१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बोतलमा पेट्रोलियम पदार्थको बिक्री रोक्न व्यवसायीलाई चेतावनी

संयुक्त बजार अनुगमन टोलीले ताप्लेजुङको फुङ्लिङका व्यवसायीहरुलाई बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न सचेत गराएको छ। आगलागीको जोखिम बढ्दै गएको र खुल्ला रुपमा पेट्रोलिय पदार्थको बिक्रीवितरणले थप जोखिम सृजना गर्ने भन्दै उसले बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण नगर्न सचेत गराएको हो।

‘साँघुरो बजार क्षेत्रमा आगलागीको जोखिम बढी छ,’ सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले भने, ‘यसरी प्रज्वलनशिल वस्तु खुल्ला रुपमा बोतलमा हालेर बिक्री गर्दा थप जोखिम बढ्न सक्छ।’ उनले उपभोक्ताको हितका लागि भने बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्नु बाञ्छनिय नहुने बताए।

यहाँका बजार पसलमा सबैभन्दा बढी बोतलमा भरेर पेट्रोल बिक्री गर्ने गरिएको छ। पेट्रोलियम पदार्थ बोतलमा भरेर बेच्नु कानुनी हिसाबले पनि गलत रहेको उनले बताए। आफूहरुले अनुगमनको क्रममा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने गरेको फेला पारेकोले जोखिम कम गर्न र उपभोक्ता हित विपरित नजान यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको सहायक प्रजिअ भट्टराईले बताए।

बोतलमा भरिएको पेट्रोलियम पदार्थको परिमाण मापनको स्पष्ट आधार समेत नहुने भएकोले यस्ता कार्य नगर्न प्रशासनले व्यवसायीलाई सचेत बनाएको जनाएको छ। आफूहरुले बोतलमा हालेर पेट्रोलियम पदार्थको बिक्रीवितरण नगर्न सचेत गराएको र यस्तो कार्य बन्द गर्न निश्चित समय दिएकोले अर्को अनुगमनको क्रममा फेरी यस्तो पाइए तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रजिअ भट्टराईले जानकारी दिए।

प्रकाशित: २ चैत्र २०७८ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App