख्रेलले बताए।

निर्णायकले उद्यमीको अठोट, सोंच र संघर्ष, उद्यममा नयाँपन, स्रोत विनीयोजन, बजार सम्भाव्यता, उद्यम वृद्धिका लागि अर्थतन्त्रमा जोडिने आधार, सामाजिक प्रभाव, आगामी दुई वर्षको योजना तथ लगानीलाई आधार बनाएर अंक दिएको उनको भनाइ छ।

दोस्रो खण्डमा उद्यमीले बनाएको योजना उद्यम यात्राको प्रस्तुतिको व्यानर निर्माण गर राखिएको र त्यसको मूल्यांकन गरिएको थियो। तेस्रो खण्ड अन्तरगत दायित्व संस्था र गलकोट नगरपालिकाले उद्यमको मोडल सिकाई र त्यसको व्यवहारिक रुपान्तरण, ६ महिनामा देखिनेगरी बनाएको योजनाको कार्यान्वयन र प्रगति सामाजिक प्रभाव, परितन्त्र सवलीकरणको पक्षलाई केलाएएको पोख्रेलले जानकारी दिए।

‘मुख्यरुपमा उद्यममा प्रविधि र पूर्वधार, अर्थतन्त्र तथा बैंक वित्तीय संस्थासंगको सम्बन्धन, स्रोतको विनीयोजन, सरकार समुदाय तथा अन्य क्षेत्रसंगको समन्वय र सम्बन्ध र उनीहरुको उद्यममै गएर हर्दा भएको प्रगतिलाई आधार मान्यौ,’ उनले भने।

गलकोट नगरपालिकासंगको साझेदारीमा उत्कृष्ट महिला उद्यमी छनोटपछि कार्यक्रम सकिए पनि उद्यमीहरुको विकासका लागि संस्थाले कतै न कतै जोडिरहने दायित्व लुम्बिनी प्रमुख कमल थापाले बताए। ‘अहिलेलाई नगरपालिकासंगको साझेदारीको कार्यक्रम सकिएको छ,’ उनले भने, ‘महिला उद्यमीहरुसंग भने हामी जोडि नै रहन्छौं। उनीहरुको सवलीकरणका लागि सहयोग गर्छौं।’

महिलाहरुको क्षमतालाई बाहिर ल्याउन र नयाँ उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि यो खालको कार्यक्रम ल्याएको गलकोट नगर उपप्रमुख रेनुका काउचाले बताइन्। ‘यस क्षेत्रबाट युवाहरु विदेश जाने चलन धेरै छ,’ उनी भन्छिन्, ‘गाउँमा रहनुभएका महिला दिदी बहिनीहरुलाई उद्यमसंग जोड्न सकेमा विदेशमा गएका युवाहरु पनि फिर्ता हुने र यहाँको विकासमा सहयोग पुग्ने अपेक्षा छ।’

सामान्य उद्यममा लागेका महिलाहरुको व्यवसायीकरणका लागि पनि कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ। गलकोट नगर प्रमुख भरत शर्मा गैरेले निर्वाचनको बेला घोषणा गरेका प्रतिवद्धताहरु पूरा गर्नेक्रममा महिलाहरुको उद्यम विकासका लागि बजेट विनीयोजन गरेको बताए।

‘हामीले उत्कृष्ट उद्यमी छानेर केही नगद प्रोत्साहन रकम पनि प्रदान गरेका छौं,’ नगरप्रमुख गैरेले भने, ‘भोली त्यो रकम यहाँको उद्योग विकासको लागि महत्वपूर्ण बीउ बन्ने हाम्रो अपेक्षा छ।’ उत्कृष्ट उद्यमी घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले उद्यममा नलाग्दा व्यापार घाटा बढेको बताए।

‘हाम्रो ठूला घरानीयाहरु पनि व्यापार गर्छन् तर उद्योगमा लगानी गर्दैनन्,’ उनले भने, ‘त्यसले गर्दा आयात बढेर व्यापार घाटा हुँदा अर्थतन्त्रलाई नै समस्या परेको छ। यसरी महिलालाई उद्यममा लाग्न प्रोत्साहित गर्नु निकै राम्रो काम हो।’

गण्डकी प्रदेश सरकारले उद्यम नीति बनाउन लागेको समेत जानकारी गराए। उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रमका लागि गलकोट नगरपालिकाले २० लाख रुपैयाँ विनीयोजन गरेको थियो। २० लाखसहित महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न थप ८ लाख रुपैयाँ खर्च गरी २८ लाख रुपैयाँ कार्यक्रममा खर्च भएको बताइएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App