१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

अघोषित लोडसेडिङले मारमा उद्योग

प्रदेश १ मा भइरहेको चर्को लोडसेडिङ अन्त्य गर्न माग गर्दै आयोजित पत्रकार सम्मेलनमा उद्योगी व्यवसायी। तस्बिरः चुमन/नागरिक

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्। विराटनगरमा मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले सयुक्त रुपमा पत्रकार सम्मेलन गरी सहज रुपमा विद्युत् उपलब्ध गराउन मागरेका हुन्।

प्रदेश १ का उद्योगमा एक सातादेखि अघोषित रुपमा लोडसेडिङ भइरहेको छ। उनीहरुले सरकार र विद्युत् प्राधिकरणले भाषणमा एउटा र व्यवहार अर्को देखाउन थालेको बताए। प्रदेश १ का उद्योगमा गत मंगलबारदेखि दैनिक १२ घण्टाको अघोषित लोडसेडिङ हुन थालेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाले बताए।

पहिले १८ घण्टासम्मको लोडसेडिङ खेप्दा उद्योगधन्दा चौपट भएको र पछि विद्युत्मा सुधार हुँदै लोडसेडिङ अन्त्य हुँदा उद्योग व्यवसायी धेरै खुसी भएका थिए। ‘लोडसेडिङको मारबाट मुक्त हुँदा हुँदै अर्को मार खेप्नु परेको पीडा छ,’ रिजालले भने, ‘उद्योगधन्दा, व्यापार व्यवसायलगायत सबै क्षेत्रलाई कोरोना महामारीले आक्रान्त पार्‍यो। कोरोनाबाट तन्ग्रिन खोज्दा खोज्दै बैंकले ब्याजदर बढाएर झन् ठूलो समस्या थप्यो।’ उद्योग सञ्चालनका लागि विद्युत्को सुनिश्चिता गर्न सरकार र विद्युत् प्राधिकरणसँग उद्योगी व्यवसायीले माग गरेका छन्।

केही दिन अघिसम्म पर्याप्त विद्युत् दिने भन्दै ठूला उद्योगमा लगानी गर्न आग्रह गरेको सरकारले एक्कासी चर्को लोडसेडिङको अवस्थामा पुर्‍याएपछि सरकार र प्राधिकरणले पर्याप्त विद्युत् छ भनेर जनतालाई ढाँटेको उनीहरुले बताए। 

भारतले विद्युत् नदिएको निहुँमा एक्कासी लोडसेडिङ गरेपछि विद्युत्मा नेपाल आत्मनिर्भर नरहेको स्पष्ट भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए। उनले भने, ‘पिक आवर लोडसेडिङ गरिए पनि नर्मल आवर लोडसेडिङ हुनुले अच्चममा पारेको छ।’ प्याकुरेलले जथाभावी लोडसेडिङ नगरी तालिका सार्वजनिक गरेर पिक आवरमा मात्रै लोडसेडिङ गर्न आग्रह गरे।  

उनले लोडसेडिङ गर्दा समेत प्रदेश १ लाई विभेद गरिएको गुनासो गरे। प्याकुरेलले भने, ‘ काठमाडौंको बालाजु औद्योगिक क्षेत्रलगायतमा लोडसेडिङ नगरिएको तर प्रदेशको सुनसरी–मोरङ अद्यौगिक करिडोरमा दैनिक १२ देखि १४ घण्टासम्म लोडसेडिङ हुनले लोडसेडिङ गर्दा समेत प्रदेश १ का उद्योगलाई सरकारले प्राधिकरणले विभेद गरिरहेका छन्।

प्रकाशित: १५ चैत्र २०७८ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App