१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा पहिलो ब्रोडगेज रेल सेवा सुरु, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्दै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १२ बजेर २० मिनेटमा संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गर्दै छन्।

दुबै देशका प्रधानमन्त्रीले भारतको नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट संयुक्त रुपमा रेलको भर्चुअल उद्घाटन गर्ने भएका हुन्। नेपाल रेल्वे कम्पनकीका महाप्रबन्धक निरञ्जन झालेका अनुसार रेल उद्घाटनका लागि जयनगर स्टेसन र जनकपुरधाम रेल्वे स्टेसन सजाइएको छ।

दुबै स्टेसनमा भर्चुअल विधिबाट हुने उद्घाटन हेर्न प्रोजेक्टर जडान गरिएको छ। जनकपुरधाम स्टेसनमा मञ्च बनाइएको छ। उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको महाप्रबन्धक झाले बताए। उनका अनुसार उद्घाटनका बेला जयनगर रेल्वे स्टेसनमा नेपाल र भारतका विद्यार्थी दुबै देशका झण्डासहित उभिनेछन्।

प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि रेल गुड्नेछ। विद्यार्थीले पनि झण्डा हल्लाउने छन्। जयनगरबाट जनकपुरधामका लागि रेल गुड्ने छ। यो रेल प्रत्येक स्टेसनमा रोकिँदै आउने छ। सो अवसरमा जनकपुरधाम रेल्वे स्टेसनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव रेलमा चढेर कुर्था स्टेसनसम्म पुग्ने छिन्।

फर्किने बेला जनकपुरधाम रेल्वे स्टेसन रेल केहि बेर रोकिने छ। यहाँ औपचारिक मञ्च कार्यक्रमपछि रेल जयनगर फर्किने छ। उद्घाटनका अवसरमा आज यात्रुले निःशुल्क रेल चढेर यात्रा गर्न पाउने महाप्रबन्धक झाले बताए। उद्घाटन पश्चात् जनकपुरधामको कुर्था स्टेसनदेखि भारत बिहारको जयनगरसम्म तत्काल ३५ किलोमिटर नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने प्रबन्धक झाले बताएका छन्।

नेपाल रेल्वे कम्पनीले जनकपुरदेखि जयनगरसम्मको भाडा प्रतिव्यक्ति समान्य सिटमा ९० रुपैयाँ निर्धारण गरिएको छ। एसीकोचतर्फ तीन सय ७० कायम गरिएको छ। रेल चलाउन २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन्। पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको महाप्रबन्धक झाले बताए।

२०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी नेपालको सम्झौता भएको थियो। ०७७ असोजमा धुमधामले स्वागत गरेर भित्र्याइएको रेल सेटको पुस महिनाको दोस्रो सात्ता पुनः परिक्षण गरिएको थियो। जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिकमा रेल गुडाएर परिक्षण गरिपछि पुनः इनर्वामा थन्काइएको थियो।

पटक पटक रेल लिकमा गुडाएर थन्काउने गरिएकोले मधेसका जनता अब रेल नचल्ने भन्दै निराश बनेका थिए। रेल सेट भित्रीएको दश महिनापछि गत्त साउनमा रेल्वे लिकमा गति परीक्षण यकीन गरिएको थियो। त्यो बेला ‘अब रेल चल्ने भयो’ भनेर जनतामा खुशी छाएको थियो।

तर, कानूनी अडचन, कर्मचारी तथा बजेट अभाव लगायतका जटिलताले रेल लामो समय थन्किँदा जनता निराश बन्न पुगेका थिए। आज औपचारिक उद्घाटनपछि आइतबारदेखि नियमित दैनिक दुई पटक रेल चल्ने भएपछि यस भेगका जनतामा खुसीको सीमा छैन्।

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन २०७७ असोजमा परीक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पर्‍याएको थियो।

पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे। त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो।

पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रुत सम्पर्क पनि रोकियो।

जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु। भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ।

जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि गत्त वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो। नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो।

रेल विभागका जनकपुर साइटका अनुसार एक हजार तीन सय सिट क्षमताको यो रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै सुविधा जडान गरिएको छ। दुईवटा इन्जिन रहेको यस रेलमा अगाडिकोलाई मुख्य अर्थात् पावर र पछाडिकोलाई टेलर कार भनिन्छ। यो रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर छ।

तर, जनकपुर–जयनगर ब्रोडगेज रेल्वे प्रतिघन्टा १०० किलोमिटर स्पिडको डिजाइनमा बनाइएको छ। विभागले गत्त वर्ष असोज महिनामै नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरेको छ। लेन बनाउन भारतीय कम्पनी इन्टरनेसनल कोच फ्याक्ट्रीलाई जिम्मा दिइएको थियो।

यो कम्पनी रेल निर्माणका लागि भारतमा अग्रणी मानिन्छ। अहिले यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ। पछि महोत्तरीको बिजलपुरसम्म विस्तार गर्ने योजना छ। त्यहाँबाट पनि बर्दिबाससम्म रेल चलाउने योजना छ।

रेल सेवा नियमित भएपछि जनकपुरधामको यस क्षेत्रको धार्मिक पर्यटनमा टेवा पुग्ने जनकपुर होटल व्यवसायी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। रेल सेवा सञ्चालन भएसँगै यस क्षेत्रका व्यापार व्यवसाय फस्टाउनाका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए।

प्रकाशित: १९ चैत्र २०७८ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App