१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतीय पाहुनाको आगमनले पर्यटन क्षेत्रमा चहलपहल

तेश्रो मुलुकका विदेशी पनि भित्रिन थालेका छन्ः व्यवसायी

पोखरा लेकसाइडमा भित्रिएका भारतीय पर्यटक। तस्बिरः सन्तोष पोखरेल/नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेको भन्दै व्यवसायी उत्साही भएका छन। पोखरामा अहिले भारतीयसहित केही तेश्रो मुलुकका पर्यटकको आगमन हुन थालेपछि व्यवसायीलाई उत्साही बनाएको हो। आन्तरिक पर्यटक पनि थपिँदा अहिले पर्यटकीय क्षेत्र लेकसाइडसहित पोखरा आसपासका पर्यटकीय गन्तव्यमा चहलपहल बढेको छ।  

व्यवसायीका अनुसार अहिले पोखरामा भारतीय पर्यटकको आगमन ह्वात्तै बढेको छ। भारतीय सहरमा गर्मी बढेकोले घुम्न आउने बाहेक मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकका कारण यहाँको पर्यटन व्यवसाय फस्टाएको छ। कोरोना संक्रमणले पर्यटन क्षेत्र थलिएको बेला भित्रिएका भारतीय पर्यटकका कारण राहत महसुस गरेको व्यवसायीले बताएका छन्।  

‘भारतीय पर्यटकका कारण अहिले पोखरा र आसपासका पर्यटन क्षेत्रमा चहलपहल बढाएको छ। आन्तरिक पर्यटक पनि थपिएका छन्,’ होटल ल्याण्डमार्कका वरिष्ठ बिजनेस डेभलपमेन्ट म्यानेजर पुष्पराज चालिसे भन्छन्, ‘आन्तरिक र भारतीय मात्र नभई तेश्रो मुलुका पर्यटक पनि भित्रिन थालेका छन्। त्यसले गर्दा राहतको महसुस भएको छ।’ कोरोना पछि तेश्रो मुलुकका पर्यटक पनि आउन थालेपछि व्यवसायीमा झनै उत्साह बढाएको उनले बताए।

चालिसेका अनुसार अहिले आवासीय कार्यक्रम अन्तर्गत पोखरामा पाहुना थपिएका छन्। त्यस्तै बंगलादेशका पर्यटक पनि उत्रिकै भित्रिएका छन्। जर्मनको समूहको आगमन पनि हुन थालेको छ। त्यसबाहेक भारतीय कर्पोरेट हाउसले पनि पोखरामा कार्यक्रम ल्याउन थालेका छन्। ‘सबैतिरका पर्यटक भित्रिन थालेका छन्। तेश्रो मुलुकका विदेशीको आगमन पनि थपिँदा व्यवसायमा उत्साह पलाएको छ,’ उनले भने, ‘भारतीय समुहको आगमन सबैभन्दा बढी छ।’ चालिसेका अनुसार मार्च महिनाको ल्याण्डमार्कको अकुपेन्सी अनुपात करिब ८० प्रतिशत पुगेको थियो। अप्रिल महिनाका लागि पनि यो आगमन उत्तिकै उत्साहजनक रहेको उनले बताए।  

‘यसअघि रोकिएका पाहुनाको भ्रमण पनि सुरु भएको छ। त्यस्तै रोकिएका कार्यक्रम पनि यही बेला आयोजना भईरहेका छन्,’ उनले भने, ‘कोरोना त्रास कम भएको मौका पारेर पाहुना घुम्न निस्किएका छन्। यसले पोखराका पर्यटन व्यवसायीलाई राहत दिलाएको छ। अहिले व्यवसायी निकै नै हौसिएका छन।’ कोरोनाका कारण लामो समय नोक्सानमा गुजारेका व्यवसायीले अहिले पाहुना आगमन बढ्दा खर्च धान्न सक्ने अवस्था सिर्जना भएको उनले बताए।  

माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई पनि भारतीय र तेश्रो मुुलुकका पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साही भएको बताउँछन्। ‘अहिले भारतीय मात्र नभई तेश्रो मुलुकका पर्यटक पनि आउन थालेका छन्। आन्तरिकको आगमन त नियमित नै हो,’ भट्टराईले भने, ‘यूरोपियन पर्यटक आउन थालेपछि व्यवसायमा झनै उत्साह बढाएको छ। कोरोना सुरु भएपछिको विदेशीको आगमन अहिले थपिएको छ।’  

भट्टराईको अनुमानमा अहिले पोखरामा तेश्रो मुलुकका पर्यटकको आगमनको अकुपेन्सी करिब १० प्रतिशत। त्यस्तै भारतीयको आगमन भने एकाएक उकासिएको छ। ‘मार्चको अकुपेन्सी ६० प्रतिशतमा रह्यो। अप्रिलको बुकिङ पनि निकै नै राम्रो छ,’ उनले भने, ‘कुनै अवरोध नआउने हो भने अब भारतीय र तेश्रो मुलुकका विदेशीको आगमन पक्का बढ्नेछ।’ कोरोनाले नयाँ समस्या नथपेको खण्डमा आगामी दिनमा पोखरामा विदेशीको आगमन बढ्नेमा कुनै आशंका गर्नु नपर्ने उनले बताए।  

‘अप्रिलको बुकिङमा कुनै समस्या आएको छैन। कतैबाट रद्द पनि भएको छैन। यस्तै अवस्था रहिरहेमा आगामि सेप्टेम्बरदेखि पर्यटन व्यवसाय कोरोना अघिको अवस्थामा फर्किनेमा आशावादी छौं,’ उनले भने, ‘अब कोरोनासँग जुधेरै अघि बढ्ने हो। अहिलेको आगमनले हामी सबैलाई उत्साही बनाएको छ।’  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार भारतीय पाहुनाको आगमन यतिबेला निकै नै राम्रो छ। आन्तरिक पाहुनाको आगमन पनि चलिरहेको छ। भारतीय पर्यटक भने समुहमा आएका छन्। भारतीय समूहको आगमनका कारण पर्यटन क्षेत्र निकै नै चम्किएको अध्यक्ष सुवेदीले बताए। ‘अहिले भारतीय पाहुना समूहमा आएका छन। एकै समुहमा तीनसयजनासम्म भारतीय पाहुना आएको थाहा पाएका छौ,’ उनले भने, ‘अहिले भित्रिएका भारतीय मध्ये अधिकांश मुक्तिनाथ दर्शन गर्न आएका तीर्थयात्री हुन्।’ उनका अनुसार अहिले पोखराका होटलको समग्र अकुपेन्सी अनुपात कम्तिमा ३० प्रतिशत रहेको छ। केहीमा त सतप्रतिशत नै अकुपेन्सी रहेको पनि उनले बताए।

उनका अनुसार होटलमा मात्र नभई पदयात्रामा पनि उत्तिकै पाहुना पुगेका छन्। पदयात्रामा जानका लागि दिनमा करिब पाँचसय जनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अनुमति लिएको पनि उनले जानकारी दिए। ‘पदयात्रामा जाने पाँचसयजना मध्ये करिब एक सयजना जति तेश्रो मुलुका पर्यटक हुन्। बाँकी ७५ प्रतिशत भारतीय पाहुना हुन्। पदयात्रामा पनि भारतीयको बर्चश्व रहेको छ,’ अध्यक्ष सुवेदीले भने, ‘पोखराको पर्यटन क्षेत्रमात्र नभई समग्र पदयात्रामा पनि चहलपहल बढाएको छ।’

अहिले पोखराको पर्यटन क्षेत्रमा भारतीय पाहुनाको भीडभाड देखिन्छ। भारतीय पाहुना बोकेर आएका ठूला आकारका भारतीय बस लेकसाइडका चोकचोकमा बस ठडिएका देखिन्छन्। भारतीय पाहुनाका कारण होटल र रेस्टुरेन्टमा पनि व्यस्तता बढाएको अध्यक्ष सुवेदीले बताए।  

प्रकाशित: १७ चैत्र २०७८ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App