१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङविरुद्ध हवाईजहाजको गुनासो: हवाई रुटमा प्याराग्लाइडिङ उडिदिए

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः उमेश पुन/नागरिक

गत फागुन २६ मा नेपालगञ्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालक दल सदस्यले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिङ उडेको देखे। पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको जहाजले आफ्नो रुट नजिक एकाएक प्याराग्लाइडिङ देखेपछि विमानस्थल टावरमा जानकारी गरायो।  

त्यसको दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजले पोखराबाट १२ नटिकल माइल (२२.२ किलोमिटर ) पर सात हजार फिटको उचाईमा प्याराग्लाइडिङ उडेको भन्दै विमानस्थल टावरलाई जानकारी गराएको थियो।  

त्यो मात्र नभई फागुन १५ मा पर्यटकीय गाउँ सिक्लेस–कोरी पदमार्गलाई घलेखर्कसँग जोड्ने तारा हिलटप नजिक दुईवटा प्याराग्लाइडिङ उडेको भन्दै हेलिकप्टरले टावरलाई जानकारी गराएका थिए। त्यस्तै फागुन १४ मा पनि प्रभु हेलिकप्टरले सराङकोटको बक्स बाहिर सात हजार फिट उचाईमा ५–६ वटा प्याराग्लाइडिङ उडेको भनेर जानकारी गराएको थियो।

पोखराको सराङकोट आकाशमा मात्र उडान अनुमति पाउने प्याराग्लाइडिङले तोकिएको ठाउँ छाडेर अन्यत्र उड्ने गरेको यि केही उदाहरण हुन्। कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी पाइलटले अहिले पोखरा क्षेत्रमा मनपरि तरिकाले प्याराग्लाइडिङ उडाईरहेको विमानस्थलको विवरणले देखाउँछ। प्याराग्लाइडिङको मनपरि उडानले हवाई उड्डयन क्षेत्रमा समेत जोखिम निम्त्याउने विमानस्थल पदाधिकारी बताउँछन्। हावाको भरमा उड्ने प्याराग्लाइडिङको मनपरि उडानले हवाई क्षेत्रमा समेत चुनौती थपेको विमानस्थल पदाधिकारीको चिन्ता छ।  

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी भन्छन्, ‘आकाशमा उड्ने प्याराग्लाइडिङलाई समाउन जान सकिन्न। कहाँ उड्न हुने र कहाँ नहुने भन्ने आफैले सोच्नुपर्ने हो।’ पछिल्लो समय पोखरादेखि पश्चिम क्षेत्रका ठूला सहर नेपालगञ्ज र धनगढीसम्म सिधा उडान हुँदा अहिले जहाजले पुम्दीभुम्दीको आकाश  प्रयोग गर्छन्। पोखराबाट पश्चिम भेगमा उडान सुरु नहुँदासम्म यो रुटमा फाट्टफुट्ट बाहेक जहाजको उडान हुँदैनथ्यो, तर, अहिले यो रुटमा नियमित रुपमा ठूला जहाज उड्छन्।

‘पोखराबाट पश्चिम जाने जहाज पुम्दीभुम्दीको आकाश हुँदै जान्छन्, फर्किंदा पनि त्यही रुट प्रयोग हुन्छ,’ सुवेदीले भने, ‘त्यही रुटमा अहिले मनपरी रुपमा प्याराग्लाइडिङ उडिरहेका हुन्छन्। यसले हवाई क्षेत्रमा चुनौती थपिदिएको छ। तोकिएको क्षेत्रभन्दा बाहिरको आकाशमा उड्न नपाउने नियम मिचेर अहिले उडान भईरहेका छन्।’ उनका अनुसार पोखराको आकाशमा सराङकोट क्षेत्रमा प्याराग्लाइडिङ उडानको केही क्षेत्र (बक्स) तोकिएको छ। तर, अहिले प्याराग्लाईडिङले बक्स छाडेर मनलाग्दी ठाउँमा पुगिरहेका छन्।

‘पुम्दीभुम्दी, ताराहिलपटप मात्र नभई मर्दी क्षेत्र, बागलुङ र म्याग्दीका आकाशसम्म पनि उड्ने गरेका छन्। ती सबै प्याराग्लाइडिङ उड्न पाउने ठाउँ होईनन्,’ उनले भने। प्याराग्लाइडिङ उडानको लागि अनुमति नपाएको ठाउँ भएकोले हवाई जहाज ढुक्कले आफ्नो रुटमा उड्ने क्रममा एकाएक प्याराग्लाइडिङसँग नजिक हुँदा जोखिम निम्तिने उनले बताए।  

‘आकाशको नियम नटेर्नु राम्रो होईन। अवतरणको तयारीमा रहेको जहाज पुम्दीभुम्दीको आकाशमा आउँदा निकै नै कम उचाईमा हुन्छ,’ सुवेदीले भने, ‘एकाएक प्याराग्लाइडिङ देख्दा कहिलेकाँही एक्कासी उचाई घटाउन र बढाउनुपर्दा जोखिम निम्तिन सक्छ।’ हवाई उडानको रुटमा प्याराग्लाइडिङका गतिविधि हुन थालेपछि नियमित उडानका जहाजले रुट नै परिवर्तन गरेर उडान र अवतरण गर्ने गरेको उनले बताए। ‘जथाभावि उडान गर्दा नेपालको आकाश सुरक्षित नरहेको सन्देश जानेछ,’ उनले भने।

पोखराको आकाशमा सराङकोटको चुचुरोलाई आधार बनाउँदा टेण्डम (व्यवसायिक) उडान गर्ने पाइलटले पूर्वमा आधाकिलोमिटर, पश्चिममा एककिलोमिटर, उत्तरमा एकसय मिटर र दक्षिणमा दुईकिलोमिटरसम्म एरियल डिस्टेन्समा उड्न पाइन्छ। तर, सोलो (एकल) पाइलटले त्यो दूरी अटेर गर्छन्। त्यस्तै सराङकोटको आकाशमा उड्दा समुन्द्री सतहबाट १८ सय मिटरसम्मको उचाईसम्म मात्र जान पाइन्छ। सराङकोटको टेकअफ प्वाइन्ट आफैमा १५४० मिटरमा छ। 

सराङकोटबाट उडेपछि झन्डै तीन सय मिटरभन्दा माथिसम्म पुग्न पाइन्छ। तर, धेरैले त्यो उचाईलाई नाघेर २५ सय मिटरसम्म पुग्छन्। ‘सबैतिरको दूरी मिच्ने गरिएको छ। फेवातालको आकाश कट्न पाइदैन, तर, शान्ति स्तुप भन्दा पनि पर पुगेको देख्न सकिन्छ। कोही पनि नियममा छैनन्, त्यसैले नियन्त्रणमा राख्नुपर्छ,’ सुवेदीले भने।  

पोखरा क्षेत्र मात्र नभई केहीदिन अघि बागलुङ र म्याग्दीका उच्च हिमाली भेगमा समेत प्याराग्लाइडिङ उडान गरेका थिए। उडान गर्ने क्रममा बागलुङमा एकजना विदेशी पर्यटक नै दुर्घटनामा परेका थिए। सुवेदीका अनुसार तनहुँको बन्दीपुर, स्याङजाको स्वरेक र पोखराको सराङकोटको सिमित आकाश बाहेक यो क्षेत्रमा अन्यत्र प्याराग्लाइडिङ उड्न पाइदैन र उडान अनुमति पनि नेपाल नागरिक उडड्यन प्राधिकरणले दिँदैन। ‘तर विदेशले अनुमति लिएका छैनन, उनीहरुलाई कहाँबाट उड्ने भन्ने पनि थाहा छैन,’ सुवेदीले भने, ‘एकजना विदेशी आएर स्वतन्त्र रुपमा उड्न चाहेमा प्राधिकरणबाट अनुमति लिनुपर्छ । तर जहाँ पनि उड्न पाउने भन्ने होईन, हामीले अनुमति दिने पनि तोकिएको ठाउँमा मात्र हो, अन्यत्र पाइँदैन।’

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का सल्लाहकार शैलेन्द्र रावत पनि पछिल्लो समय सोलो उडानमा भिजिटर पाइलटको रुपमा विदेशी पाहुना आएको र उनै पाइलटले नै प्याराग्लाइडिङको नियम तोडेको बताउँछन्। ‘भिजिटरको रुपमा आएका ती विदेशी पाइलटलाई उडान अनुमति दिँदा नै प्राधिकरणले कडाई गरेर उड्न पाउने र नपाउने ठाउँ तोकिदिनुपर्छ,’ रावतले भने, ‘नत्र दुर्घटना हुन सक्छ। अनुमति दिँदा नै ती पाइलटलाई सचेत गराउनुपर्छ।’  

सोलो विदेशी विदेशी पाइलटले समस्या थपेको उनले बताए। ‘प्राधिकरणले नै केही शुल्क लिएर उड्न अनुमति दिन्छ। तर, ती पाइलटलाई कहाँ उड्न हुने र कहाँ नहुने भनेर जानकारी दिइन्न,’ उनले भने, ‘प्राधिकरणले यसलाई कडाई गर्नुपर्छ। यो बारम्बार दोहोरिने समस्या भएकोले सचेत हुन जरुरी छ।’ टेण्डम र सोलोको उडान एकै ठाउँमा हुँदा समस्या थपिएकोले अब सोलोको विकल्प खोज्ने बेला भएको उनले बताए । ‘छरपष्ट उडान गर्न दिँदा समस्या पर्न सक्छ। राज्यले सोलो उडानलाई व्यवस्थापन गर्नुपर्छ। नेपाली पाइलटले नभई विदेशी पाइलटले जथाभावि उडेका छन,’ रावतले भने, ‘प्राधिकरणले यो बारेमा बढी सचेत हुनुपर्छ।’

प्रकाशित: १२ चैत्र २०७८ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App